उपेक्षामा परेको स्पोर्टस मेडिसिन

0
Shares

लक्ष्मण अधिकारी

अस्वस्थता, कुपोषण र डोपिङका केसले नेपाली खेलकुद क्षेत्रले बेलाबेला क्षति व्यहोर्नुपर्ने स्थिति आए पनि स्पोर्टस मेडिसिन नेपालको प्राथमिकतामा परेको छैन । प्रधानमन्त्री संरक्षक रहेको खेलकुद बोर्डमा एकजना पनि चिकित्सक छैनन्, जसले गर्दा स्वास्थ्यसम्बन्धी कारणले खेलकुदको प्रभावकारितामा आँच आउने गरेको छ ।

विश्वमा खेलकुदको विकाससँगै स्पोर्टस मेडिसिनको विकास पनि भइरहेको छ । स्पोर्टस मेडिसिनका चिकित्सकले घाइते खेलाडीको उपचार गरेर छिटो खेलमा फर्काउने मात्र नभई बिरामी खेलाडीहरुको उपचार गर्ने र डोपिङमा पर्न नदिनका लागि डोपिङबारे बेलैमा प्रशिक्षण दिएर सचेत पनि गराउँछन् ।

 

खेल अवधिमा हुने घाइते खेलाडीको उपचार, एन्टी डोपिङसम्बन्धी कार्य र खेलाडीको नियमित स्वास्थ्यसम्बन्धी कार्यका लागि खेलकुद टिममा स्पोर्टस मेडिसिन टिम पनि अनिवार्य हुनुपर्ने यससम्बन्धी विशेषज्ञ वरिष्ठ अर्थोपेडिक सर्जन डा. सरोजकृष्ण श्रेष्ठ बताउनुहुन्छ ।

डा. श्रेष्ठ भन्नुहुन्छ, ‘स्पोर्टस मेडिसिन अर्थात् खेलकुद चिकित्सा, चिकित्साशास्त्रको एउटा शाखा हो जुन शारीरिक तन्दुरुस्ती, खेलकुद र व्यायामसँग सम्बन्धित चोटपटकको उपचार र रोकथामसँग सम्बन्धित छ । साधारण मेडिसिनमा केही समय लगाएर बिरामीलाई पहिलेकै अवस्थामा फर्काइन्छ भने स्पोर्टस मेडिसिनमा जतिसक्यो छिटो उपचार गरेर खेलमा फर्काउनुपर्ने हुन्छ । घाइते हुनुअगाडि खेलाडी जुन अवस्थामा थियो त्यही अवस्थामा फर्काएर खेल्न सक्ने बनाउनुपर्ने हुन्छ ।

खेलाडीहरुलाई घाइते हुनबाट बचाउन र डोपिङमा पर्न नदिनका लागि एन्टी डोपिङसम्बन्धी प्रशिक्षण दिने, बिरामी हुँदा उपचार गर्ने चिकित्सक, फिजियोथेरापिस्ट, डाइटिसियन, प्रशिक्षक आदि मिलेर टिमको रुपमा काम गरी खेलाडी तयार गर्ने गरिन्छ ।’नेपाल ओलम्पिक कमिटी, मेडिकल विभागका प्रमुखसमेत रहनुभएका डा. सरोजकृष्ण भन्नुहुन्छ, ‘स्पोर्टस मेडिसिनको उद्देश्य कुन खेलाडी कुन खेलका लागि उपयुक्त छ भनेर छुट्याउने पनि हो । त्यसकारण कुनै पनि खेलाडी कुनै पनि खेल खेल्नका लागि प्रिपार्टिपिटेसन चेकअप गर्नुपर्ने हुन्छ ।

हुन त यस्तो परीक्षण बाल्यकालमै हुनुपर्ने हो । किनभने खेलकुदमा आउन चाहने बच्चाहरुले म यो क्षेत्रमा लाग्छु भनेर सानैदेखि लक्ष्य बनाएका हुन्छन् तर पछि कसैको कलर भिजनमा समस्या, कसैको हातखुटका हाडहरुको संरचनामा समस्या, कसैको मुटुमा समस्याजस्ता विभिन्न समस्या देखिन सक्ने हुन्छ । यस्तो समस्या भए पनि उसलाई जुन खेल उपयुक्त छ त्यसमा पठाउन सकिन्छ ।

