भण्डारीको स्वास्थ्य अवस्था सुधारोन्मुख



काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको छ । उपचारमा संलग्न चिकित्सकहरूका अनुसार सोमबार परीक्षणका रूपमा भण्डारीको भेन्टिलेटर हटाइएको छ । गत बिहीबारदेखि भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा उपचाररत भण्डारीको स्वास्थ्यमा सुधार आएपछि परीक्षणका रूपमा भेन्टिलेटर हटाइएको उहाँका सहयोगी माधव न्यौपानेले जानकारी दिनुभयो ।

न्यौपानेका अनुसार सोमबार भण्डारीको सबै ‘स्वास्थ्य पारामिटर’ नर्मल रहेको छ । भण्डारीलाई अहिले ज्वरो नआएको र सुन्निएको भागसमेत घट्दै गएको न्यौपानेले जानकारी दिनुभयो ।

गत फागुन ३ गते राति बुद्धनगरस्थित निवासमा ग्यास लिक भई आगलागी हुँदा सांसद भण्डारी र आमा गम्भीर घाइते हुनुभएको थियो । सांसद भण्डारीकी आमाको कीर्तिपुरस्थित अस्पतालमा उपचारका क्रममा गत फागुन ४ गते निधन भएको थियो ।

सोही दिन सांसद भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा लगिएको थियो । अस्पतालमा रहेका कांग्रेस नेता योगराज कँडेलका अनुसार सांसद भण्डारीको प्लेटिलेट्सको मात्रा बढेको छ भने पिसाबको मात्रा नर्मल देखिएको चिकित्सकहरूले जानकारी दिएका छन् । भण्डारीको शरीरमा ज्वरो नभएको र सबै अंगहरूले नर्मल रूपमा काम गरिरहेको जानकारी डाक्टरहरूले दिनुभएको भन्दै कँडेलले भन्नुभयो– ‘अक्सिजन दिन छाडिएको छ । स्वास्थ्य अवस्था सामान्य हुँदै गएको छ ।’

प्रतिक्रिया दिनुहोस्