शंकर र योङगीलाई स्वर्ण



काठमाढौं । दरबार हाइ स्कुलका शंकर पहारी र अस्मिता स्कुलकी योङगी पौडेलले १२ औं पूर्णमान वज्राचार्य स्मृति राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिताको यु–१६ सिंगल्समा बिहीबार स्वर्ण जितेका छन् ।

शंकर ब्वाइज तथा योङगी गल्र्समा पहिलो भएका हुन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको ब्वाइज फाइनलमा शंकरले अस्मिताका आशिष महतालाई १२–१०, ५–११, ११–७ र ११–७ को सेटमा पराजित गरे । श्रीजना ज्ञान सागरका सन्तोष थापा र मोर्डन इन्डियन स्कुल (एमआईएस) का विशाल थापा तेश्रो भए । गल्र्सको उपाधि भिडन्तमा योङगीले न्यु सुम्निमाकी अंकिता वज्राचार्यलाई ११–५, ६–११, ११–६ र ११–५ को सेटमा हराइन् । एपेक्स लाइफकी विद्विसा मैनाली र श्रीजना ज्ञान सागरकी विपिन थापा तेश्रो बने ।

अखिल नेपाल टेबलटेनिस संघको तत्वावधानमा काठमाडौं जिल्ला टेबलटेनिस संघद्वारा आयोजित प्रतियोगिताको ब्वाइज टिम इभेन्टमा श्रीजना ज्ञान सागरले फाइनलमा ह्वाइटफिल्डलाई ३–० को सोझो सेटमा पाखा लगाउदै पहिलो स्थान कब्जा ग¥यो । त्रियोग र एपेकस लाइफ तेश्रो स्थानमा रहे । उक्त स्पर्धाको गल्र्समा प्रभात पहिलो भयो । प्रभातले फाइनलमा श्रीजना ज्ञान सागरलाई सीधा सेटमा ३–० ले पन्छायो ।

यु–१० गल्र्स सिंगल्समा प्राइम ग्लोबलकी प्राज्ना महर्जनले स्वर्ण चुमिन् । प्राज्नाले फाइनलमा प्रभातकी उरवी सुवामाथि ३–२ को जित रचिन् । त्यसै स्पर्धाको ब्वाइज फाइनलमा इडेन गार्डेनका रिजन शाक्यले श्रीजना सागरका प्रसिद्ध श्रेष्ठलाई ३–० ले निराश पारे ।

यु–१२ गल्र्स सिंगल्समा सेन्ट मेरिजकी सुरण्या शाक्या विजेता बनिन् । सुरण्याले फाइनलमा प्रभातकी सफिना कोजुलाई ३–० ले पराजित गरिन् । सोही स्पर्धाको ब्वाइज फाइनलमा एभरेष्टका आर्यन शाहीले बसाराका वचन विष्टलाई ३–० ले हराउदै शीर्ष स्थान हात पारे ।

यु–१४ सिंगल्सको गल्र्समा युलेन्सकी शुभश्री श्रेष्ठ र ब्वाइजमा वृहस्पति विद्या सदनका सार्थक मानन्धर च्याम्पियन बने । शुभश्रीले ग्लोरियाकी महिमा महतालाई ३–० तथा सार्थकले आदर्श विद्या मन्दिर (एभीएम) का जयेश्नु महर्जनलाई ३–१ ले फाइनलमा हराए ।

‘सबैका लागि टेबलटेनिस’ भन्ने नारा दिइएको प्रतियोगितामा पुरुष÷महिला सिंगल्स खुला, स्कुल, कलेज, भेट्रान, बहिरा, शारीरिक अपाङ्ग भएका, दृष्टिविहीन र खेल पत्रकारमा गरी जम्मा ३४ स्पर्धामा प्रतिस्पर्धा भइरहेको आयोजकका अध्यक्ष धर्ममान वज्राचार्यले जनाएका छन् ।

करिब ३ सय खेलाडी सहभागी छन् । पुरुष÷महिला सिंगल्समा पहिलो हुनेले ५० हजार, दोश्रोले २५ हजार र तेश्रोले १०÷१० हजार नगद पुरस्कार पाउने छन् । अन्य स्पर्धामा नगद पुरस्कार राखिएको छैन । प्रतियोगिता फागुन २९ गतेसम्म चल्ने छ ।

प्रतिक्रिया दिनुहोस्