कुनै पनि मानिस खेलबाट वञ्चित हुनुहुँदैन भन्ने खेलकुदको सिद्धान्त नै हो । यसका लागि स्क्रिन टेस्ट स्कुल उमेरमै गर्नुपर्ने हो, तर नेपालमा त्यो एकपटक शुरु गरिए पनि निरन्तर लागू नभएकोले खेलमा भाग लिन आउनेहरुलाई यस्तो टेस्ट गरिन्छ । कोही खुट्टा मजबुत भएको अग्लो छ भने उसलाई बास्केटबल, भलिबलमा पठाइन्छ । कोही एथलेटिक्सको लागि उपयुक्त होला, कोही वेटलिफ्टिङका लागि त कोही बक्सिङका लागि ।

कुन उमेरकाले कुन खेल खेल्न उपयुक्त छ, कति वर्षको खेलाडीले कति दूरी दौडिन सक्छ भन्ने कुरा पनि स्क्रिनिङबाट छुट्याउने गरिन्छ ।’ करिब अढाइ दशकदेखि स्पोर्टस मेडिसिनमा समेत कार्यरत वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. सरोजकृष्ण श्रेष्ठ नेपालको सबैभन्दा पुरानो (सन् १९९९ देखि) डोपिङ विशेषज्ञ पनि हो । उहाँसँग गरिएको थप कुराकानी ः

कुन–कुन क्षेत्रका चिकित्सकहरु स्पोर्टस मेडिसिनमा आवश्यकता पर्छ ?

मूलरुपमा फिजिसियन, कार्डियोलोजिस्ट, अर्थोपेडिक्स र आँखाको डाक्टर आवश्यक पर्छ । फिजिसियनले खेलाडीको स्क्रिनिङ गर्छ । मुटुको डाक्टरले छाती–मुटुको स्थिति हेर्ने, खेलका दौरान हर्टअट्याक हुँदा, सास फेर्न नसक्दा उपचार गर्ने, हाडजोर्नीको डाक्टरले घाउ, चोटपटक लाग्दा उपचार गरेर छिटो खेलमा फर्काउने प्रयास गर्छन् ।

आँखाको डाक्टरले आँखाको स्थिति अर्थात् भिजन हेर्ने, बक्सिङ, कराँते, फुटबल आदि खेलका दौरान आँखामा चोट लाग्दा उपचार गर्ने गर्छन् । कतिपयको कलर ब्लाइन्ड पनि हुन्छ । १३ वर्षभन्दा कमको बच्चाहरुको खेल हुने स्थितिमा पिडियाक्ट्रिसियन पनि टिममा समावेश हुन्छ ।

स्पोर्टस मेडिसिनमा अर्थोपेडिक्सको जरुरत किन बढी पर्छ ?

स्पोर्टस मेडिसिनमा सर्वप्रथम त अर्थोपेडिक्सले खेलाडी स्क्रिनिङ गर्दा हाडको संरचना के छ, खुट्टा, हात, उसको जीउको संरचना कस्तो छ त्यो हेर्ने गर्छन् र त्यसै अनुसार खेल छनोट गरेर त्यतै पठाइन्छ । खेलको दौरान मुख्यरुपमा हुने भनेकै चोटपटक हो, त्यसका लागि अर्थोपेडिक्सको आवश्यक पर्छ । जस्तो– फुटबल, एथलेटिक्समा खुट्टा सुन्नियो, भाँच्चियो, मर्कियो, बटारियो अर्थोपेडिक्स नै चाहिन्छ ।

