बिहीबारदेखि १५ जिल्लामा हात्तीपाइले विरुद्धको औषधी खुवाइने



काठमाडौ । नेपाल सरकारले सन् २०३० सम्ममा हात्तीपाइले रोग निवारण गर्ने अभियानका साथ हात्तीपाइले विरुद्धको आम औषधी सेवन अभियान यही फागुन ११ देखि १५ वटा जिल्लाहरुमा एकैसाथ सञ्चालन हुँदैछ ।

आम औषधी सेवनका लागि ११ गतेदेखि झापा, मोरङ, धनुषा, महोत्तरी, रौतहट, सर्लाही, बारा, रसुवा, लमजुङ, पर्वत, बाग्लुङ, कपिलबस्तु, बाँके, दाङ र कैलालीमा तालिम प्राप्त स्वास्थ्यकर्मीले वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक भवन, विद्यालय, सहकारी, धार्मिकस्थल आदि स्थामा बुथ राखेर औषधि खुवाउने कार्यक्रम तयारी भईसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हात्तीपाइलेको औषधी दुई वर्ष उमेर पूरा गरेका स्वस्थ व्यक्तिले मात्र खानुहुन्छ । गर्भवती, एकसातादेखि औषधी सेवन गरिरहेका, दीर्घरोगीले यो औषधी खान नहुने पनि मन्त्रालयले जनाएको छ । यो औषधीले मानव शरिरमा हात्तीपाइलेको परजीवी भए नष्ट गर्नुका साथै हात्तीपाइले रोग लाग्नबाट बचाउने पनि जानकारी गराइएको छ ।

हात्तीपाइक्ले रोग लामखुट्टेको टोकाइबाट सर्न सक्ने र यो रोग लगामा खुट्टा सुन्निने तथा पुरुषहरुमा अण्डकोष सुन्निने तथा महिलाहरुमा स्तन पनि सुन्निन सक्ने स्वास्थ्य मन्त्रालयको दाबी छ ।

यस बिषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले आम नागरिकलाई आफुले औषधि सेवन गरेर अरुलाई पनि सेवन गर्न सूचीत गर्न आवहान गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्