बदलिएका गाउँका घटना-कथा



राममायाले मुठ्ठी उजाएर लाल सलाम गर्दै आगन्तुकसँग भनिन्, ‘धेरै कालपछि आइस्यो त मामाहजुर, घरमा सबैलाई आराम छ ? अनि बाहिरबाट कहिले आइसेको ? बसौँ !’ मटानमा राखेको सोफातिर देखाइन्् ।

‘भान्जा घरमा छैनन् कि क्या हो ? म पनि फोनै नगरी आएँ !’ सोफातिर हेर्दै खिमलालले भने, ‘भान्जा वडा अधक्छे भा रचन्, मलाई थाहै भएन । हाम्रा घरकाहरु फोनमा पनि यताउतिका कुरा भन्दैनन् । म खाडीतिर भास्सेको यो वैशाखमा ठ्याक्कै तेह्र वर्ष भएछ । गाउँमा त आनका तान । को के, को के ! काले साहु मेयर भएछ ! अहिले त ऊ पनि कम्निस्ट रे ! बम्बैवाला पर्धानकी छोरी उपमेयर भैछे ।’ हल्का हाँसो खोक्दै खिमलालले सोधे, ‘खै त कहाँ छन् भान्जा ?’

‘अधक्छेज्यू त आज गाउँ भर्मनमा गइस्या छ । बाटोका ठेकदारहरुलाई ठीक पार्नु छ, आज अफिसमा चियापान पनि छ, घर फर्कन ढिलै होला भनिसिन्थ्यो !’ राममायाले भनिन्, ‘बसौँ न मामाहजुर, चिसो–तातो के लिइसिन्छ ? म ल्याउँछु !’ ट्वाल्ल पर्दैका खिमलालले सम्हालिँदै भने, ‘हन, तिमरुको बोली त बेग्लै भएछ नि ! कि कसो ?’ मस्कानसहित मुस्कुराउँदै राममायाले भनिन्, ‘बेला–बेला पर्देशका ठूलठूला माननीए कामरेड पनि घरमा आइसिन्छ, उहाँहरुका सिरिमती मैला कमरेड आइसिन्छ । कामरेडहरुसित पाखे बोलेर भएन नि मामाहजुर, पहिले–पहिले त गाह्रै भो, अब त बानी प¥यो । अस्ति मेयरसापको जर्मन सेफरलाई एक्कासि यहाँ आँगनमा देखेँ । हतारमा मैले कुकुरलाई पनि ‘आज कताबाट यता आइस्येछ ?’ भनेँछु !’ राममायाले ताली बजाउँदै खित्का छोडिन् ।

अलि सम्हालिँदै राममायाले भनिन््, ‘यो गाउँको सबभन्दा पुरानो कम्निस्ट मामाहजुर, जनयुद्धको कमान्डर ! मामाहजुरको त शानै बेग्लै । भान्जाले कति कुरा गरिसिन्छ !’

‘आपूm त पैसाको गर्जोले बुझ्नु न सुझ्नुसित खाडीतिर भास्सिएँ । अहिलेसम्म न घरव्यवहार सुध्रियो, न बोली फेरियो । यहीँ बसेर राजनीति गर्नुपर्ने रच । ग¥या भे म पनि अधक्छे हुँदा हुँ । यिनको भन्दा त मेरै नाम थियो नि गाममा !’ मनमनै पछुताउँदै खिमलालले भने, ‘भान्जाले पैसा नि राम्रै कमा छन् क्यार, घर पनि चिटक्कको बनाएछन् !’

‘पैसाको दुःख छैन मामाहजुर, हजुरलाई किन झुटो बोल्नु ? भान्जाको कमाइ राम्रै छ !’ राममायाले भनिन्, ‘बसौं न, कोक–फन्टा के लिइसिन्छ ? बियर लिइसिन्छ भने पनि खास्साको बियर आइपुग्या छ ।’ खिमलाल मनमनै आत्तिए । त्यहाँ बस्ने–खाने आँटै आएन । ‘म भोलि बिहान आउँछु, अहिले गएँ !’ भन्दै फरक्क फर्केर बाटो लागे ।

