नेपाल क्यान्सर सहयोग समूहद्वारा १५ नर्स सम्मानित 



काठमाडौँ। 

क्यान्सरका बिरामीहरूको उपचार सेवामा पुर्‍याएको योगदानको कदर गर्दै नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर हरिसिद्धिमा कार्यरत १५ जना नर्सलाई नारी दिवसको अवसरमा बुधवार सम्मान गरेको छ ।

११३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा उनीहरुलाई सम्मान गरिएको हो । क्यान्सरको उपचार पछि निको भई पुनर्जीवन पाएका क्यान्सर सर्भाइभरहरुको ४० औँ भेलामा नेपाल क्यान्सर सहयोग समूहले उपचारको लागि सहयोगी हातको सहयोगमा नर्सहरुलाई सम्मान गरेको हो ।

नेपाल क्यान्सर सहयोग समूहकी संयोजक एवम् नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरकी निर्देशक स्वरुपा श्रेष्ठ, समूहका उपाध्यक्ष शशाङ्क शर्मा र महासचिव गणेशभक्त श्रेष्ठ लगायतले नर्सहरुलाई दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।

सम्मानित नर्सहरू लहरमाया भासिंका, अनुजा शर्मा, रेजिना कटट्ेल, प्रविना खड्का, उषा पौडेल, मन्दिर बानियाँ, रोजिना महर्जन, प्रजना महर्जन, पूजा ढुंगाना, ऋचा श्रेष्ठ, अमिका श्रेष्ठ, सङ्गीता महर्जन, विजयलक्ष्मी तण्डुकार र निर्जना अधिकारी छन् ।

सोही अवसरमा नेपाल क्यान्सर सहयोग समूहकी संयोजक एवम् नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरकी निर्देशक स्वरुपा श्रेष्ठलाई क्यान्सर निको भएकाहरुले नेवारी संस्कृति झल्कने महँगा उपहार दिएर सम्मान गरेका थिए भने सम्मानित नर्सहरू र क्यान्सर निको भएकाहरुको सम्मानमा केक काटेर एक आपसमा रमाइलो गरिएको थियो ।

नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरमा क्यान्सर उपचारको लागि आएका सबै बिरामीहरूलाई नेपाल क्यान्सर सहयोग समूह आवश्यक परामर्श र आर्थिक अवस्था नाजुक भएका बिरामीको उपचारको लागि सहयोगी हातहरुले आर्थिक सहयोग समेत गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्