भीम र दिपेन्द्रलाई दुई/दुई लाख दिइने



बैतडी । सुदूरपश्चिम प्रदेश सरकारले क्रिकेट खेलाडीलाई नगदसहित सम्मान गर्ने भएको छ । हालै काठमाडौंमा सम्पन्न आइसीसी क्रिकेट विश्वकप–२ एकदिवसीय प्रतियोगितामा विजयी हुदैं विश्वकप छनौट प्रतियोगितामा प्रवेश गराउन सफल सुदूरपश्चिम प्रदेशका खेलाडीलाई नगदसहित सम्मान गर्ने भएको हो ।

नेपाली टोलीमा रहेर महत्वपूर्ण योगदान दिएका प्रमुख खेलाडी दिपेन्द्रसिंह ऐरी र भिम सार्कीलाई जनही दुई/दुई लाख दिने सुदूरपश्चिम प्रदेश सरकारले घोषणा गरेको हो । यस्तै टिममा परेका खेलाडी सन्दिप जोरालाई १ लाख र अन्तिम १८ मा पर्न सफल कमलसिंह ऐरी र अर्जुन सावदलाई ५० हजार गरी ६ लाख दिने मुख्यमन्त्री कमल शाहको सचिवालयले जनाएको छ ।

नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दको विषेश पहलमा सुदूरपश्चिम प्रदेश सरकारले खेलाडीलाई प्रोत्साहन स्वरुप पुरस्कार दिने घोषणा गरेको हो । चन्दको सुदूरपश्चिम गृह प्रदेश पनि हो । प्रदेश सरकारले पुरस्कार दिने घोषणा गरेकोमा खुसी व्यक्त गर्दै यो प्रोत्साहनले अगामी दिनमा पनि क्रिकेट लागिरहन हौसला मिलेको खेलाडी भीम सार्कीले बताउनुभयो ।

सुदूरपश्चिम प्रदेश सरकारले खेलाडी नगदसहित सम्मानको घोषणा गर्ने कार्य निकै सह्रानिय रहेको क्रिकेट संघका अध्यक्ष चन्दले बताउनुभयो । पुरस्कारले खेलाडीलाई खेलप्रति लागिरहन हौसला मिल्ने चन्दले बताउनुभयो ।

लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय श्रृंखलाको अन्तिम खेलमा फागुन २ गते युएईलाई हराउँदै शीर्ष तीन अटाउँदै विश्वकप छनोट खेल्न योग्य भएको हो । विश्वकप छनोट आगामी जुन र जुलाईमा जिम्बाबेमा हुनेछ । जिम्बाबेमा हुने छनोट खेलमा नेपालले अब टेस्ट मान्यता राष्ट्रसहित अन्य देशसँग छनोट खेल खेल्नेछ ।

सुदूरपश्चिम प्रदेश सरकारले यसअघि यू–१९ नेपाली क्रिकेट टोलीलाई विश्वकपमा पुर्याउन सफल भएका आफ्ना प्रदेशका क्रिकेटरलाई जनही एकलाख पुरस्कार दिने घोषणा गरेको छ । हालै युएईमा सम्पन्न एसिया छनौटमा अपराजित रहदैं च्याम्पियन बनेको नेपाल सन २०२४ मा हुने आईसीसी यू–१९ विश्वकप क्रिकेटका लागि छनौंट भएको थियो ।

प्रतिक्रिया दिनुहोस्