शान्त र बौद्धिक शासकको खोजी



गएको हप्ता चितवनका किसानहरूले आफूले उत्पादन गरेका तरकारीहरूले भारतीय तरकारीसँग प्रतिस्पर्धा गर्न नसकी बिक्री नभएका कारण सडकमा फ्याँकेर विरोध प्रदर्शन गरे । धेरैलाई यो दृश्यले तान्यो तर सरकारले यस विषयमा कुनै ठोस रणनीति अख्तियार गर्न सकेको खबर बाहिर आएन । तथ्याङ्कले भन्छ– ‘गएको ६ महिनामा भारतबाट विभिन्न प्रकारका हरियो र अन्य जातका गरी १६ अर्ब रुपियाँको तरकारी नेपाल भित्रिएको छ, जसको प्रत्यक्ष असर पर्ने नेपाली साना र मझ्यौला किसानहरू नै हुन् ।’

त्यस्तै अर्को तथ्याङ्कले भन्छ– ‘नेपालीहरू यतिसम्म भाते भैसके कि चामलसमेत विदेशबाट किनेर खाने भैसके । देशको धानचामलले यतिखेर नेपालीलाई खान पुग्दैन । वार्षिक १४ अर्ब बराबरको चामल छिमेकी देश भारतबाट मात्रै स्वदेश भित्रिने गर्छ ।’ यी दुई तथ्याङ्कलाई एकापसमा केलाउँदा नै थाहा हुन्छ कि देश कस्तो अवस्थाबाट गुज्रिरहेको छ ?

वार्षिक बजेट निर्माणमा कृषि क्षेत्रको उल्लेख्य योगदान छ भनिन्छ तर कृषि क्षेत्रका करिब ७० देखि ८० उत्पादनहरूलाई कुनै किसिमको प्रमोट गरिँदैन । सात रुपियाँ किलो नेपाली गोलभेंडा बिक्री नभएर बिचौलियाको मारमा पारी बजार पुग्छ, उता उपभोक्ताले भने किलोको ५० रुपियाँ तिर्नुपर्छ । योभन्दा विडम्बना अरू के हुन्छ ? नेपाली भान्सामा चाइनिज गुन्द्रुक, भारतीय न्युट्रेला र विदेशी करेलाका सुकुटीबाट अचार बनाइन्छ । रैथाने बाली, अर्गेनिक उत्पादन र स्थानीयतालाई कुनै प्रकारको संरक्षण छैन ।

देशमा ठूल्ठूला राजनीतिक इसु र सरकार परिवर्तनका लागि दिनहुँजसो मिडियाबाजी भैरहन्छन् । माइतीघर मण्डला र विरोध प्रदर्शनका अन्य स्थानहरूमा राष्ट्रिय पार्टीहरूकै भ्रातृ संगठनहरूले विरोध गरिरहेका हुन्छन् तर माथि उल्लेख गरिएका यस्ता जनताको पेट, आय र भान्सासँग सोझो सम्बन्ध राख्ने कुरामा कुनै बहस गरिँदैन । देशको सबैभन्दा तल्लो तहमा रहेर भुइँ मान्छेको परिचयमा आर्थिक उपार्जनका कुरामा लागिरहने र उत्पादनले देशलाई केही भए पनि समृद्धि र विकासका लागि योगदान गरिरहने कृषकहरू यो देशमा उहिल्यैदेखि उपहासका पात्र थिए । बरू पञ्चायतमा ‘उत्तम खेती, मध्यम बेपार र निर्घिणी जागिर’ भन्ने उखान प्रचलन थियो । त्यो पनि अब हरायो । अहिले ‘उत्तम बेपार, मध्यम जागिर र निर्घिणी खेती’ भन्ने उखान नयाँ रूपमा आएको छ । जबकि किसानलाई उसको कर्तव्य र उत्पादनका लागि शास्त्रले समेत ‘पञ्चपिता’का रूपमा राखेर उच्च सम्मान दिएको छ । हामीले शक्ति र सत्ताका आधारमा कम शक्ति भएका व्यक्ति वा प्रवृत्तिको सम्मान गर्ने परम्परा छोडिदिएका कारण यस्तो अवस्था आयो । अब यसमा नयाँ शिराबाट बहस आरम्भ भएन र देशभित्रै कृषि उत्पादनलाई वैज्ञानिक रूपले भरथेग गरिएन भने हामी कृषि उपजसमेत आयात गरेर बाँच्ने देशका रूपमा दरिन बेर लाग्दैन । अहिलेको अवस्थाले यही कुरा देखाउँछ ।