बक्सिङमा नाक भाँचियो भने अर्थोपेडिक्स चाहिन्छ । स्पोर्टस मेडिसिनमा पहिले फिजिसियनको भूमिका बढी छ भनिन्थ्यो भने अहिले अर्थोपेडिक्सको भूमिका बढी भएको छ । अहिले धेरैजसो खेलहरुमा अर्थोपेडिक्सको प्रयोग गर्न थालिएको छ । विशेषगरी कन्ट्याक्ट गेम (बक्सिङ, कराते, टाइकन्डो आदि) मा त अर्थोपेडिक्स नै चाहिने हुन्छ । बक्सिङमा त डाक्टर अगाडि छैन भने खेल शुरु नै गर्न पाइँदैन ।

बक्सिङ, टाइकन्डो, कराते, फुटबल खेलमा घाइते हुने सम्भावना धेरै छ । यस्ता खेलमा सकेसम्म त स्पोर्टस मेडिसिनको टिम नै बस्नुपर्छ । टिम नभएको स्थितिमा अर्थोपेडिक्स र फिजिसियनचाहिँ बस्नै पर्ने हुन्छ ।

तपाईंले सम्झिइरहने घाइतेका कुनै केसहरु छन् कि ?

मैले अहिलेसम्म भोगेको ट्रमाको सबैभन्दा ठूलो केस ४३÷४४ सालतिर भएको दशरथ रङ्गशाला दुर्घटना नै हो । त्यो बेला नेपाल र बंगलादेशबीच फुटबल गेम भइरहेको थियो र म पनि त्यहीँ थिएँ । अचानक हावाहुरी चलेपछि भएको भागदौडपछि धेरै मानिस मरे र खेलाडीहरु पनि थुप्रै घाइते भए । उनीहरुलाई लिएर म वीर अस्पताल गएको थिएँ, जुन कहिल्यै बिर्सिन्न ।

अर्को एउटा मलेसियामा भएको थियो, जुनियर ब्याडमिन्टनमा । खेल्दाखेल्दै मलेसियाको महिला खेलाडीको घुँडा डिसलोकेट भयो । गेम टेलिभिजनबाट प्रत्यक्ष प्रसारण भइरहेको थियो । मैले तुरुन्तै स्पे्र लगाएर घुँडा ठीक ठाउँमा लगाइदिएँ । त्यो नगरेको भए उनलाई पछिसम्म निकै गाह्रो हुन्थ्यो । त्यसपछि ‘ओहो’ अर्थोपेडिक्सको यस्तो महत्व हुने रहेछ’ भनेर उनीहरुले पनि बुझ्ने मौका पाए ।

त्यो खेलमा म टुँडामेन्ट डाक्टर थिएँ । त्यसैले त्यो मैले नै गर्नुपर्ने थियो । यस्तो खेलमा नि डिसलोकेट भएको इतिहासमै थिएन । बक्सिङ खेल्दा कुम खुस्किनेहरु त नेपालमै पनि थुप्रै घटनाहरु छन् । कुहिना पनि खुस्किन्छ, नाक भाँच्चिन्छ । यस्तो त भइरहन्छ ।

घाइते खेलाडीलाई तत्काल खेलमा फर्काउन कस्तो तयारी गरिएको हुन्छ ?

कुनै खेलाडीको टाउकोमा बाहिर चोट लाग्यो, नाक फुट्यो भने खेल केही क्षण रोकेर उपचार गरी फर्काउन सकिन्छ, तर टाउकोभित्र चोट लाग्यो भने फर्काउन सकिन्न । स्पोर्टस मेडिसिनको डाक्टरले एकदम थोरै समयमा निर्णय गर्नुपर्ने हुन्छ । त्यसैले यसमा अनुभवी चिकित्सकको आवश्यकता पर्छ ।

बक्सिङ, कराँते आदि विभिन्न खेलमा कुन खेलमा के भयो भने के गर्ने भन्ने पहिला नै विशेष किसिमका तालिमहरु भएका हुन्छन् । यसको आधारमा खेल्दाखेल्दै आफ्नो खेलाडीमा चोट देखियो ऊ ढलेपछि उठ्न नसक्ने अवस्थामा छ भने खेल रोक्न पनि लगाउनुपर्ने हुन्छ । कुनै–कुनै खेलमा चाहिँ डाक्टरले रोक्न पाउँदैन । एम्पायरमार्फत रोक्न लगाउनुपर्छ । यसमा डाक्टर र एम्पायरको राम्रो संयोजनको आवश्यकता पर्छ ।

खेलाडीलाई चोटपटक नलागोस् भनेर कस्तो सावधानी अपनाइएको हुन्छ ?