‘अभिवादन काका, कहिले आइपुग्नुभो ?’ पछाडिबाट नन्दूको आवाज आयो । उभिएर हेर्दै खिमलालले भने, ‘म हिजो मात्र आइपुगेको बाबु, बिहानै भान्जाकोमा आएको थिएँ । भेटिन । अहिले अब घरतिरै फर्कन्छु भनेर तेर्सेको । बाबालाई सन्चै छ त ? तिम्रा बाबा र म १० वर्षले जेठोकान्छो । अहिले उहाँ छपन्न हुनु भो । म छयालीसमा हिँड्दै छु । जिन्दगीमा धेरै दुःख गरियो बाबु, के–के न होला भनेर खाडीतिर लागियो । सोचेजति कमाइ पनि भएन । ज्यान पनि रोगायो । अँ भन, तिम्रो हालखबर के छ ?’

पछि–पछि हिँड्दै नन्दूले भन्यो, ‘म पनि मलेसियाको भिसा कुर्दै छु काका, काकालाई त कण्ठै छ । अहिले म ३० वर्ष लागेँ । गाउँमा मेरो उमेरको पनि अब म मात्र बाँकी । अरु सबै उडिसके । जल्ले पनि भेटेपछि मलाई एउटै कुरा भन्छ, ए तँ अभैm यतै लरखरिइरा छस् ! भिसा लागेन ? म त दुनियाँसँग पनि वाक्क भइसकेँ काका, गएको ६ वर्षमा यस गाउँमा मात्र १४ वटा बाकस आइसक्यो खाडीबाट । यति हुँदा पनि मान्छे मलाई भेट्दा खुसी हुँदैनन् । यहीँको माटोमा पनि दुःख गरे केही त फल्छ नि बाबै, तँ विदेशतिर दगुरिनस्, राम्रो गरिस् भन्दैनन् । जानै नसकेर गएन भन्ठान्छन् । गाउँमा बूढाबूढी र केटाकेटीबाहेक कोही छैन । मर्दा–पर्दा अघि सर्न सक्ने कोही छैन । यति हुँदा पनि यिनै बूढाहरुमा समेत चेत आएन । ऊ हाम्री जमुनी फुपूका तीन छोरा खाडी छिरेका । तीनवटै छोरा बाकसमा फर्के । दुईवटा मलेसियाबाट र एउटा कतारबाट । फुपू इन्तूु न चिन्त्ु हुनुहुन्छ । यति देख्दा पनि गाउँलेमा चेत छैन । म पनि जान नसक्ने भएर नगएको होइन नि ! अब गएर देखाइदिन्छु । मेरो पनि भिसा लाग्यो ।’

‘तिमी पनि राजनीतिमा लाग्याभा हुन्थ्यो नि ! राजनीतिमा लागेर यहाँ कस्ता–कस्ता मान्छे के–के भइसकेछन् !’

‘यो देशमारा र जनतामारा पेसामा म लागिन काका, मेरो मनैले मानेन । एक त म यी डाँकाका सरदार नेता भनाउँदाहरुलाई देउता मानेर पूजा गर्न सक्दै सक्दिन । यी ज्यनमारा र देशमारालाई कसरी देउता मान्ने ? मैले त सकिन काका !’

नन्दूको पीडाका पर्राजस्तो बोली सुनेर खिमलाल ट्वाल्ल परे । झल्याँस्स हुँदै भने, ‘ए जमुनी दिदीका तीनै छोरा बिते ? एक्ली जमुनी दिदीले कसरी जिन्दगी धान्ने त अब !’

‘खै कसरी धान्ने ? तारालाल मामा पनि त कतारमै बित्नुभो । माइजू बेहालमा हुनुहुन्छ !’

