रसुवाका सबै पालिकामा हात्तीपाइले रोगको औषधी खुवाइँदै



रसुवा ।  रसुवाका पाँच वटै पलिकामा हात्तीपाइले रोगको औषधी खुवाइने भएको छ । यहीँ फागुन ११ गते अर्थात् भोलि (बिहीबार)देखि उक्त रोगको औषधी खुवाइने भएको हो ।

सन् २०३० सम्ममा हात्तीपाइले रोग निवारण गर्ने अभियानअन्तर्गत रसुवाको पाँच वटै गाउँपालिकामा भोलिदेखि औषधी खुवाइने भएको छ । जिल्ला स्वास्थ कार्यालय र स्थानीय सरकारको आयोजनामा हात्तीपाइले रोगविरूद्ध औषधि खुवाउने अभियान शुरू हुने बताईएको छ ।

जिल्लाका पाँचै वटा स्थानीय तहका केही विद्यालयमा गरेको परीक्षण जाँचमा हात्तीपाइले रोगको जीवाणु देखिएको स्वास्थ कार्यालयको तथ्यांकले देखाएको थियो । २०२० मा ३३ वटा विद्यालयका चार सय ८० जना विद्यार्थीमा हात्तीपाइले रोगको जीवाणु देखिएको जनस्वास्थ्य कार्यालय रसुवाले जनाएको छ ।

बिहीबारदेखि एकैपटक पाँच वटै गाउँपालिकाअन्तर्गत स्वास्थ्य केन्द्रहरूमा यो रोगको औषधी खुवाउन लागिएको स्वास्थ्य कार्यालय हात्तीपाइले रोग निवारणका संयोजक तथा सूचना अधिकारी रूकु क्षेत्रीले जानकारी दिनुभयो ।

हात्तीपाइले रोगको जिवाणुु भएको फाइलेरिया नामक पोथी लामखुट्टेले स्वस्थ मानिसलाई टोक्दा यो रोग सर्ने स्वास्थकर्मीहरूको भनाइ रहेको छ ।

दुई सातासम्म सञ्चालन हुने यो औषधी सेवन कार्यक्रममा स्वास्थ्यकर्मी र स्वयंसेविकाले नजिकको स्वास्थ्य सेन्टर र घर–घरमा पुगेर औषधी खुवाउने बताइएको छ । यस औषधी खुवाउने कार्यक्रममा कोही नछुट्न र कोही नदोहोरिन संयोजक क्षेत्रीले आग्रह गर्नुभएको छ ।

हात्तीपाइले रोगको औषधी दुई वर्षभन्दा कम उमेरका बालबालिका, कुपोषण भएका ५ वर्षमुनिका बालबालिका, गर्भवती महिला, सिकिस्त विरामी, मुटु रोगी, क्यान्सरका विरामी, मृगौला रोगी, छारे रोग भएका व्यक्तिले सेवन गर्न नहुने स्वास्थ्य कार्यालय रसुवाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्