बक्सिङ, कराँते, टाइकण्डो, फुटबल आदिमा अरुलाई जथाभावी हान्न नपाउने केही नियमहरु हुन्छन् । यस अनुसार जथाभावी हान्न पाइँदैन, तर कसैले खेल जित्नका लागि नियम तोड्न सक्छ भनेर शरीरका संवेदनशील भागहरुमा सुरक्षा कवचहरु लगाउन लगाइन्छ । कसैले नियम तोडेमा जरिवाना गर्ने व्यवस्था पनि हुन्छ । खेलाडीले जानी–जानी गलत स्थानमा हिर्कायो भने खेल रोकेर प्वाइन्ट घटाउने पनि गरिन्छ । नियम र सुरक्षा कवचसम्बन्धी कुरा प्रशिक्षणका क्रममा खेलाडीलाई सिकाइएको हुन्छ ।

खेलमैदानमा खेलाडी मृत्यु नै हुने समस्या कत्तिको हुन्छ ?

खेलका दौरान ब्रेन हेमरेज भएर, कार्डियाक एरेस्ट भएर खेलमैदानमा खेलाडीहरु मृत्यु हुने घटनाहरु कहिलेकाहीँ हुन्छन् । यस्तै नहोस् भनेर स्पोर्टस मेडिसिन टिमको आवश्यकता पर्ने हो । बक्सिङ, फुटबलमा यस्ता घटनाहरु भएका छन् । कार्डियाक एरेस्टको सम्भावना भएका खेल बक्सिङ, फुटबल आदि हुँदा एम्मबुलेन्समा कार्डियाक सक दिने व्यवस्था हुनै पर्ने नियम छ । कार्डियाक एरेस्टको समस्या हुनसक्ने भएकाले खेलाडीहरुलाई खेलका लागि फिट छ कि छैन भनेर पहिले नै जाँच्ने पनि गरिन्छ ।

खेलाडीहरुले लगातार खेल्नुपर्दा सम्हाल्न कठिन हुने गरी थाक्न सक्छ । जस्तो– फुटबलमा ९० मिनेट खेल्ने तय हुन्छ । समय थपिनुपर्दा थाकेर लखतरान हुन्छ, उसले थाम्न सक्तैन । बक्सिङमा टाउकोमा ड्याम्म लाग्दा कहिलेकाहीँ भित्र चोट लागेर ढल्छ । ब्रेन हेमरेज भएर मर्छ पनि । हेटौडामा नेपाली खेलाडीलाई नै भएको छ । बक्सिङ खेल्दा नै ढलेको हो, अस्पताल लगेको तर ब्रेन हेमरेज भएर उसको मृत्यु भयो ।

त्यसैले खेलाडीले थाकेर थेग्न सक्ने अवस्था छैन भने खेल रोक्नुपर्छ । जब खेलाडी ढलमलाउन थाल्छ, त्यो बेला उसले कालो देखेँ भन्छ, त्यस्तो अवस्थामा रोक्नुपर्छ । वान टु गरेर एटसम्म काउन्ट गर्दा ऊ राम्ररी तयार हुन सकेन भने खेल रोक्नुपर्छ । त्यसो गर्दा उठे पनि फेरि खेलाडी ढलमलाउन थाल्यो भने खेललाई अघि बढाउनुहुँदैन । यसरी खेल्न नसक्ने अवस्थामा खेलाडी भिडिरहेको छ भने खेल रोक्नको लागि कहिलकाहीँ उसको कोचले पनि रुमाल फालेर ‘अब आफ्नो खेलाडीले खेल्न सक्तैन, खेल रोक’ भन्ने संकेत गर्छन् ।

खेलाडीहरुमा बेलाबेलामा डाइट नपुगेको इस्यु उठ्ने गर्छ, वास्तविकता के छ ?

