आसिफको शतकमा नेपालको शानदार जित



काठमाडौं । आसिफ शेखको शतकमा नेपालले आईसीसी विश्वकपलिग २ त्रिकोणात्मक ओडीआई सिरिजमा पपुवा न्युगिनीविरुद्ध शानदार जित हात पारेको छ ।

त्रिवि मैदानमा बिहीबार भएको खेलमा नेपालले पाहुना टोली पपुवा न्युगिनीलाई ५२ रनले हराएको हो । जितको लागि २ सय ९८ रनको ठूलो लक्ष्य तेर्सिएकोमा पपुवा न्युगिनीको टोली २ सय ५४ रनमा अल आउट भयो । पिएनजीका नर्मन भानुवाले सर्वाधिक ६० रनको योगदान दिए । बलिङमा नेपालको तर्फ स्पिनर सन्दीप लामिछानेले १० ओभरमा १ मेडनसहित ३७ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले ९.१ ओभरमा ३७ रन खर्चेर २ विकेट लिए । कुशल मल्लले १० ओभरमा ६० रन खर्चेर १ विकेट लिए

यसअघि नेपाल ४९.१ ओभरमा २ सय ९७ रनमा अल आउट भएको थियो । नेपालले यो आफ्नो ओडिआई इतिहासमा बनाएको सर्वाधिक उच्च स्कोर थियो । नेपालको ओडिआईमा उच्च योगफल यसअघि २ सय ८७ रन थियो । नामिबियाविरुद्ध दुई साताअघि नेपालले २ सय ८६ रनको विजयी लक्ष्य पछ्याउनेक्रममा २ सय ८७ रन बनाएको थियो । नेपालले ओडिआईमा यसअघि पहिला ब्याटिङ गर्दा त्रिवि मैदानमै गतवर्ष पपुवा न्युगिनीविरुद्ध दोस्रो ओडिआई खेलमा २ सय ७८ रन बनाएको थियो ।

नेपालको जितमा ओपनर आसिफले १ सय १० बलमा १२ चौका र २ छक्कासहित १ सय १० रनको सानदार शतकीय इनिङ खेलेका थिए ।आसिफको यो अन्तर्राष्ट्रिय क्रिकेट करिअरको पहिलो शतक थियो । आसिफले १ सय १ बलमा १० चौका र २ छक्कासहित शतक पूरा गरेका थिए ।

पारस खड्का, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलपछि ओडिआईमा शतक हान्नेमा आसिफ नेपालका पाँचौं क्रिकेटर हुन् । आसिफ ३८ औं ओभरको चौथो बलमा सेमो कमियाको बलमा आउट भए । यस्तै अर्का ओपनर कुशल भुर्तेल ४५ रनमा क्याच आउट भए । पहिलो विकेटका लागि आसिफ शेख र कुशल भुर्तेलले १८.४ ओभरमा १ सय १० रनको शतकीय साझेदारीका साथ सानदार सुरुवात दिलाएका थिए । ज्ञानेन्द्र मल्ल पनि हेकुरेको बलमा असद भालाबाट ११ रनमा क्याच आउट भए ।

चौथो विकेटका लागि रोहित पौडेल र आसिफले ६७ रनको साझेदारी गरेका थिए । रोहित ३० रनमा क्याच आउट भए । दीपेन्द्रसिंह ऐरी ७ रनमा रन आउट भए । सन्दीप ७ रनमा आउट भए । आरिफ शेख १५ रनमा आउट भए । भीम सार्की ४४ रनमा आउट भए । पपुवा न्युगिनीका तीव्र गतिका बलर सेमोले ९.१ ओभरमा ३८ रन खर्चेर ५ विकेट लिए भने राइली हेकुरेले १० ओभरमा ५० रन खर्चेर ३ विकेट लिए ।

नेपालले अव आइतबार युएई, सोमपाल पपुवा न्युगिनी र बिहीबार युएईसँग खेल्नेछ । नेपाल शीर्ष तीनमा रहँदै आगामी जुन जुलाईमा जिम्बावेमा हुने एकदिवसीय विश्वकप छनोट खेल्न बाँकी तीनै खेल जित्नुपर्ने हुन्छ । एक खेल हारेको खण्डमा नेपालले क्वालिफायर प्लेअफ खेल्नुपर्ने हुन्छ । ओडिआई मान्यता सोझै जोगाउन नेपालले अव तीन मध्य एक खेल जित्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्