धुलिखेलमा ६ महिनामा ३७ क्षयरोगी

डब्लुएचओको टोलीले गर्‍याे अवलोकन



काभ्रे ।

धुलिखेल नगरपालिकालाई स्वस्थ शहर अभियान अन्र्तगत क्षयरोग मुक्त नगर घोषणा गर्ने अभियानका साथ शुरु गरिएको कार्यक्रमबाट ६ महिनाको अवधीमा १ हजार २ सय ७९ ब्यक्तिमा गरिएको परिक्षणबाट ३७ जनामा क्षयरोग पत्ता लगाएको छ । धुलिखेल अस्पतालमा भने सोहि अवधीमा विभिन्न जिल्लाबाट उपचार गराउन आएका विरामीहरु मध्ये १ हजार ८ सय ८ जनाको परिक्षणमा १ सय १७ जनामा क्षयरोग देखा परेको छ ।

डब्लुएचओका हेडक्वाटर प्रतिनिधि डा.टौडिल इस्लामको नेतृत्वमा धुलिखेल नगरपालिका आएको प्रतिनिधि मण्डललाई धुलिखेल नगरपालिकालाई क्षयरोग मुक्त बनाउन भएका प्रयास र कृयाकलापका बारेमा जानकारी गराउँदै नगरपालिका स्वास्थ्य शाखा प्रमुख सन्दिप केसीले भन्नुभयो–‘क्षयरोग मुक्त बनाउने अभियानमा रहेका नेपालका २५ वटा स्थानीय तह मध्ये लक्ष्य भन्दा धेरै परिणाम प्राप्त गर्ने स्थानीय सरकार धुलिखेल हो ।’ नगरपालिका भित्रका सबै स्वास्थ्य संस्था, धुलिखेल अस्पताल र समुदायबाट यो अभियानलाई सहयोग प्राप्त भएको स्वास्थ्य शाखा प्रमुख सन्दिप केसीले बताउनु भयो ।

धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जुले धुलिखेल नगरपालिका भित्र रहेका ३८ हजार ८ सय २० जना ब्यक्तिहरुको तथ्याङ्क घर घरमा पुगी संकलन गरी उनिहरुको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएर स्वस्थ शहर अभियान कार्यक्रम नेपालमै नमुनाका रुपमा धुलिखेलले शुरु गरेको बताउनु भयो । कोभिड १९ को महामारी नियन्त्रण गर्ने अभियानमा होस् वा स्वास्थ्यसँग सम्वन्धित अन्य कार्यक्रममा नगरपालिकाले स्वास्थ्य नागरिकको पहिलो अधिकारका रुपमा लिदै योजना, कार्यक्रम र ब्यवस्थापन गरिरहेको नगर प्रमुख ब्याञ्जुले बताउनु भयो ।

‘स्वास्थ्य सेवाको पहुँच बाहिर रहेका नागरिकहरुलाई पहुँच भित्र ल्याउने र उनिहरुमा कस्तो खालको स्वास्थ्य सेवा आवश्यक छ त्यसको पहिचान गरी उपचार गराउने ब्यवस्था मिलाउने गरी स्वस्थ शहर कार्यक्रम शुरु गरिएको छ’–नगर प्रमुख ब्याञ्जुले भन्नुभयो–‘क्षयरोग मुक्त नगर घोषणाका लागि आवश्यक कार्यहरु अघि बढाउँदै विश्वमै शुन्य कार्वन उत्र्सजन गर्ने शहरका रुपमा धुलिखेललाई चिनाउने गरी कार्य प्रारम्भ भएको छ ।’

धुलिखेल भित्र ब्यक्तिका घरमा प्रयोग गरिने दाउराबाट संचालन हुने भान्सालाई विस्थापन गर्दै विजुलीबाट संचालन हुने चुल्हो वितरण गरिएको छ । अघिल्लो आर्थिक वर्षसम्म गरिवी, असाहय र दाउराबाट चुल्हो बाल्नु पर्ने अवस्थाका ७ सय घर परिवारलाई विजुलीबाट संचालन हुने चुल्हो वितरण गरिएको छ । ब्यक्तिलाई स्वस्थ राख्न स्वस्थ र गुणस्तरीय खानेपानी, सरसफाई, अर्गानिक खेति तथा विषादी न्यूनिकरण अभियानका साथै अन्य आधारभुत पुर्वाधार तथा पोषण, खोप, खुल्ला दिशामुक्त कार्यक्रमलाई प्रभावकारी रुपमा संचालन गरिरहेको प्रमुख ब्याञ्जुले बताउनु भयो ।

