नेपालको चुनौती टेस्ट मान्यता टोली



काठमाडौं । नेपाली सिनियर क्रिकेट टोलीले आईसीसी क्रिकेट विश्वकप २०२३ अन्तर्गत ग्लोबल छनोट खेल्ने अवसर प्राप्त गरेको छ । नेपाली क्रिकेटमा यो ठूलै उपलब्धि मान्न सकिन्छ । किनभने नेपाली क्रिकेट टोलीले खेल्न शुरु गरेको पनि झण्डै ३ दशक नाघिसकेको छ । यस हिसाबमा नेपाली क्रिकेट टोलीले एकदिवसीयको विश्वकप छनोट खेल्न बल्ल पाइरहेको छ । यसअघि नेपाली टोलीले टी २० फरम्याटको विश्वकपमा भने खेलिसकेको छ ।

नेपाली क्रिकेट टोलीको यो उपलब्धिलाई संयोग मान्न पनि सकिँदैन । नेपाली टोलीमा अधिकांश खेलाडी युवा छन् । अन्तर्राष्ट्रिय क्रिकेटमा कमै खेल्ने अवसर मिलेको छ । यसमध्ये हेर्ने हो भने सन्दीप लामिछाने एक्लो खेलाडी छन्, जसले विश्वका विभिन्न लिगमा खेल्न पाएका छन् । साथै सन्दीपले विश्वका चर्चित र उत्कृृष्ट खेलाडीसँग पनि खेल्न पाएका छन् । उनीसहितको नेपाली टोलीले अहिले विश्वकप छनोट खेल्दैछ । यसको बावजुद नेपाली टोलीको चुनौती भने सकेको छैन । अझै विश्वका उत्कृष्ट टोलीहरुसँग खेल्न बाँकी नै छ ।

नेपाली टोलीका कप्तान रोहित कुमार पौडेल रहेका छन् । यसअघि सन्दीप नै टोलीका कप्तान थिए, तर उनलाई बलात्कारको आरोप लागेपछि उनको कप्तानी खोसिएको थियो । कप्तान खोसिए पनि उनले हालका खेलहरुमा टोलीका लागि उत्कृष्ट बलिङ प्रदर्शन भने गरेका थिए । यस्तै करण केसी, सोमपाल कामी, दिपेन्द्रसिं ऐरीले पनि बलिङमा परिपक्वता देखाइरहेका छन् । यो नेपालको लागि सकारात्मक पक्ष हो ।

नेपालको उत्कृष्ट ब्याटिङ

अगाडिको २४ खेलसम्म नेपालको ब्याटिङ नै कमजोर भइरहेको थियो । तर पछिल्ला १२ खेलहरुमा भने नेपालको ब्याटिङ शसक्त देखिएको छ । पछिल्ला खेलहरुमा घरेलु मैदान र विदेशी मैदानमा नेपाली ब्याटरले उत्कृष्ट ब्याटिङ प्रस्तुत गरे । यहि कारण नेपालले पछिल्ला १२ खेलमध्ये ११ खेलमा जित हात पारेको थियो भने दुई सिरिजमा क्लिन स्विप समेत गरेको थियो । ब्याटिङमा हेर्ने हो भने टोली कप्तान रोहित स्वयमले पनि लिग टू विजेता टोली स्कटल्यान्डविरुद्ध शानदार ९५ रन बनाए । यस्तै आशिफ शेखले पपुवा न्युगिनीविरुद्ध १ सय १० रनको आकर्षक शतकीय इनिङ खेलेका थिए ।

यसैगरी कुशल भुर्तेलले नामिबियाविरुद्ध १ सय १५ रन बनाए । उनीहरु नेपाली टोलीमा खम्बाको रुपमा उभिएका छन् । मध्यक्रममा भीम सार्कीको परिपक्वता पनि पछिल्लो खेल यूएईविरुद्ध देखियो । नयाँ भनिएका खेलाडी गुलशन झाले त यूएईविरुद्ध आफुलाई नायक नै साबित गरेका थिए । आरिफ शेखले पनि दवावमा अर्धशतकीय इनिङ खेलेका थिए । यसले के देखाउँछ भने एक नचलेमा अर्को चल्ने सकारात्मक पक्ष टोलीमा देखा परेको छ । यसले आगामी प्रतियोगितामा पनि क्रमता लिएमा नेपाली टोलीले विश्वकप खेलेर इतिहास रच्ला भन्ने अपेक्षा लिन सकिन्छ ।