साधारण दालभात खाएर राम्रो खेलाडी तयार हुँदैन, राम्रो डाइटको आवश्यकता पर्छ । नेपालमा अन्तर्राष्ट्रिय खेलहरु शुरु हुन लागेको दुई–तीन महिनाअघि बल्ल तालिम शुरु गर्छन् र डाइट दिन थाल्छन् । विदेशतिर चाहिँ ओलम्पिक खेल्ने खेलाडीले ओलम्पिक खेलेर सकेको भोलिपल्टदेखि फेरि तालिम शुरु गर्छन् र डाइट पनि नियमित दिइरहने चलन छ ।

खेल सकिएपछि तालिम पनि सकिने र डाइट पनि बन्द गर्ने हाम्रो चलनले राम्रो खेलाडी तयार हुन सक्दैन ।

 

नेपालमा खेलाडी पनि राम्रा छन्, कोच पनि राम्रा छन् तर दुर्भाग्य ¤ डाइट पर्याप्त पाउँदैनन् । हामी अलि हाई अल्टिच्युडमा भएकोले हाम्रो हेमोग्लोबिन बढी हुन्छ, जसले गर्दा अक्सिजन लिने क्यापासिटी बढी हुन्छ । हामी उचाइमा बसेर तालिम लिई कम उचाइको क्षेत्रमा खेल्न जाँदा नै हामीलाई फाइदा हुन्छ । विदेशी खेलाडीहरु हाई अल्टिच्युड सिक्नेस ट्रेनिङमा नेपाल आउने गर्छन्, हामीलाई कतै जानुपर्दैन । तर डाइटको कमीले खेलाडीको मजबुती राम्रो हुँदैन ।

खेलाडीलाई खाना दिँदा खेल अनुसार फरक खानाको व्यवस्था गर्नुपर्ने हुन्छ । दगुर्ने खेलाडीलाई कार्बोहाइड्रेड बढी भएको डाइट धेरै चाहिन्छ भने वेट लिफ्ट गर्नेलाई प्रोटिन बढी चाहिन्छ । तर क्लोज क्याम्पहरुमा समान किसिमको खानाहरु दिइएको हुन्छ ।

यस किसिमको अवधारणा दिने मानिस खेलकुदको बोर्डमा नभएर पनि हुनसक्छ । खेलकुद बोर्डमा एकजना सदस्य पनि डाक्टर राखिएको छैन । अनि डाक्टरले दिने सुझाव त्यहाँ कसले दिन्छ ? खेलाडीको डाइट कसरी सन्तुलित हुन्छ ? खेलकुदमा मेडिकल सेक्सनको चिफ लेखा प्रशासनतिरको मानिस राखेर खेलकुदको राम्रो विकास सम्भव हुँदैन । किनकि खेलाडीको शारीरिक, मानसिक आवश्यकता उसले बुझ्न, भन्न सक्तैन ।

नेपालको खेलकुदमा डोपिङ (Doping in sport) को समस्या कत्तिको छ ?

कुनै पनि खेलाडीले आफ्नो कार्यक्षमता बढाउन औषधि वा कुनै चिज प्रयोग गर्ने कार्य डोपिङ हो । अर्थात् झेल्ली गरेर गेम जित्ने तरिका । यो तरिकाको प्रयोग गर्नबाट नेपाली खेलाडीहरु पनि मुक्त छैनन् ।

डोपिङ गर्ने विधिहरुमा औषधि खाएर गर्ने विधि व्यापक रुपमा छ । वेट लिफ्टिङ गर्नेले मसल मास बढाउने औषधि खान्छ । खेलअगाडि कतिपयले स्टेरोइड सुई लिने गर्छन् भने एथलेटिक्स खेलाडीले दौडनुअघि हेमोग्लोबिन बढाउन नथाक्ने औषधि लिने र कतिपयले आफ्नै रगत पनि लिने गर्छन् । आफ्नो रगत झिक्ने र खेल हुनु एक दिनअघि आफैँले त्यही रगत लिने विधि पनि छ । खेलमा जानुअगाडि अक्सिजन लिने विधि पनि छ, यसले हेमोग्लोबिन बढाउँछ । रगतको रातो सेलमा अक्सिजन हुन्छ । अक्सिजन धेरै भयो भने थाक्दैन ।

