डा. रुइतलाई बहराइनमा इसा अवार्ड प्रदान



काठमाडौँ।

आँखा उपचारका क्षेत्रमा नेपालका पाईनियर व्यक्तित्व आँखा रोग विशेषज्ञ तथा तिलगंगा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक डा. सन्दुक रुइतलाई मंगलबार बहराईन सरकारका तर्फबाट एक मिलियन डलर (१४ करोड नेपाली रुपैयाँ) बराबरको सर्वोत्कृष्ट इसा अवार्ड प्रदान गरिएको छ ।

तीन दशकदेखि आँखा उपचार सेवामा अनवरतरुपमा लाग्नुभएका डा. रुइतलाई बहराइनको राजधानी मनामास्थित ईसा सांस्कृतिक केन्द्रमा आयोजित विशेष समारोहमा राजा हमाद बिन इसा अल खालिफाले उक्त पुरस्कार तथा अवार्डद्वारा सम्मान गर्नुभएको तिलगंगा आँखा प्रतिष्ठानले जनाएको छ ।

राजा हमादले डा. रुईतले मानव कल्याणका लागि अमूल्य  र प्रभावकारी काम गरेको बताउनुभएको जनाएको छ । ईसा अवार्ड कमिटीका अध्यक्ष सेख मोहम्मद बिन मुबास्क अल खलिफाले पनि डा. रुईत मानवकल्याणका क्षेत्रमा विश्वकै उदाहरणीय व्यक्ति भएको चर्चा गर्नुभएको तिलगंगाले जनाएको छ ।

यो पुरस्कार तथा सम्मान आफ्ना पिता सेख इसा बिन सलमान अल खालिफाका नाममा सन् २००९ मा स्थापित गरिएको र हरेक दुई वर्षमा मानवका लागि सेवा गर्ने विश्वभरकै व्यक्ति या संस्थालाई प्रदान गरिँदै आएको अध्यक्ष सेखले बताउनुभएको पनि तिलगंगाले जनाएको छ ।

सम्मान ग्रहण गर्दै डा. रुइतले आफूले यो घडीमा तिलगंगा आँखा प्रतिष्ठानका हरेक सदस्यलाई धन्यवाद दिनु उचित ठानेको बताउनुभयो । त्यसैगरी उहाँले यो कार्यमा सघाउ पुर्‍याउने अन्तर्राष्ट्रिय तहका सहयोगी र साझेदार द फ्रेड होलोज फाउन्डेसन, हिमालयन क्वाटाराक्ट प्राजेक्ट र तेज कोहली एण्ड रुइत फाउन्डेसनलाई सम्झनुभएको थियो । उहाँले आँखा उपचारमा आएका सम्पूर्ण बिरामीमा यो सम्मान अर्पण गर्ने बताउँनुभएको छ । एक लाख २५ हजार भन्दा बढीको आँखा उपचार गरिसक्नुभएका डा.रुइतको ७० भन्दा बढी देशमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सेवा पुर्‍याउँदै आउनुभएको तिलगंगा आँखा प्रतिष्ठानले जनाएको छ ।

यो पुरस्कार पहिलो पटक  सन् २०१३ मा मलेसियाकी प्रतिष्ठित चिकित्सक जेमिला महमुदलाई प्रदान गरिएको थियो । सन् २०१५ मा दोस्रो अवार्ड भारतका शिक्षाविद् अच्युत सामन्तले र सन् २०१७ मा इजिप्टको चिल्ड्र्ेत क्यान्सर हस्पिटललाई र चौथो अवार्ड पाकिस्तानको प्रतिष्ठित सामाजिक सेवक संस्था इधी फाउन्डेसनलाई प्रदान गरिएको थियो ।

पुरस्का वितरण समारोहमा बहराइन सरकारका मन्त्रीहरु, विशिष्ट आगान्कहरुका साथ बहराईन स्थित नेपालका राजदूत तीर्थराज वाग्ले र मानमास्थित कूटनीतिक समुदायको उपस्थिति रहेको र तेज कोहली ईत फाउण्डेसनका सहअध्यक्ष तेज कोली समेत बेलायतदेखि पुरस्कार समारोहमा पुग्नुभएको तिलगंगा प्रतिष्ठानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्