मुकेश र राजपुरा पहिलो



काठमाडौं । त्रिभुवन आर्मी क्लबका मुकेशबहादुर पाल र नेपाल पुलिस क्लबकी राजपुरा पछाईं तेश्रो मदन भण्डारी स्मृति ५ किमि रोड रेसमा शनिबार पहिलो भएका छन् ।

खुलातर्फ पुरुषमा मुकेश र महिलामा राजपुरा पहिलो भएका हुन् । रन क्लब नेपालद्वारा आयोजित दौडमा मुकेशले निर्धारित दूरी १५ मिनेट २२.९ सेकेन्डमा पूरा गरे । आर्मीकै सञ्जय श्रेष्ठ दोश्रो तथा गजेन्द्र राई तेश्रो भए । निर्धारित दूरी तय गर्न सञ्जयले १५ मिनेट २७.५ सेकेन्ड तथा गजेन्द्रले १५ मिनेट ३१.९ सेकेन्ड समय खर्चे ।

राजपुराले शीर्ष स्थान हात पार्ने क्रममा १८ मिनेट १६.२ सेकेन्ड समय निकालिन् । दोश्रो भएकी प्रहरीकै राममाया बुढाले १८ मिनेट १६.५१ सेकेन्डमा दौड सकाइन् । तेश्रो स्थानकी आर्मीकी पुरनलक्ष्मी न्यौपानेको टाइमिङ १८ मिनेट १७.०५ सेकेन्ड रह्यो । पुरुष÷महिलामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २५ हजार, १२ हजार र ८ हजार नगद पुरस्कार पाए ।

स्कुलतर्फ छात्रमा विकेश घिमिरे पहिलो तथा नवराज गुरुङ दोश्रो भए । सो स्पर्धाको छात्रामा सोनु घतानीले स्वर्ण, पुर्णिमा श्रेष्ठले रजत तथा जेशिका महर्जनले कांस्य जिते । छात्र÷छात्रामा पहिलो हुनेले १० हजार, दोश्रोले ५ हजार र तेश्रोले ३ हजार नगद पुरस्कार प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस्