मातृभाषा पत्रकारिता शतवार्षिकी : उत्सव मात्र होइन, आन्दोलन हो



संसारमा बंगलादेश एउटा मात्र त्यस्तो राज्य हो जहाँ भाषाका कारण देश टुक्रा भई अस्तित्वमा आयो । राजनीतिक कारणबाट धेरै देश टुक्रा भए होलान् तर भाषाका कारणलाई लिएर पाकिस्तानबाट टुक्रा भई बंगलादेश अस्तित्वमा आयो । अनि संसारमा जति पनि मातृभाषाका प्रेमका कुरा आउँछन् त्यहाँ बंगलादेशलाई उदाहरणको रुपमा लिएको पाइन्छ । बंगलादेशमा भाषिक अधिकारको आन्दोलन २१ फेब्रुअरी १९५२ का दिन भएको हो । यही दिनलाई सम्झना गर्दै आजभोलि अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाउने गरेको छ । अन्तर्राष्ट्रिय मातृभाषा दिवस हरेक मातृभाषा प्रेमीहरुलाई विशेष दिन हो । मातृभाषासित सम्बन्धित विभिन्न संघ, संगठन, व्यक्ति भएका ठाउँमा विशेष तरिकाले कार्यक्रम सञ्चालन भइरहेको पाइन्छ । मातृभाषाको माध्यमबाट पत्रकारिता गरिरहेका पत्रकार अथवा मातृभाषी पत्रकारहरुको लागि झन् यो विशेष र महत्वपूर्ण दिन हो ।

नेवाः समुदायमा नेपालभाषा माध्यमबाट पत्रकारिता गरिरहेका नेवाः पत्रकारहरुको बीचमा मातृभाषा पत्रकारितालाई लिएर बहसको विषय बनाउन राष्ट्रिय स्तरका नेवाः पत्रकारितालाई चिनाउन नेवाः पत्रकार राष्ट्रिय दबूबाट काम भइरहेको छ । नेवाः पत्रकार राष्ट्रिय दबू पत्रकारिता क्षेत्रमा सशक्त रुपमा अगाडि बढिरहेको संगठन हो । पत्रकार दबू स्थापना भइसकेपछि मातृभाषा पत्रकारिता र समावेशी पत्रकारितामा बहस र छलफल निरन्तर भइरहको छ । दबूबाट अहिलेसम्म अन्तर्राष्ट्रिय मातृभाषा दिवसका अवसरमा दुईचोटि गोष्ठी भइसकेको छ भने नेपाल आदिवासी जनजाति पत्रकार महासंघसित सहकार्य गरी दुईचोटि मातृभाषा पत्रकारिता राष्ट्रिय सम्मेलन गरिसकेको छ । यही कार्यक्रमबाट मातृभाषा पत्रकारिता क्षेत्रको अवस्थाबारे कुरा राख्ने अवसर दिएको हो ।

यस दबूबाट गएको २०७९ पुस २३ (११४३ पोहेलाथ्व पारु) का दिन चौथो महाधिवेशनबाट १९ जना कार्यसमितिमा चयन भएर आएका छन् । नयाँ कार्यसमितिको समूह निर्वाचित भइसकेपछि गएको पुस १९ गतेदेखि २१ गतेसम्म बुद्धको जन्मभूमि लुम्बिनीमा दबूका नयाँ समितिको पहिलो पूर्ण बैठक बसेको हो । सोही बैठकबाट धर्मादित्य धर्माचार्यले मातृभाषा पत्रकारिता गरेको सय वर्ष पूरा भएको सन्दर्भलाई लिएर ‘मातृभाषा पत्रकारिताया शतवार्षिकी’ मनाउने गरी महत्वपूर्ण ऐतिहासिक निर्णय गरेको छ । धर्मादित्य धर्माचार्यले ने.सं. १०४५ मा बुद्धधर्म नामक पत्रिका स्थापना गरी नेपालमा नै मातृभाषा माध्यमबाट पत्रकारिता शुरु गरेको हो । साथै धर्मादित्य धर्माचार्य नेपालको पहिलो मातृभाषी पत्रकार पनि भएको हो । यही दिनलाई लिएर पत्रकार दबुलिबाट ने.सं. ११४४ देखि ११४५ सम्म शतवार्षिक उत्सवको रुपमा मातृभाषा पत्रकारिता दिवस मनाउने निर्णय गरिएको हो । जसको लागि दबूबाट विभिन्न कार्यक्रम गर्ने भएको छ ।

मातृभाषाको माध्यमबाट पत्रकारिता गरेको सय वर्ष पार गरेको अवस्थामा नेपालभाषाया छापा पत्रिका, अनलाइन, टेलिभिजन र रेडियाको इतिहासदेखि वर्तमानसम्मका पत्रकारितालाई लिएर पुस्तक नै प्रकाशन गरिने भएको छ । त्यसै गरी धर्मादित्य धर्माचार्यको फोटो अंकित चाँदीको सिक्कादेखि हुलाक टिकट प्रकाशन गर्न संघीय सरकारको ध्यानाकर्षण गराइने भएको छ । यति मात्र नभई मातृभाषा विकासका लागि धर्मादित्य धर्माचार्यको नामबाट धर्मादित्य धर्माचार्य सञ्चार प्रतिष्ठान स्थापना गर्न नेपाल सरकारलाई दबाब दिने पनि निर्णय भएको छ । यस्तै कार्यक्रम गर्नका लागि कार्यक्रम मात्र नभई यसको परिणाम आउने गरी काम गर्न दबूका उपाध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठको संयोजनमा एक समिति गठन गरिएको छ ।

यहाँनिर नेवाः पत्रकार राष्ट्रिय दबूबाट किन मातृभाषा पत्रकारिता दिवस मनाउनुप¥यो भन्दा नेपालको सञ्चार प्रणालीमा मातृभाषा पत्रकारिताको विकासमा नेवाः समुदायको के–कस्तो भूमिका, योगदान छ भन्ने चर्चा गर्नु सान्दर्भिक हुन्छ । सञ्चार प्रणालीमा नेवाः समुदायको विशेष योगदान रहेको छ । मातृभाषाका प्रथम पत्रकारका साथै पत्रिकाको प्रकाशक धर्मादित्य धर्माचार्य हो भन्ने कुरा माथि नै उल्लेख गरिसकिएको छ । त्यसै गरी नेपालको सबभन्दा पहिला पत्रकारहरुको संगठित गर्ने एउटा नेवाः नेपाल टुडको सम्पादक सत्यनारायण बहादुर श्रेष्ठ हो । उहाँले वि.सं. २००८ मा नेपाल पत्रकार संघ गठन गरी सबभन्दा पहिला पत्रकारहरुलाई संगठित गरेको हो । त्यसै गरी वि.सं. २०१० असार ४ गते मातृकाप्रसाद कोइरालाको नेतृत्वमा गठन भएको सरकारको पहिलो सञ्चारमन्त्री त्रिपुरवरसिहं प्रधान हो । २०१६ साल जेठ १३ गते विश्वेश्वरप्रसाद कोइरालाको नेतृत्वमा जननिर्वाचित सरकारमा पहिलो जननिर्वाचित सञ्चारमन्त्री प्रजातान्त्रिक आन्दोलनका अभियन्ता गणेशमान सिंह हो ।

यस्तै महिला पत्रकारितामा भन्ने हो भने पहिलो महिला पत्रकार साधना प्रधान र कामक्षादेवी हुन् । उहाँहरु वि.सं. २००८ जेठ महिनामा नेपाल महिला संगठनबाट प्रकाशन ‘महिला’ नामको मासिकका सम्पादक हो । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको नाम पनि यहाँ छुटाउनुहुँदैन । उहाँले २००९ सालमा कलाकार नामको पत्रिका र हिन्दी, नेपाली, अंग्रेजी, नेपालभाषा गरी चारवटा भाषामा बहुभाषिक पत्रिका निकालेको हो । नेपालमा मातृभाषाबाट लेख्ने र पढ्ने दुवैलाई जेलमा हाल्नेसमेत इतिहास रहेको छ । वि.सं. १९९७ मा राणाशासनविरुद्ध बोल्नेहरुलाई झुन्याइएको हो भने नेपालभाषाबाट लेख्नेहरुलाई राज्यले चरम यातना दिएको हो । त्यो बेला नेपालभाषाबाट लेख्नेहरुको घरमा खानतलासी र धरपकड गरिएको थियो । यस क्रममा नेपालभाषा पत्रिकाका सम्पादक, प्रकाशक फत्तेबहादुर सिंहलाई जन्मकैद गरिएको थियो । त्यस्तै सिद्धिचरण श्रेष्ठ र धर्मरत्न यमिलाई १८ वर्ष, चित्तधरलाई ६ वर्ष र धर्मादित्य धर्माचार्यलाई तीन महिनाको जेल सजाय दिइएको थियो ।

त्यस बेलामा नेपालमा आफ्नो मातृभाषाबाट पुस्तक, पत्रपत्रिका छाप्ने गर्नुहुँदैनथ्यो । त्यही भएर भारतको कलकत्ता र कालिम्पोङमा पत्रिका, पुस्तक छापी लुकाएर नेपाल ल्याउने गरिन्थ्यो । त्यो पनि बाटोमा समात्यो भने जफत हुन्थ्यो । त्यस्तै, ३० वर्षअगाडि पञ्चायती व्यवस्थाले पनि सरकारको बारे लेख्यो कि जेलमा बस्नुपथ्र्यो ।

२०४६÷४७ सालको जनआन्दोलनपछि देशमा बहुदलीय व्यवस्था आयो । त्यसपछि मातृभाषा पत्रकारितामा रहेकाहरुले परिवर्तनको आशा गरेका थिए । तर पनि सरकारमा बस्नेहरुले कहिल्यै पनि भाषिक पत्रकारिता क्षेत्रमा परिवर्तन ल्याउने काम गरेनन् । आज नेपालको संविधानमा पूर्ण प्रेस स्वतन्त्रता भनिए पनि मिडिया विधेयक, सूचना प्रविधि विधेयक आदि ल्याई दण्ड जरिवाना लिने गरेको छ । यस्तो परिस्थितिमा राणाशासन फर्केको आभास पनि भएको छ । देशमा लोकतान्त्रिक गणतन्त्र आइसकेको अवस्थामा सरकारले पत्रकारिता क्षेत्रमा आएको परिवर्तन कहिल्यै हेरेको छैन ।