देशमा अहिलेसम्म कुनै मल कारखाना छैनन् । अग्र्यानिक खेती किसानीका लागि कुनै प्रकारका पद्धतिहरूको विकास भएको छैन । किसानहरूले आ–आफूले गरेका पारम्परिक केही शैलीले धानिएको अग्र्यानिक खेती प्रविधिले सारा देशको माग÷आपूर्ति धान्न सक्ने अवस्था विद्यमान छैन । यसो हुनुमा हाम्रा नीतिनिर्माता र शासकहरू कमजोर भएर हो । चुनावको शैली बेढङ्गी र बेपर्वाह किसिमले पैसा खर्च गर्नुपर्ने खाले छ । यसो हुँदा हरेक उम्मेदवारहरूको चुनावमा भएभरको पैसा स्वाहा हुन्छ, जसले गर्दा ऊ संसद् छिरेपछि यो वा त्यो दलको बैसाखी भएरै येनकेन प्रकारेण सरकारमा सामेल हुन चाहन्छ । सरकार भनेको उसले नीतिनिर्माण तहमा गएर काम गर्ने अनि हरेक निर्णयमा भ्रष्टाचार गर्न पाइने सुविधा देख्छ । नत्र अहिले पनि देशमा शिक्षा र स्वास्थ्यजस्ता मन्त्रालय लिनका लागि कुनै राजनीतिक दलका नेताहरू तात्दैनन् । यसो किन हुन्छ भन्दा तिनीहरूमा जिम्मेवारी मात्र बढी तर जश कम छ । कमाउ धन्दा राम्ररी फस्टाउन नसक्ने भएर मन्त्रालय बाँडफाँडमा नेता पछिपछि सर्ने गरेका देखिन्छन् ।

चुनावहरू सकिए । एक प्रकारले देशले यो अवस्थामा अब उत्पादनलाई प्राथमिकतामा राख्दै फेरि नयाँ स्पिडका साथ कुद्नुपर्ने थियो तर त्यस्तो अवस्था देखिएन । हिजो चुनावअघि एउटा गठबन्धन थियो, अहिले चुनावपछि अर्को गठबन्धन छ । लाग्छ, देशमा अब सबै विचार, सिद्धान्त र मूल्यमान्यता मटियामेट भैसकेर मात्र गठबन्धन संस्कृति बँचेको छ । गठबन्धन विधि, प्रक्रिया र विचार मिल्नेसँग नभएर जहिले, जोसँग र जतिखेर पनि हुने देखियो । चुनावअघिका नेकपा एमालेका अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड लगभग पानी बाराबारको स्थितिमा देखिन्थे तर जब सरकार गठनको अवस्था आयो अनि एकाएक ती दुई सुप्रिमोलाई कसैले एकछिन्मै मिलाइदियो । चुनावअघिका गठबन्धनका प्रचण्डका प्रिय मित्र नेपाली कांग्रेसका सभापतिलाई कसैले सूत्रधारको भूमिका प्रयोग गरी टाढा बनाइदियो । त्यो मित्रतामा ‘चार दिनकी चाँदनी फिर अँधेरी रात’ भनेझैँ भयो भने प्रचण्ड उछिट्टिएर बालकोटे बाका बार्दलीमा पुगे । हिजो सिंहदरबारबाट दुवैको पानी बाराबार भएको थियो, आज फेरि देशी–विदेशी तत्वका सहयोगमा सत्तालाई अकण्टक भोग गर्ने लिखित–अलिखित सहमतिमा ओलीले प्रचण्डलाई मागेको कार्यकारी प्रधानमन्त्री पद दिए र मेल भयो ।