डब्लुएचओका हेडक्वाटर प्रतिनिधि डा.टौडिल इस्लामले विश्वमै क्षयरोग महामारीका रुपमा रहेकाले यसको नियन्त्रण तथा समयमै उपचार गराउँदै ब्यक्तिलाई स्वस्थ बनाउने अभियानमा धुलिखेल नगरपालिकाले गरेको प्रयासको प्रशंसा गर्नु भएको थियो । धुलिखेल नगरपालिकाले शुरु गरेको स्वस्थ शहर कार्यक्रमका साथै क्षयरोग मुक्त नगर कार्यक्रमलाई डब्लुएचओका तर्फबाट आवश्यक सहयोग प्रदान गर्ने उहाँले बताउनु भयो ।

उहाँको टिममा डब्लुएचओका राष्ट्रिय प्रतिनिधि डा. विनित भाटिया, डब्लुएचओका कोअर्डिनेटर डा. खिन पा पा नाईङ्ग, राष्ट्रिय क्षयरोग केन्द्रका डा. शरदकुमार शर्मा, दिपक दाहाल, डब्लुएचओका प्रतिनिधि बर्षा थापा, डा.न्यान्सी लामा, डा.बन्दना पाण्डे, दिनेश रुपाखेती, आशा थापाको समुहले धुलिखेल नगरपालिकाले क्षयरोग रोगी पत्ता लगाउने तरिका र उपचारको विधी र प्रकृयाका बारेमा जानकारी लिदै धुलिखेलका विभिन्न स्वास्थ्य संस्थाहरुको अवलोकन गरेको थियो । सोहि अवसरमा उक्त अभियानमा देखिएको समस्या र समाधानका लागि विभिन्न निकायले गर्नु पर्ने समन्वय र सहजिकरणका लागि प्रतिवद्धता ब्यक्त गरेको थियो ।

कार्यक्रममा धुलिखेल नगरपालिका उपप्रमुख निराजन जंगम, प्रमुख प्रशासकिय प्रमुख सुरेन्द्र थापा मगर, स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. पुरुषोतम सेढाई, वडा अध्यक्षहरु, स्वास्थ्य शाखा प्रमुख सन्दिप केसी, शाखा अधिकृत सरोज थापा, स्वास्थ्यकर्मीहरु, धुलिखेल अस्पताल प्रतिनिधि, क्षेत्रिय होटल संघ प्रतिनिधि तथा धुलिखेल नगरपालिकाका विभिन्न शाखाका प्रमुखहरुको सहभागिता रहेको थियो ।धुलिखेल नगरपालिकाले शुरु गरेको स्वस्थ शहर अभियानको क्षयरोग मुक्त नगर कार्यक्रमबाट नियमित भन्दा दोब्बरको संख्यामा क्षयरोगका विरामीहरु पत्ता लागेका छन् ।

यो कार्यक्रम लागु हुनु अघि ६ महिनाको अवधीमा धुलिखेलमा १८ जनामा क्षयरोग देखा परेको थियो भने अहिले ३७ जनामा देखा परेको छ । घर घर गएर परिक्षण तथा समुदाय स्तरको जनचेतनामुलक कार्यक्रमका कारण क्षयरोगीहरु पत्ता लागेका हुन् ।

समयमै पहिचान र परिक्षण हुँदा उपचार हुने र अन्यत्र फैलन नपाउँदा क्षयरोगीहरुको संख्या कम भई मृत्युको मुखमा पुग्ने अवस्था नआउने भएकाले विश्वबाटै यो रोगको उन्मुलन गर्ने अभियानमा डब्लुएचओको टोली नेपालका विभिन्न पालिकामा भएको अभियानको अवलोकनका लागि धुलिखेल आईपुगेको हो ।

प्रतिक्रिया दिनुहोस्