नेपाल नेत्रज्योति संघ र सिबिएमबीच सम्झौता, नि:शुल्क आँखा तथा कान उपचारमा सहकार्य गर्ने



काठमाडौँ। 

नेपाल नेत्रज्योति संघ र सिबिएम ग्लोबलबिच आपसी सहकार्य गर्ने सम्झौता भएको छ । प्रदेश नम्बर १ र मधेश प्रदेशमा गरिबिको रेखामुनि रहेका आम नागरिकहरुलाई गुणस्तरीय आँखा तथा कान स्वास्थ्य सेवा प्रवाहका लागि दुई संस्थाहरुका बिचमा सम्झौता भएको हो ।

उक्त सम्झौतापत्रमा नेपाल नेत्रज्योति संघका तर्फबाट अध्यक्ष प्रा.डा चेतराज पन्त र सिबिएम ग्लोबलका तर्फबाट कार्यकारी निर्देशक डेभिड बेनब्रिजले हस्ताक्षर गरेका छन् । उक्त कार्यक्रममा नेत्रज्योति संघका महासचिव भरत बहादुर चन्द, सदस्य पद्मनारायण चौधरी तथा सिबिएम ग्लोबलका, कन्ट्री डाइरेक्टर सुरज सिग्देलको उपस्थिति थियो ।

सिबिएम ग्लोबलको सहयोगमा नेत्रज्योति संघको पूर्वाञ्चल क्षेत्रीय आँखा तथा कान उपचार कार्यक्रम मार्फत प्रदेश नम्बर १ र मधेश प्रदेशका सीमान्तकृत समुदायका र गरिबीको रेखामुनि रहेका नागरिकहरुलाई नि:शुल्क रुपमा आँखा तथा कान उपचार सेवा प्रदान गरिने छ ।

दुई संस्थाहरु बिचको सहकार्यमा आँखा तथा कान उपचारको पहुँचबाट टाढा रहेका सो क्षेत्रका नागरिकहरुलाई आँखा अस्पताल, आँखा उपचार केन्द्रहरु तथा बाह्य कार्यक्रम मार्फत उपचार सेवा प्रदान गरिने संघले जनाएको छ ।
नेत्रज्योति संघ र सिबिएम ग्लोबलका बिचमा नेपालमा आँखा उपचार सेवालाई जनताको घर दैलोमै सहज, सुलभ र सस्तो रुपमा गुणस्तरीय सेवा प्रदान गर्न विगत ४० बर्षदेखि सहकार्य भइरहेको छ । ‘हाम्रो ४० बर्षदेखिको सहकार्यमा यो सम्झौताले थप इट्टा थप्ने काम गरेको छ र यो कार्यक्रमको कार्यान्वयनले सो क्षेत्रका नागरिकहरुले आफ्नो घर आँगनमै नि:शुल्क आँखा तथा कान उपचार सेवा प्राप्त गर्नेछन् जसले उनीहरूको आर्थिक सामाजिक जीवनमा ठुलो परिवर्तन ल्याउने हाम्रो विश्वास छ’ नेत्रज्योति संघका कार्यकारी निर्देशक डा.शैलेस कुमार मिश्रले भन्नुभयो ।

सम्झौताको क्रममा बोल्दै सिबिएम ग्लोबलका कन्ट्री डाइरेक्टर सुरज सिग्देलले नेपालको आँखा उपचार र अन्धोपन नियन्त्रणको क्षेत्रमा गरिरहेका उत्कृष्ट काम कै कारण विगत ४० बर्षदेखि विभिन्न कार्यक्रम मार्फत नेत्रज्योति संघसंग सहकार्य गरिरहेको भन्दै उहाँले आगामी दिनहरुमा पनि सहकार्य गर्ने प्रतिबद्धता व्यतm गर्नुभयो ।
सन् २०३० सम्ममा नेपालबाट उपचार पछि निको हुने अन्धोपन निवारण गर्ने नेत्रज्योति संघको लक्ष्यलाई यो सहकार्यले ठुलो सहयोग पुर्‍याउने बताउँछन् नेपाल नेत्रज्योति संघका अध्यक्ष प्रा.डा चेतराज पन्त । अहिले पनि नेपालमा कतिपय जनताहरु आर्थिक अभावकै कारण दृष्टिबिहिनतामा बसिरहेको भन्दै उहाँले यस्तै संघ संस्थाहरुको सहकार्यमा नेपालबाट २०३० सम्ममा उपचार पछि निको हुने अन्धोपनको निवारण हुने विश्वास व्यक्त गर्नुभयो ।

हाल कर्णाली प्रदेशमा नेत्रज्योति संघ र सिबिएमको सहकार्यमा एकीकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रम संचालनमा छ । उक्त कार्यक्रमबाट सन् २०२२ मा मात्र ३ हजार ८० जनाको नि:शुल्क आँखाको शल्यक्रिया गरिएको छ ।

हाल नेत्रज्योति संघले २७ वटा आँखा अस्पताल, १५० वटा आँखा उपचार केन्द्र र ४४ वटा जिल्ला शाखाहरु मार्फत नागरिकहरुलाई सर्वसुलभ र गुणस्तरीय आँखा स्वास्थ्य सेवा प्रवाह गरिरहेको छ । संघले आर्थिक अभावका कारण कोहि पनि नागरिकले दृष्टिविहीन जीवन यापन गर्न बाध्य नहुन भन्ने हेतुले जनताको घर दैलोमै सहज, सुलभ र सस्तो रुपमा गुणस्तरीय सेवा प्रदान गरिरहेको र सोका लागि विभिन्न निकायहरुसंगको साझेदारीमा उज्यालो अभियान कार्यक्रम समेत सञ्चालन गदै आएको छ जसबाट धेरै गरिबीको रेखामुनि नेपाली नागरिकहरुले नि:शुल्क आँखा जाँच तथा शल्यक्रिया सेवा समेत पाइरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्