राष्ट्रपति रनिङ शिल्ड शुरु



इलाम । १३औं संस्करणको जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मंगलबारदेखि पश्चिमि इलामको फाकफोकथुम गाउँपालिकामा शुरु भएको छ । फाकफोकथुम गाउँपालिका ३ आमचोकस्थित सिंहदेवी माध्यमिक विद्यालयको खेलमैदानमा शुरु भएको प्रतियोगिताको उद्घाटन जिल्ला समन्वय समिति इलामका प्रमुख जयप्रकाश राईले 
गर्नुभयो । सधैं इलाम सदरमुकाममा सञ्चालन हुँदै आएको प्रतियोगिता प्रदेश सरकार खेलकुद विकास बोर्ड अन्तरगत जिल्ला खेलकुद विकास समितिले पहिलो पटक सदरमुकाम बाहिर संचालन गरेको हो ।

यसअघि, राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत ११औं संस्करणको प्रतियोगिता भने सूर्योदय नगरपालिकाको करफोक माध्यमिक विद्यालयको खेलमैदानमा सञ्चालन भएको थियो । प्रतियोगितामा छात्र र छात्रातर्फ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन निर्देशिका बमोजिम चारवटा र जिल्ला खेलकुद विकास समितिको आफ्नै व्यवस्थापनमा एक गरी पाँच वटा विधाको खेल संचालन सुरु भएको छ । भलिबल, कबड्डी, एथलेटिक्स, मार्सल आर्ट सञ्चालन हुनेछन् ।

जिल्ला खेलकुद विकास समितिको आफ्नै व्यवस्थापनमा रग्वी खेल पनि सञ्चालन गर्दैछ । प्रतियोगिताका लागि १० वटै स्थानीय तहले पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गरी छनोट भएका खेलाडीहरू सहभागी भएका छन् । प्रतियोगितामा खेलाडी र व्यवस्थापन टिमका करिब एक हजार जनाको उपस्थिती भएको आयोजक जिल्ला खेलकुद विकास समितिका अध्यक्ष खगेन्द्र बाँस्तोलाले जानकारी दिनुभयो । प्रतियोगितामा सम्पूर्ण खेलको नतिजालाई एकीकृत गरी पालिकालाई विजेता तथा उपविजेता घोषणा गरिनेछ ।

प्रतियोगिताका विजेता तथा उपविजेता टिम र खेलाडीले पदक, नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको व्यवस्थापनको काम फाकफोकथुम गाउँपालिकाले गरेको छ । खेलाडी र व्यवस्थापक टिमलाई गाउँपालिकाले स्थानीय बस्तीहरुमा होमस्टेको अवधारणा अनुसार राख्न थालेको छ । त्यसका लागि एक सय घरलाई होमस्टेको रुपमा तयार गरेको छ । प्रतियोगिता उद्घाटनमा विभिन्न जातजातिको झाँकी प्रदर्शन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्