यी सबै गतिविधि गर्न प्रतिबन्ध छ र शंका लागेर परीक्षण गरेमा पत्ता लाग्छ पनि । आफ्नै रगत पहिला लिएर फेरि लिएमा पनि परीक्षणमा पत्ता लाग्छ । नथाक्नका लागि लिइने स्टेरोइड सुईहरु त ल्याबमा १८ महिनापछि परीक्षण गर्दा पनि पत्ता लाग्छ ।

बक्सरहरुले पिसाब लाग्ने औषधि खाएर आफ्नो तौल तत्काल घटाई कम समूहको तौलमा खेल्छन् । यस्तो औषधि एक ट्याब्लेट खाएको छ भने तीन महिनापछिसम्म परीक्षण गर्दा पनि ल्याबमा देखिन्छ । नेपालमा पनि एकजना खेलाडी यस्तोमा परेका छन् । मैले सोध्दा खाएको छैन भने तर पछि खाएको प्रमाणित भयो ।

डोपिङ धेरै गर्नेमा अहिले भारत सबैभन्दा अगाडि छ । यसमा वेट लिफ्टरहरु एकदम धेरै परिरहेका छन् । एक त डोपिङका बारेमा खेलाडीहरुलाई राम्रोसँग ज्ञान नै छैन । खोकीको औषधिले पनि डोपिङमा पर्छ । कडा खालका नदुख्ने कतिपय औषधिहरु पनि डोपिङमा पर्छन् ।

त्यसकारण हामीले डोपिङको ट्रेनिङ दिँदा नै एन्टिडोपिङ क्लास पनि लिन्छौँ । कतिपय खेल त डोपिङको क्लास लिएको छैन भने खेल्नै दिँदैन । ब्याडमिन्टनमा त डोपिङको क्लास लिएको हुनै पर्छ, त्यो लिएर आएपछि मात्र खेल्न दिन्छ ।

खेलाडीहरुलाई औषधिका बारेमा पनि ज्ञान दिन जरुरत पर्छ । अहिले खेलकुद क्षेत्रमा डोपिङ एकदमै सेन्सेटिभ इस्यु भएको छ । डोपिङमा प¥यो भने पहिले दुई वर्ष खेल्न प्रतिबन्ध लगाउँथ्यो भने अब चार वर्ष प्रतिबन्ध लगाउँछ । कुनै कोचले खेलाडीलाई यस्ता औषधि दिएको प्रमाणित भएमा उसले जीवनभर कोच हुन नपाउने नयाँ नियम आएको छ । खेलाडी कोच, डाक्टरलाई प्रतिबन्धको साथै जरिवानाको व्यवस्था पनि गरिएको छ ।

डोपिङको टेस्टहरु कसरी गरिन्छ ?

पहिला खेलाडीले अस्वाभाविक खेल प्रदर्शन ग¥यो भने खेलपछाडि डोपिङ टेस्ट गरिन्थ्यो । तर अहिले कुनै पनि बेला डोपिङ टेस्ट गर्न थालिएको छ । क्याम्पमा बसेका बेला कुनै पनि दिन, लगातार वा तीन–चार दिनको ग्यापमा पनि टेस्ट गर्न सकिने व्यवस्था गरिएको छ । डोपिङसम्बन्धमा आजकल धेरै कडा नियम छ ।

खेलाडीलाई डोपिङबाट बचाउन के–कस्तो उपाय गरिन्छ ?

