डडेल्धुराका वाङ्घाट र सिसमझाला सीमा नाका बन्द



डडेल्धुरा । डडेल्धुराको भित्रिमधेस क्षेत्रमा पर्ने दुई वटा नेपाल–भारत सीमा नाका बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय डडेल्धुराले परशुराम नगरपालिका–५ परिगाउँस्थित बाङघाट नाका र वडा नम्बर–६ स्थित सिसमझाला सीमा नाका बन्द गराएको हो ।

डडेल्धुराका प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेले असुरक्षित तरिकाले नाका चलाउन नमिल्ने भन्दै बन्द गरिएको बताउनु भयो । ‘त्यो गैरकानुनी हो, नेपाल–भारतको बोर्डर खोल्न त्यहाँ भन्सार राख्नुपर्छ, पुल हुनुपर्छ । त्यस्तो असुरक्षित किसिमले नाका चलाउन मिल्दैन,’ उहाँले भन्नुभयो । प्रजिअ न्यौपानेले अनौपचारिक हिसाबले चलेको भए पनि असुरक्षाका हिसाबले दुवै सीमा नाकाहरु बन्द गरिएको जानकारी दिनुभयो ।

तर स्थानीय बासिन्दाहरुले भने प्रशासनको निर्णयमा आपत्ति जनाएका छन् । भित्रिमधेसका बासिन्दाले दुवै नाका मार्फत् डुङ्गा चढेर महाकाली नदी तर्दै भारतीय बजार टनकपुरबाट दैनिक उपभोग्य सामग्री ल्याउने गरेका थिए । परशुराम नगरपालिकामा मात्रै झन्डै ४० हजार जनसंख्या रहेको छ भने आलिताल गाउँपालिकाका बासिन्दाहरूसमेत भारत जान परशुरामका दुवै नाका प्रयोग गर्छन् ।

सशस्त्र द्वन्द्वका बेला विस्थापित परशुराम नगरपालिका–५ र ६ मा रहेका छोटी भन्सार कार्यालय पुनस्र्थापना गर्न पहल गर्नुको साटो सीमा नाकाहरु बन्द गरेर दुःख दिने काम गरेको जिल्ला प्रशासन कार्यालयले गरेको स्थानीय रमेश चन्दले गुनासो गर्नुभयो । परशुराम नगरपालिका–५, ६, ७ र ८ नम्बर वडाबाट नगरपालिकाको मुकाम लालढुङ्गा बजार आउनुभन्दा भारतीय बजार टनकपुर नजिक पर्छ ।

गाउँबस्तीमा उत्पादित कृषि उपज, पशुजन्य वस्तु स्थानीयले भारतीय बजारमा बिक्री गरेर आवश्यक वस्तु खरिद गर्न सहज हुने गरेकोमा सीमा नाका बन्द हुँदा ओहोरदोहोरसँगै किनमेल ठप्प भएको स्थानीयको गुनासो छ । समान्य विरामी हुँदा पनि भारतीय अस्पताल पुगेर उपचार गर्नुपर्ने बाध्यता रहेको स्थानीय बताउँछन् ।

पञ्चायतकालदेखि अस्थायी छोटी भन्सार राखेर सञ्चालनमा रहेका नाकाहरु सशस्त्र द्वन्द्वका क्रममा असुरक्षाका कारण कञ्चनपुर भन्सार कार्यालय मातहतका दुई वटा छोटी भन्सार कार्यालय हटाइएको थियो । छोटी भन्सार कार्यालय पुर्नस्थापना गरेर अविलम्ब सिमा नाका खुला नगरिएमा स्थानीयले कडा आन्दोलन गर्ने तयारी गरिरहेको स्थानीय अगुवा आँशु भण्डारीले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्