अध्यक्षमा तीन जनाको दाबी

अनेरास्ववियुको भोलीदेखि २३ औ महाअधिवेशन



काठमाडौं । नेकपा एमाले निकट अनेरास्ववियुको २३औं महाधिवेशनमा अध्यक्ष र पदाधिकारीसहित करिब ४ सय आकांक्षीले चुनाव प्रतिस्पर्धा गर्ने तयारी गरेका छन् । भोलि मंगलबारबाट शुरु हुने महाधिवेशनमा १ हजार ५ सय ७९ जनाले कार्यसमिति चयन गर्दै छन् ।

१ सय ९९ कार्यसमितिमा १७ सदस्यीय पदाधिकारी हुनेछ । जसमा अध्यक्ष, महासचिव, कोषाध्यक्ष, उपाध्यक्ष ४ र सचिव १० रहनेछन् । कार्यसमितिमा ६६ सदस्यीय स्थायी कमिटी हुनेछ । महाधिवेशनमा पदाधिकारीको आकांक्षीको संख्या झन्डै सयभन्दा बढी छ ।

अनेरास्ववियुका अध्यक्ष सुनिता बरालले महाधिवेशनको सबै तयारी पूरा भइसकेको बताउनुभयो । महाधिवेशनमा अध्यक्ष, उपाध्यक्ष, महासचिव र सचिवका प्रतिस्पर्धी बढी देखिएका छन् । अध्यक्षमा वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने, उपाध्यक्ष झपिन्द्र खत्री, महासचिव समिक बडाललगायत आकांक्षी छन् । तीनै जनाले आफू निकटका नेतासँग भेटघाट शुरु गरेका छन् । वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने आरआर, बडाल त्रिचन्द्र र खत्री पाटन संयुक्त क्याम्पसबाट विद्यार्थी राजनीतिमा लागेका हुन् ।

४ जना उपाध्यक्षका लागि मर्यादा विष्ट, सुजन भट्टराई, रामशरण चौधरी, सूर्य रोकाया, एलबी सिंह, खेम मरासिनी, तपेन्द्रजंग शाहीले प्रतिस्पर्धा गर्ने देखिएको छ । उपाध्यक्षमा धेरैको आकांक्षा भए पनि ७ जना मुख्य प्रतिस्पर्धीका रुपमा अघि बढेका छन् ।

महासचिवमा उपमहासचिव कल्पना वाइवा, नारायण घर्ती, भाष्कर खनाल, नरेश रोकाया, सुदर्शन शिवाकोटी, नारायण घर्ती, गोविन्द गिरी, सचिव धर्म गिरीले महासचिवका लागि दाबी गर्नुभएको छ । कोषाध्यक्षमा प्रज्वल फुयाँल, जितबहादुर रोकाया, सुजन कार्की, प्रदीप जिसीले दाबी गरेका छन् । ३ महिला सचिवका लागि अञ्जना शिवाकोटी, सजिना थापामगर, विनिता काफ्ले, रीता ढकाल, अञ्जु पाण्डे आकांक्षी रहनुभएको छ ।

४ पुरुष सचिवका लागि सरोज पोखरेल, सन्तोष रानामगर, प्रकाश पौडेल, पंकज भण्डारी, सन्तोष पौडेल, मनोज चाम्लिङ, रवि मिश्र, वीरेन्द्र रावल, दीपेन्द्र प्रसार्इं, घनश्याम पुन, मनोज राई, नवराज ढकाल, जयराम बास्तोला, गोविन्द थपलिया, वीरेन्द्र रावललगायतले आकांक्षा देखाउनुभएको छ ।

अनेरास्ववियुले महाअधिवेशनमा विद्युतीय भोटिङ मेसिनको प्रयोग गर्ने भएको छ । अध्यक्ष सुनिता बरालले नेतृत्व चयन हुन नसके निर्वाचन प्रणालीमा जाने तयारी रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘सकभर माथिल्लो पोस्टमा सहमतिको प्रयास गर्नेछौं, नभए मतदान गर्नेछौं ।’ उहाँले आयोगमा अध्यक्ष र सचिवसहित १५ जनाको टिम रहने जानकारी दिँदै भन्नुभयो– ‘हामीले प्रविधिमैत्री संगठन र विद्यार्थीको हितका लागि आजको मनोभावनाअनुसार चल्नेछौं ।’

अनेरास्ववियुको महाधिवेशन फागुन २ देखि ३ गतेसम्म काठमाडौंमा हुँदै छ । महाधिवेशनको पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । महाअधिवेशनमा सहभागी हुन देशैभरका विद्यार्थी नेता राजधानी आउने क्रम जारी रहेको अनेरास्ववियुले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्