‘तारा ? मेरो सालो ? मलाई त खबर गएन त ! घरमा पनि भनेन् त ! म हिजो बेलुकी नै आइपुगेको ।’

‘विदेशमा भएकालाई किन खबर गर्नु भनेर सल्लाहले नै खबर नगरेको । अहिले घर आइपुग्नेबित्तिकै किन दुःखको खबर सुनाऊँ भनेर काकीले नभन्नुभएको होला ।’

‘ल अब तिमी पनि अरु नसुनाऊ ! मलाई पुग्यो !! हन, यति हुँदा पनि यी सरकारमा गकाहरु गाउँका जवान केटाकेटीलाई गाउँमै काम निकालेर गाउँमै रोक्न कोशिश गर्दैनन् ? विदेश नजाऊ भन्दैनन् ? गाउँमा जता हे¥यो बारी बाँझो छ, खेत बाँझो छ । नयाँ–नयाँ किसिमले खेती गरे यसै माटोमा पनि सुन फल्दो हो । हीरा–मोती फल्दो हो । यस्तोमा कोशिश गर्दैनन् यी अधक्छे, मेयर, मानन्ये के–के भन्नेहरु ? कोशिशै गर्दैनन् ?’

‘गर्दैनन् काका, यिनीहरु त मेनपावरवालाहरुसँग कमिसन खान्छन् । कति त मेनपावरकै मालिक छन् । यिनीहरु हामी गाउँलेलाई विदेश जान उक्साउँछन् । तँ जान सकिनस् ? कठैबरा ! पैसाले गर्जो प¥याभे जग्गा लखबन्धक राखिदे, म रिन दिन्छु भन्दै उक्साउँछन् । लज्जित बनाउँछन् । यिनीहरुलाई गाउँ खालि भएकोमा चिन्तै छैन । रमाइलो छ । विरोध गर्ने कोही हुँदैन । चुनाउका बेला भोट दिन बूढाबूढीहरु छँदै छन् । वृद्धभत्ता बढाइदिन्छौँ भनेपछि चुनाउमा रातिदेखि लाम लाग्न पुग्छन् । काम गर्न विहारीहरु आइहाल्छन् । डोजरका डाइभर, कुल्ली सवै विहारी । खोलाका बगरभरि गिट्टीबालुवा थुपार्ने विहारी । घर बनाउने पनि विहारी, सडक बनाउने पनि विहारी । घर कुँडारको काम गर्ने पनि विहारी । अब त गाउँमा नुन–तेल, दाल–चामलको पसल थाप्ने पनि विहारी । खेतमा ठेक्कामा धान रोप्ने विहारी । विहारीलाई काम नलाउनेका खेतबारी बाँभैm । अब त घर–घरमा ग्यास सिलिन्डर पु¥याउने पनि विहारी । विहारीले भ्रष्टाचारको विरोध गर्दैनन् । थर्काउन पनि सकिन्छ । यी राजनीति गर्ने डाँकाहरुलाई त हामीजस्ता ठिटाहरु देश छोडेर गइदिए हाइसन्चो !’

‘हन, के भन्छौ हो तिमी ? यसरी हाम्रो देश नेपाल नेपाल रहन्छ त ? विहार बन्दैन ?’

‘खै काका, म पनि छक्कै प¥या छु । कसैलाई केही मतलव छैन । सम्झेर ल्याउँदा रगत उम्लन्छ । मोगलान भास्सिनै परेपछि सबैलाई फाँडेर भास्सिऊँँ कि जस्तो पनि लाग्छ । लौ त काका, तपाईंको घरको बाटो छुट्टियो । फेरि भेटेर कुरा गरौँला । अहिले म फुपूको घरतिर लागेँ ।’ नन्दू अगाडि बढ्यो । खिमलाल आफ्नो घरतिर लागे ।

खिमलाल आँगनको तगारोबाट छिर्दा म उनकै घरको फलैँचामा बसिरहेको थिएँ । ‘ओह्हो मास्साप, कहिले ?’ नमस्कार गर्दै खिमलाल फलैँचामा बसे ।

‘हजुरबालाई भेटौँ भनेर आएको थिएँ । तपाईं आउनुभएको छ भन्ने सुनेँ । भेटेर जाऊँ भनेर पसेको !’ नमस्कार फर्काउँदै मैले भनेँ ।

लामो सुस्केरापछि घरका दलिनतिर हेर्दै खिमलालले भर्र्खरैको उकुसमुकुस पोकोे फुकाए । मेरा अगाडि एक किसिमको जीवन्त रेडियो खुल्यो । म तन्मय बन्दै सुनिबसेँ ।

प्रतिक्रिया दिनुहोस्