यहाँनेर एउटा पुरानो कथा आकर्षित हुन खोज्छ । राणाकालमा उहिल्यै श्री ३ चन्द्र शमशेर सिन्धुली जिल्लाको भ्रमणमा निस्केका रहेछन् । उनको पूर्व २ नम्बर सिन्धुली, रामेछाप र दोलखा हुँदै काठमाडौँ फिर्तीको कार्यक्रम बनेको रहेछ । तिनताक सुनकोशी र तामाकोशी नदीमा झोलुङ्गे पुल थिए । अझ कतै–कतै त तुइन मात्र थिए । जब राणाजी सिन्धुलीको खुर्कोट आइपुगे अनि रामेछाप हुलाक डाँडातिरका केही स्थानीय तामाङ र रामेछाप बाबियाखर्कतिरका घिमिरे बाहुनहरूसमेत राणाजीको स्वागतका लागि स्वस्ती गाउँदै पुगेछन् । हतारमा जाँदा बाबियाखर्कतिरका घिमिरे बाहुनले स्वागतका लागि कोसेली लैजानै भुलेछन् भने हुलाक डाँडातिरका तामाङ दाइले भने एक टिन भैँसीको घिउ बोकाएर पुगेछन् । कसो–कसो दर्शन भेटमा पालो मिलाउँदा घिमिरे बाहुन अघि लाग्ने मौका आएछ । धर्मे नाउँका ती तामाङ दाइ पछि परेछन् । ‘मौका आउँछ पर्खंदैन, बगेको खोलो फर्कंदैन’ भनेझैँ स्वस्ती गाउँदै ती घिमिरे बाहुनले श्री ३ मा कोसेली भेट गरेछन् । कसैले यो दृश्य पछि बसेर हेरिरहेको थियो अनि अचानक भनिदिएछ– ‘धर्मेका घिउमा उदयनारायणको स्वस्ती ।’ अहिले नेपालको राजनीतिमा भएको यस्तै हो ।

चुनावअघि कांग्रेसका केही नेताहरूले जनतासँग दश औंला जोडेर बिन्ती बिसाउँदा मैदानमा ‘नेपाली कांग्रेस भनेको माओवादी हो, माओवादी भनेको नेपाली कांग्रेस हो’ भनेर लालीका पित्र गाएर भोट मागेको अझै मतदाताले झल्झली सम्झिरहकै छन् तर समयले केही दिन, महिना र हप्तामै पल्टा मारेर कांग्रेस र माओवादीलाई तत्कालका लागि नदीका दुई किनारा बनायो । ‘धर्मेको घिउमा उदयनारायणको स्वस्ती’ गरेर चाकरी बजाउने काम ऊ बेला भएको थियो भने यतिखेर त्यो उदयनारायण भूमिकामा नेकपा एमालेका केपी ओली देखिए । गठबन्धनले कत्रो मिहिनेत गरेर बनाएको जनाधार र सरकार गठनका लागि निर्माण गरेको खाकामा एकाएक राजनीतिक पासा फ्याँकेर अहिले कांग्रेसलाई घरको न घाटको बनाइदिनसक्नु भनेको कम चानचुने होइन ।

विद्यमान रानजीतिक घटना र परिघटनामा देखिएका राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारमा गमन र बर्हिगमन, रवि लामिछानेको नागरिकता र अब फेरि उठ्न लागिरहेको दोहोरो राहदानी प्रकरण मुद्दा, सरकारबाट बाहिरिन लाग्दा रवि लामिछानेले नेपाली मिडियाका १२ भाइहरूमा लगाएको सङ्गीन आरोप, राष्ट्रपतिको चुनावलाई उपयोग गर्नैका लागि एमाले अध्यक्ष ओलीले रविलाई आफ्नो क्याम्पमै रोकिराख्नका लागि गरेका भरमग्दुर प्रयास, वैकल्पिक राजनीतिक शक्ति हौं भन्नेहरूलाई नेपालका पुराना र ठूला दलले उनीहरूको कमजोरीमा प्रहार गरी आफू अनुकूल फाइदाका लागि राजनीति गरेर दाएको सन्दर्भलाई मिहीन विश्लेषण गर्दा अझै पनि देशले शान्त र बौद्धिक शासक नपाएको महसुस भैरहेको छ ।

