एसियाली क्रस कन्ट्रीमा नेपाललाई २ स्वर्ण



काठमाडौं । नेपाल एथलेटिक्स संघको आयोजनामा गोकर्ण गल्फ रिसोर्टमा भएको प्रतियोगितामा मंगलबार नेपालले पुरुष सिनियरको व्यक्तिगत र टिम दुवैमा स्वर्ण पदक जितेको छ । त्यस्तै, सिनियर महिला र जुनियर महिलामा नेपालले समान २ रजत पदक जितेको छ । नेपालले थप २ कांस्य पनि जित्यो ।

सिनियर पुरुष १० किलोमिटर दौडमा दीपक अधिकारीले स्वर्ण पदक जितेका हुन् । सो इभेन्टमा मुकेशबहादुर पालले कास्य पदक जिते । जापानका डाइची कामिनोले ३३ मिनेट ५२.०६ मा दौड पूरा गरेर रजत पदक पाए । २६ जनाले भाग लिएको प्रतिस्पर्धामा नेपालका मुकेशबहादुर पाल ३४ मिनेट ३३.३९ सेकेन्डमा दौड पूरा गर्दै कास्यपदक जिते । सिनियर पुरुष टिम इभेन्टमा पनि नेपालले स्वर्ण पदक जितेको छ । दीपक, मुकेश र दीपक सुहानले १ घन्टा ४३ मिनेट १९ सेकेन्डमा दौड पूरा गरेर स्वर्ण पदक जिते । इरानले रजत र भारतले कास्य पदक जितेको छ ।

महिला सिनियरमा दुई रजत :

एसियन क्रस कन्ट्री च्याम्पियनसिपमा नेपालले सिनियर महिलामा पनि २ रजत पदक जितेको छ । सिनियर महिला १० किमी दौडमा नेपालका लागि राजपुरा पछाईले रजत पदक जितेकी छिन् । त्यसको टिम इभेन्टमा पनि नेपालले रजत पदक जितेको हो । राजपुराले निर्धारित दूरी ४१ मिनेट ३१ सेकेन्डमा पार गर्दै रजत पदक जितेकी हुन् ।

सो स्पर्धामा जापानकी युवा सरुमिदाले निर्धारित दूरी ३८ मिनेट ३३ सेकेण्डमा पार गर्दै स्वर्ण पदक जितिन् । भारतकी सोनीकाले कास्य पदक जितिन् । सोनीकाले निर्धारित दूरी ४१ मिनेट ३१ सेकेन्डमा पार गरिन् । सोही स्पर्धाको टिम इभेन्टमा नेपालले रजत पदक जितेको हो । रापुरा पछाई, पुष्पा भण्डारी र वृन्द्रा धनाके श्रेष्ठले १० किमी दौडको दुरी २ घण्टा ७ मिनेट ५७ सेकेन्डमा पार गर्दै रजत पदक जितेका हुन् ।

सो स्पर्धामा भारतते स्वर्ण पदक जितेको छ । भारतका सोनिका, छवि यादव र मुन्नी देवीले निर्धारित दूरी २ घण्टा ४ मिनेट र ३८ सेकेन्डमा पार गर्दै स्वर्ण पदक जितेको हो । थाइल्यान्डका लिन्दा जन्थाचित, नथाया थनारोनावत र सुनिका प्रिचापोंंगले २ घण्टा १३ मिनेट र १६ सेकेण्डमा दूरी पार गर्दै कास्य पदक जितेका छन्।

जुनियर पुरुष टिममा नेपाललाई कास्य :

एसियन क्रस कन्ट्री च्याम्पियनसिपको जुनियर पुरुष (यू–२०) ८ किलोमिटर दौडमा नेपाली टोलीले कास्य पदक जितेको छ।

गोकर्ण गल्फ रिसोर्टमा मंगलबार भएको च्याम्पियनसिपमा नेपालले कास्य पदक पाएको हो । च्याम्पियनसिपमा भारतले स्वर्ण र इरानले रजत पदक जितेको छ ।

नेपालका शेरबहादुर अधिकारी, सञ्जय दमाईं र विकेश घिमिरेले १ घन्टा ३१ मिनेट ५० सेकेन्डमा दौड पूरा गर्दै कास्य पदक पक्का गरे । भारतले १ घन्टा २५ मिनेट ४० सेकेन्ड मा दूरी पार गर्दै स्वर्ण पदक र इरानले १ घन्टा २६ मिनेट ५६ सेकेन्डमा दौड पार गर्दै रजत पदक जिते ।

आठ किलोमिटरको जुनियर पुरुषको व्यक्तिगत स्पर्धामा इरानले स्वर्ण, भारतले रजत र इरानले नै कास्य पदक जिते । इरानका समिर इन्जाबिलघायजीले २७ मिनेट ३८ सेकेन्डमा दूरी पूरा गर्दै स्वर्णपदक जिते । भारतका शिवजी परशुरामले २७ मिनेट ३९ सेकेन्डमा दूरी पार गर्दै रजत र इरान कै पौरिया यशाघिन्हदले २८ मिनेट ०२ सेकेन्डमा दूरी पूरा गर्दै कास्य पदक जिते।

महिला जुनियरमा दुई रजत 

नेपालकी राममाया बुढा फोटो फिनिसमा पछि पर्दै महिला जुनियर ६ किलोमिटर दौडमा रजत पदकमा चित्त बुझाउनुपरेको छ । राममाया र भारतकी श्रुती श्रीधर रेडाकर दुवैले २४ मिनेट १५ सेकेन्डमा दूरी तय गरेपछि फोटो फिनिसमा भारतकी श्रुतीले बाजी मार्दै स्वर्ण पदक प्राप्त गरिन् । ११ खेलाडीको सहभागिता रहेको प्रतिस्पर्धामा भारतकी बेबीले कास्य पदक प्राप्त गरिन् । बेबीले २४ मिनेट २१ सेकेन्डमा दौड पूरा गरेकी थिइन् । त्यस्तै, टिम इभेन्ट्समा पनि भारतले स्वर्ण पदक जित्यो । टिममा नेपालले रजत पदक जित्यो । भारतका तीन खेलाडी श्रुति, बेबी र प्रियंकाले १ घण्टा १४ मिनेट ०९ सेकन्डमा दूरी तय गर्दै टोलीलाई स्वर्ण पदक हात पारे ।

नेपालका राम माया बुढा, राज्य लक्ष्मी रावल र विमला कार्कीले १ घण्टा १८ मिनेट २२ सेकेन्डमा दूरी तय गरेर रजत पदक दिलाए । टिमतर्फ तीन खेलाडीले तय गरेको समय जोडेर विजेता चुनिएको हो । त्यसअघि प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतियोगिताको उद्घघाटन गरेका थिए ।

च्याम्पियनसिपमा सिनियर महिला र पुरुषतर्फ १० किलोमिटर, २० वर्ष मुनिका जुनियर महिलातर्फ ६ किलोमिटर र २० वर्ष मुनिका जुनियर पुरुषतर्फ ८ किलोमिटर गरि ४ विधामा व्यक्तिगत र टिम इभेन्ट्समा प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा ११ राष्ट्रका ६५ खेलाडीको सहभागिता रहेको थियो ।

विजेता खेलाडीलाई नेपाल एथलेटिक्स संघका अध्यक्ष राजीवविक्रम शाह, एसियन एथलेटिक्स एसोसीएसनका अध्यक्ष दालानलगायतले पुरस्कृत गरे ।

प्रतिक्रिया दिनुहोस्