एक त हामीले पहिले नै क्लास लिएर प्रिस्क्रिप्सनविना औषधि नखाऊ भन्छौँ । औषधि खानुपर्दा डाक्टरलाई सोधेर खानू, आफूखुशी औषधि नकिन्नू भन्छौँ । प्रतियोगितामा जाँदा सधैँ डाक्टर सँगै जान सम्भव हुँदैन । यस्तो अवस्थामा खेलाडी बिरामी पर्दा पनि डोपिङमा पर्ने किसिमका औषधिबाट जोगिन सिकाएका हुन्छौँ ।

कुनै पनि खेलाडी बिरामी भएर इमर्जेन्सीमा पुगेको छ भने वा औषधि किन्न औषधि पसलमा पुुगेको छ भने पनि त्यहीँबाट मलाई फोन गर, म इमर्जेन्सीको डाक्टर वा औषधि विक्रेतालाई यस्तो समूहको औषधि नदिनू, यो खेलाडी हो भनेर सम्झाउने गर्छु । नयाँ नियम अनुसार खेल हुने स्थितिमा खेलाडीले सलाइन पनि १०० एमएलभन्दा बढी लिन पाउँदैन । खोकीको औषधि सेवन गर्दा पनि डोपिङमा पर्ने भएकाले स्पोर्टस मेडिसिनको चिकित्सकलाई सोधेर मात्र खानुपर्छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलका लागि स्पोर्टस मेडिसिनको टिमले कसरी काम गर्छ ?

कुनै पनि अन्तर्राष्ट्रिय खेल शुरु हुन लाग्दा सर्वप्रथम स्पोर्टस मेडिसिनको क्लास लिने गरिएको छ । यसमा मुख्यतः डोपिङ, इन्जुरी, फस्ट एड समावेश गरिएको हुन्छ । अन्तर्राष्ट्रिय गेमहरुमा डाक्टर सधैँ जान सकिँदैन । त्यसैले टिममा जाने कुनै खेलाडी वा कोचलाई यस्तो समस्यामा यो–यो गर्ने भनी सिकाएर पठाइन्छ । साधारण समस्या त समाधान हुन्छ तर अलि जटिल इन्जुरीमा तुरुन्त खेलमा फर्काउन त डाक्टरले मात्र सक्छन् । यस्तोमा डाक्टरले कहिलेकाहीँ रिस्क लिएर डबल डोज औषधि दिनुपर्ने पनि हुन्छ ।

कुन इन्जुरी वा बिमारीमा के–के औषधि खान दिने भनी लिस्ट बनाएर दिइएको हुन्छ । जस्तो– डायरिया भयो भने यो औषधि खाने, खोकी लाग्यो भने यो औषधि खाने भनेर लेखेरै दिइन्छ, फस्ट एड बक्स बनाएर दिइन्छ, जसले गर्दा समस्या पनि समाधान होस् र डोपिङमा पनि नपरोस् । शरदचन्द्र शाहका पालामा ८ जनाभन्दा बढी खेलाडी जाने अवस्थामा एकजना डाक्टर पनि जाने भनेर निर्णय भएको थियो । तर

तस्वीर: अनिल आङदेम्बे

 

अहिले डाक्टरको सिटमा कुनै पार्टीको कार्यकर्ता गइरहेको हुन्छ । कोच अफिसियल सबै जान्छन् तर डाक्टरको आवश्यकता नै ठान्दैनन् । यो गलत हो ।’

नेपाली खेलाडीहरुमा सशक्त खेल प्रदर्शन गर्न सक्ने प्रशस्त सम्भावना भए तापनि राम्रो प्रशिक्षण नहुने, डाइट पर्याप्त नपाउने, उपचारको व्यवस्था राम्रो नहुनेजस्ता कारणले उच्चतम क्षमताको प्रदर्शन गर्न सकिरहेका छैनन् । नेपालको खेल क्षेत्रमा स्पोर्टस मेडिसिनलाई पनि सधैँ उपेक्षाको दृष्टिले नै हेर्ने गरिएको छ । खेलकुद बोर्डमा एकजना पनि चिकित्सक नपर्नु र खेलकुदको मेडिकल सेक्सनको चिफ मेडिकल क्षेत्रबाहिरको व्यक्ति हुनु नेपाली खेलकुद विकासको लागि दुर्भाग्यपूर्ण हो । यसमा सुधारको अपेक्षा गरिन्छ ।

Skip This