ग्लोबल छनोटमा हुने टोली

जिम्बावेमा आगामी जून र जुलाईमा क्रिकेट विश्वकप २०२३ अन्तर्गत ग्लोबल छनोट प्रतियोगिता हुँदैछ । यसमा १० टोलीले प्रतिस्पर्धा गर्नेछन् । हालसम्म यो प्रतियोगितामा खेल्ने ५ टोलीको भने टुंगो लागिसकेको छ । नेदरल्यान्डस, जिम्बावेसँगै क्रिकेट विश्वकप लिग टू मा शीर्ष तीन स्थान प्राप्त स्कटल्यान्ड, ओमान र नेपाल यो प्रतियोगितामा खेल्ने तय भइसकेका छन् ।

लिग टू कै पुछारका चार टोली नामिबिया, अमेरिका, यूएई र पपुवा न्युगिनी, लिग ए को विजेता क्यानडा तथा लिग बी को विजेता जर्सी गरी ६ टोलीले ग्लोबल छनोटमा पुग्न प्रतिस्पर्धा गर्नेछन् । यसमध्ये दुई टोली यस प्रतियोगिताका लागि छनोट हुनेछन् । नामिबिया त्यो अभागि टोली हो, जो अन्तिम खेलको नतिजाले चौथो स्थानमा चिप्लिएको थियो । यो छनोटको प्लेअफ प्रतियोगिता नामिबियामा यही मार्चदेखि नै शुरु हुनेछ ।

टेस्ट मान्यता टोली बाधक

ग्लोबल छनोटमा आईसीसीसँग एसोसिएट भएका ५ टोलीका साथै शसक्त ५ टोली पनि यसमा समावेश हुनेछन् । नेदरल्यान्डस् र जिम्बावे त पहिल्यै प्रवेश पाइसकेका छन् भने अब तीन टोलीको टुंगो लाग्न बाँकी छ । यी तीन टोलीमा अन्तर्राष्ट्रिय क्रिकेटमा टेस्ट मान्यता प्राप्त भएकाहरु टोली पर्नेछन् । यी टोली नै नेपालको लागि बाधक बन्न सक्ने संभावना छ । नेपालको हालको प्रदर्शन हेर्ने हो भने एसोसिएट टोली खासै कडा प्रतिद्वन्द्वी रहेको देखिँदैन ।

विश्वकपमा पुगेका ७ टोली

आगामी अक्टोबरमा भारतमा हुने क्रिकेट विश्वकप २०२३ का लागि सात टोली छनोट भइसकेको छ । जसमा इंग्ल्यान्ड, भारत, अस्टे«लिया, न्युजिल्यान्ड, अफगानिस्तान, पाकिस्तान र बंगलादेश रहेका छन् । सुपर लिगमा १३ टोलीले प्रतिस्पर्धा गरेकोमा अहिलेसम्म यी सात टोली छनोट भएका हुन् । यस सुपर लिगबाट अब एक टोली छनोट हुन बाँकी छ ।

आठौदेखि १३ औं स्थानसम्म रहेका टोलीको अंक यस प्रकारको रहेको छ —वेस्ट इन्डिज (८८ अंक), दक्षिण अफ्रिका (७८ अंक), श्रीलंका (७७ अंक), आयरल्यान्ड (६८ अंक) । यी चार टोलीमध्ये एक टोली विश्वकपमा सिधै पुग्नेछ भने असफल भएका तीन टोलीले ग्लोबल छनोट खेल्नेछ, जहाँ नेपाल पनि रहेको छ । तर, अन्तिम दुईमा रहेका जिम्बावे ४५ अंक र नेदरल्यान्डस् २५ अंकसहित ग्लोबल छनोटमा खेल्ने तय पहिल्यै भइसकेको थियो

प्रतिक्रिया दिनुहोस्