नेवाः पत्रकारिताको कुरा गर्ने हो भने आजभन्दा ६७ वर्षपहिले नेपालभाषाको दैनिक निकालिसकेको छ । फत्तेबहादुर सिंहको प्रकाशन र सम्पादनमा २०१२ भाद्र महिनामा नेपालमा तीनवटा दैनिक रुपमा नेपालभाषाका ‘नेपालभाषा पत्रिका’ निस्केको छ । यो नेपालभाषाको पहिलो र नेपालको तेस्रो दैनिक हो । नेपालको पहिलो दैनिक पत्रिका भनेको ‘आवाज’ पत्रिका नै हो । त्यसपछि ‘समाज’ दैनिक हो भने ‘नेपालभाषा पत्रिका’ तेस्रो स्थानमा पर्छ । नेपालभाषा पत्रिका निस्केको बेलामा नेपाली भाषामा नै दैनिक पत्रिका निस्केको थिएन ।

आजभोलि निस्किरहेको ‘गोरखापत्र’ दैनिक पनि २०१७ सालमा मात्र दैनिक प्रकाशन भएको हो । चन्द्रशमशेर प्रधानमन्त्री भएको बेला साप्ताहिक पत्रिकाको रुपमा गोरखापत्र निस्केको हो । त्यसपछि हप्ताको दुईपल्ट अनि पछि मात्र दैनिक भएको हो । त्यस्तै गरी पासा पाक्षिक पनि बिर्सनुहुँदैन । आशाराम शाक्यको सम्पादनमा च्वसापासाको प्रकाशनमा २००८ सालमा समाचारलाई प्राथमिकता दिई ‘पासा’ पाक्षिक निस्केको हो । पछि यही पत्रिका दैनिक भई केही समय प्रकाशनमा आएपछि रोकिएको हो । साप्ताहिकको कुरा गर्ने हो भने, वि.सं. २०४१ मा निस्केको ‘राजमति’ साप्ताहिक नेपालभाषाको पहिलो साप्ताहिक भएको हो । त्यसपछि धेरै साप्ताहिक पत्रिका निस्के भने बिस्तारै बन्द पनि भए । एक समय धेरै लोकप्रिय भएको नेपालभाषाको साप्ताहिक पत्रिकाहरु इनाप वाःपौ, देशय्मरुझ्याः देखि अहिले निस्केको नेपाःसः साप्ताहिक, तिकिझ्याः साप्ताहिक अहिलेको समयमा निरन्तर हुन सकेनन् । इनाप पत्रिकाले नेवाः पत्रकारिता क्षेत्रमा धेरै पत्रकार जन्माएको हो । त्यस समयमा इनाप पत्रिकामा काम गर्ने धेरैजसो पत्रकारहरु आजसम्म पनि पत्रकारिता क्षेत्रमा सक्रिय रहेको पाइन्छ ।

दैनिकको कुरा गर्नेे हो भने २०४४ सालमा ‘विश्वभूमि’ नामको दैनिक निस्क्यो । चर्चा वा लोकप्रियताको कुरा गर्ने हो भने विश्वभूमि पनि उत्तिकै चर्चित पत्रिका हो । नेवाःहरुको बीचमा मात्र होइन, गैर नेवाःको बीचमा पनि लोकप्रिय विश्वभूमि दैनिक ०४६ सालको जनआन्दोलनको समयमा धेरै चर्चित भएको हो । त्यही समय विश्वभूमि दैनिक नेपालभाषा नबुझ्नेहरुले पनि खोजी–खोजी पढ्ने गर्थे । यो साप्ताहिक ०४६ सालमा आन्दोलनको समयमा तीनचोटिसम्म प्रकाशनमा ल्याइएको हो । यो पत्रिका आजसम्म पनि इतिहासको पानामा मात्र सीमित हुनुपर्ने भयो ।

प्रजातन्त्र, गणतन्त्र र लोकतन्त्र आए पनि सञ्चार क्षेत्रमा अहिलेसम्म परिवर्तनको अनुभूति गर्न पाएको देखिँदैन । संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले अहिलेसम्म मातृभाषा पत्रकारिताका सन्दर्भमा केही नीति–नियम बनाएको देखिँदैन । पत्रकार दबूबाट मनाइरहेको मातृभाषा पत्रकारिता दिवस भनेको मातृभाषी पत्रकारहरुको अवस्था र पीडालाई लिई राज्यको ध्यानाकर्षण गर्नको निम्ति, समस्या समाधान गराउनको निम्ति, अवस्था सच्याउन राज्यलाई आवश्यक कदम चाल्न लगाउनको निम्ति हो ।

प्रतिक्रिया दिनुहोस्