भक्तपुर अस्पतालमा सर्वसुलभ मूल्यमा गुणस्तरीय सेवा

बिरामीको चाप बढ्यो  



भक्तपुर ।

भक्तपुर अस्पतालमा न्युरो (नसा रोग) को उपचार सेवा सुरु भएको छ । प्रदेश स्तरीय सो अस्पतालमा बुधवारदेखि पहिलो पटक नसा रोगको उपचार सेवा बिस्तार गरिएको हो ।

अस्ततालकी मेडिकल सुपरिटेन्डेन्ट डा. सुमित्रा गौतमका अनुसार, पटन अस्पतालका नसा रोग विभागका प्रमुख एवं विशेषज्ञ चिकित्सक प्रकाश विष्टले भक्तपुर अस्पतालबाट सेवा दिन थाल्नु भएको हो । नसा रोगको उपचारसँगै न्युरो सर्जरी सेवा समेत सुरु भएको गौतमले जानकारी दिइन ।

अस्पताल विकास समितिका अध्यक्ष रमण कायस्थका अनुसार, पहिलो चरणमा प्रत्येक महिनाको पहिलो र तेश्रो बुधवार गरेर महिनामा दुई पटक नसा रोगको सेवा दिने र क्रमशः बिरामीको चाप लगायतका पूर्वाधारको निर्माण गर्दै सेवाको समय थप गर्दै लगिने छ ।

डेढ वर्ष अघिसम्म करिब चार सय बिरामी उपचारका लागि आउने अस्पतालमा हाल अस्पतालको सेवा बिस्तार र सेवामा गुणस्तर बढेसँगै उपचारका लागि आउने बिरामीको संख्या सात सय ५० जना नाघेको छ ।

पछिल्लो समय अस्पतालमा कार्डियो सेवा सञ्चालनमा रहेको छ भने १६ बेडको आइसियुमा सधैँ बिरामीको चाप छ । सर्वसुलभ मूल्यमा गुणस्तरीय सेवा दिन थालेपछि अस्पतालमा बिरामीको चाप बढ्दै गएको  मेडिकल सुपरिटेन्डेन्ट डा. गौतमको भनाई छ ।

पहिले अस्पताल आउने अधिकांश बिरामी राजधानीका ठुला अस्पतालमा रेफर गर्ने भक्तपुर अस्पतालमा अहिले दिनहुं ४० बढी बिरामी भर्ना भएर उपचार गराउँदै आएका छन् ।

पछिल्लो समय प्रसूति लगायतका ठुला सर्जरीहरु अस्पतालमै हुन थालेपछि भर्ना भएर उपचार गराउनेको संख्या बढेको अस्पताल विकास समितिका अध्यक्ष कायस्थले बताए । अस्पतालमा सञ्चालनमा रहेर पनि फेरी बन्द रहेको अल्जाइमर क्लिनिक पनि पुनः सुरु गरिएको छ ।

पछिल्लो समय व्यस्त जीवनशैलीका कारण ३० वर्ष माथिकालाई बिर्सिने समस्या बढ्दै गएको भन्दै त्यस्तो सेवा सञ्चालनमा ल्याइएको हो । सोही क्रममा अस्पतालले प्रमुख जिल्ला अधिकारी सहितका सबै कार्यालय प्रमुखलाई राखेर मानसिक अवस्था कसरी ठिक राख्ने र बिर्सने समस्याको समाधान सम्बन्धी एक अन्तरक्रिया कार्यक्रम समेत सम्पन्न गरेको छ ।

अस्पतालको पुरानो भवनमा रेक्ट्रो फिटिङको काम दु्रत गतिमा भइरहेको र सो सम्पन्न भएपछि अस्पतालका सेवा बिस्तारमा थप मदत पुग्ने अस्पतालले जनाएको छ । त्यसैगरी भक्तपुर अस्पतालले हालै मात्र अत्याधुनिक एम्बुलेन्स सेवा समेत सुरु गरेको छ । हाइकेयर एम्बुलेन्स बागमती प्रदेश सरकारले उपलब्ध गराएको हो ।

प्रतिक्रिया दिनुहोस्