चिकित्सक आन्दोलित : ओपीडी सेवा बन्द, सरकारी अस्पतालद्वारा मध्यमार्गी बाटोबाट सेवा प्रवाह



काठमाडौं । नेपाल चिकित्सक संघले आकस्मिक रूपमा ओपीडी सेवाहरू बन्दको आव्हान गरेपछि सरकारी अस्पतालहरूले भने मध्यमार्गी बाटोबाट सेवा प्रवाह गरेका छन् ।

आज (आइतबार) उक्त संघले देशभरका अस्पतालहरूमा इमर्जेन्सीबाहेकका सबै सेवा ठप्प पार्ने हठात निर्णय गरेपछि प्रमुख सरकारी अस्पतालहरूले सेवा प्रवाहका लागि मध्यमार्गी बाटो रोजेका हुन् ।

विरामीहरू स्वास्थ्य सेवाबाट बञ्चित हुन नपरोस भनेर सरकारी अस्पतालहरूले इमर्जेन्सी टिकट काटेर अस्पताल पुगेका विरामीहरूलाई ओपीडी सेवा प्रवाह गर्न थालेका छन् ।

गंगालाल हृदय रोग केन्द्रले भने ओपीडीबाटै सेवा प्रदान गरिरहेको छ । त्रिवि शिक्षण अस्पतालले ओपीडीमा आउने नयाँ विर्राीलाई इमर्जेन्सी टिकट दिएर सेवा दिइरहेको छ भने फ्लोअपमा आउने विरामीलाई नियमित रूपमा सेवा दिइरहेको अस्पतालका निर्देशक डा. दिनेश काफ्लेले जानकारी दिए ।

उनका अनुसार, तालिकाअनुसार गरिने नियमित शल्यक्रिया, ल्याब परीक्षण र अन्य जाँच सेवाहरू नियमित रूपमा चलिरहेका छन् । त्यस्तै कान्ति बाल अस्पतालका निर्देशक डा. युवानीधि बसौलाकाअनुसार अस्पतालले आएका उपचारका लागि आएका विरामीलाई नफर्काउने गरी सेवा प्रदान गरिरहेको छ ।

‘हामीले आएका विरामीलाई फर्काएका छैनौँ । ओपीडी सेवा बन्द छ । तर, इमर्जेन्सीको टिकट लिएर बिरामीलाई सेवा प्रदान गरिरहेका छौं,’ उनले भने ।

परोपकार प्रसूती गृहले पनि नियमित रूपमा सेवा प्रदान गरिरहेको छ । अस्पतालका निर्देशक डा. पवनजंग रायमाझीकाअनुसार अन्य दिनभन्दा विरामी केही कम आएतापनि ओपीडी कक्षबाटै विरामीलाई सेवा प्रवाह भइरहेको छ ।

‘हाम्रो फरक प्रकृतिको अस्पताल हो । गर्भवती महिलाहरुलाई सेवा दिने भएकाले फर्काउन सकिँदैन,’ उनले भने, ‘ठाउँ पनि सानो भएकाले हामीले ओपीडी कक्षबाटै सेवा दिइरहेका छौं ।’

वीर अस्पतालका प्रमुख कार्यकारी अधिकारी डा. भुपेन्द्र बस्नेतले गम्भीर प्रकृतिका विरामीहरूलाई नफर्काएर उपचार दिइरहेको बताए ।

‘हामीले गम्भीर प्रकृतिका अर्जेन्ट विरामीलाई इमर्जेन्सीमार्फत सेवा दिईरहेका छौं,’ उनले भने, ‘यसअघि तय भएका शल्यक्रियाहरू पनि नियमित भइरहेका छन् ।’

डा. बस्नेतकाअनुसार अरू दिनको तुलनामा पनि अस्पतालमा आउने विरामीको संख्या भने कम छ । २७ माघमा राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा राष्ट्रिय ट्रमा सेन्टरका सर्जन डा. जनिथ सिंहमाथि प्रहरीले लाठी चार्ज गरेको थियो ।

प्रहरीको लाठी चार्जबाट डा. सिंह गम्भीर घाइते भएका थिए । त्यसपछि चिकित्सकले दोषीलाई कारबाही गर्नुपर्ने लगायतका माग राखेर आन्दोलनमा उत्रिएका छन् ।

प्रतिक्रिया दिनुहोस्