विलियमले मैदानको मध्यभागबाटै गरे गोल



काठमाडौं । सातदोबाटो युथ क्लबले जारी शहिद स्मारक ए डिभिजन लिगमा लगातार दोस्रो जित हात पारेको छ ।

विदेशी खेलाडी विलियम ओपोकु असिएदुको निर्णायक गोलमा सातदोबाटोले बुधबार नेपाल एपीएफ क्लबलाई १–० ले हराएको हो । योसँगै ललितपुरको टोलीले दुई खेलबाट ६ अंक जोडेको छ । एपीएफको भने यो दोस्रो खेलमा पहिलो हार थियो । सातदोबाटोले पहिलो खेलमा एनआरटीलाई पराजित गरेको थियो भने एपीएफले पहिलो खेलमा थ्रीस्टारलाई हराएको थियो ।

च्यासल मैदानमा भएको खेलमा सातदोबाटोका विलियमले ५५औं मिनेटमा शानदार गोल गरे । मैदानको मध्यभागमा प्राप्त बलमा विलियमले सिधै विपक्षीको गोलपोष्टमा प्रहार गरेका थिए । उनको लङ रेन्ज सटले पोष्ट भित्र पुग्दा एपीएफका जापानी गोलकिपर युया कुरियामाले बचाउन सकेनन् ।

यस्तै अमृत श्रेष्ठले इन्ज्युरी समयमा गोल गर्दै हिमालयन शेर्पालाई जारी लिगमा पहिलो जित आत्मसात गराएका छन् । दशरथ रंगशालामा बुधबार भएको खेलमा हिमालयन शेर्पाले नेपाल पुलिस क्लबलाई १–० ले हराएको हो । खेल बराबरीमा सकिनतिर अग्रसर भइरहँदा अमृतले निर्णायक गोल गर्न सफल भए । कर्नर प्रहारको बललाई राम्ररी क्लियर गर्न नसकेपछि यसको लाभ अमृतले गोल गरेर लिए । योसँगै हिमालयन शेर्पाले तीन अंक जोड्न सफल भयो भने पुलिसले लगातार दोस्रो हार बेहोरेको छ ।

यसअघि पहिलो हाफमा हिमालयन शेर्पालाई पेनाल्टीको अवसर प्राप्त भएको थियो । ३१ औं मिनेटमा अजित भण्डारीले विदेशी फरवार्ड अबयोमी ओलुवासेन फाकुन्लेमाथि फाउल गरेका थिए । खेल संचालनमा रहेका रेफ्रीले पेनाल्टी प्रहार गर्न दिएपछि पुलिसका खेलाडी र बेन्चमा भएका खेलाडी तथा पदाधिकारीले आक्रोस पोखेका थिए ।

तर पेनाल्टी प्रहार गोलमा परिणत नभएपछि पुलिसको टोली खुशी भएको थियो । हिमालयन शेर्पाका लागि निशान लिम्बुले पेनाल्टी प्रहार गरेका थिए । उनको फितलो प्रहारलाई पुलिसका गोलरक्षक शत्रुघन चौधरीले सहजै बचाए । बल रिबाउन्ड भयो तर, अमृतले प्रहार गरेको पोस्टबाट बाहिरिएको थियो ।

यसको १० मिनेटपछि पुलिसले अग्रता लिने मौका गुमाएको थियो । रवि पासवानले पेनाल्टी क्षेत्रभित्र लगातार दुई पटक प्रहार गरेपनि गोल गर्न सकेनन् । उनको प्रहारलाई शेर्पाका डिफेन्डरले छेकेर उनलाई गोल गर्न दिएनन् ।

पुलिस यस नतिजासँगै २ खेलमा कुनै अंक जोड्न सकेको छैन । टोली पहिलो खेलमा चर्च ब्वाइजसँग २–१ ले पराजित भएको थियो । शेर्पाले भने २ खेलमा ४ अंक जोडेको छ । यसअघि शेर्पाले मनाङ मस्र्याङदीसँग १–१ बराबरी खेलेको थियो ।

प्रतिक्रिया दिनुहोस्