यसो हुनुमा केही प्रतिशत दोष सचेत जनता र मतदाताहरूमा समेत रहेको पाइन्छ । जब–जब यो देशमा कुनै राजनीतिक पार्टीको बहुमत आउँदैन अनि त्यो बेला विचारको राजनीति मुर्झाएर राजनीतिक स्टन्टबाजीको प्रदर्शन बन्न जान्छ । अहिले भएको त्यही हो । अबका आगामी दिनमा समेत बहुमतको सरकार बनेर राजनीति अघि जाने सम्भावना कम्तीमा यो पाँचबर्से संसद्को कार्यकालमा देखिने छाँट छैन । यसो हुनु भनेकै जनताले बाँडिएर मत विभाजन गरी मत सुम्पनुको परिणाम हो ।

अर्को पटकको चुनावसम्म वैकल्पिक राजनीतिको सान र अवसान के हुन्छ, त्यो अहिल्यै भन्न सकिने स्थिति छैन तर वर्तमान अवस्थालाई मध्यनजर गरेर हेरेका खण्डमा बौद्धिक राजनीतिज्ञ भनेर चिनिएका डा. बाबुराम भट्टराईले खेलेको भूमिका र उनले खोलेका राजनीतिक पार्टीहरूको अवस्थालाई हेर्दासमेत नेपालमा वैकल्पिक राजनीतिको उठान सही तवरले हुन नसकेको भान हुन्छ । बीचमा केही वर्ष रवीन्द्र मिश्रजस्ता बौद्धिक, राष्ट्रवादी र सफा शैली भएका व्यक्तिहरूले केही समय जनतालाई मीठा–मीठा सपना र बौद्धिकता बाँड्ने काम नगरेका होइनन् तर उज्ज्वल थापाको असमयमै भएको अवसानले गर्दा र साझा एवम् विवेकशीलमा आएको फुटले गर्दा वैकल्पिक राजनीतिको जरैसमेत हल्लने गरी त्यो धार हल्लियो । पछि रवि लामिछाने एकाएक राजनीतिक बजारलाई तताएर नेपाली आकाशमा उदाए । देश–विदेशमा उनको चर्चा÷परिचर्चा ह्वात्तै बढ्यो । सोचेभन्दा धेरै मत र धेरै सिट ल्याएर उनी संसद् छिरे । तर, वास्तवमा उनले समय र परिस्थितिको आँकलन गर्न जानेनन् । उनलाई मतदाताले विपक्षी बेन्चमा बस्न अभिमत दिएका थिए । उनले समयको गलत व्याख्या गरेर राजनीति भनेको सत्ता र सत्ता भनेकै राजनीति भनेझैँ गरेर सरकारमा इन्ट्री गरे । खल्ली शासकहरू भावनामा बहने र उत्तेजक राजनीति गर्नेहरूका काँधमा बन्दुक राखेर बकाइदा पड्काउन बानी परेकालाई शान्त र बौद्धिक उदीयमान नेताभन्दा जोश, भाषण कलामा माहिर र केही नयाँ स्टन्ट गर्न सक्ने मानिसहरूकै खाँचो परिरहेको हुने रहेछ । यो कुरा रविहरूजस्ताले एकपटकको संसद् पद जित हासिल गरेर बुझ्न सक्नु फलामकै चिउरा चबाउनुसरह थियो भन्ने कुरा अहिले घटेका राजनीतिक घटनाले फरर्र बताइरहेका छन् । मुलुकमा स–साना कामको खाँचो रहेको छ, त्यो शालीन शासकबाटै मात्र सम्भव छ ।

प्रतिक्रिया दिनुहोस्