अवरुद्ध विद्युत् खरिद सम्झौता खुल्यो



काठमाडौं ।

नेपाल विद्युत प्राधिकरणले नदी प्रवाही (आरओआर) जलविद्युत् आयोजनाहरुको १५ सय मेगावाटसम्मको विद्युत खरिद गर्ने भएको छ ।

उपप्रधानमन्त्री एवम् ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री राजेन्द्रप्रसाद लिङ्देनको अध्यक्षतामा बिहीबार बसेको प्राधिकरण सञ्चालक समितिको ९३० औं बैठकले ग्रिड आबद्ध सम्झौता मितिको रोलक्रमका आधारमा आरओआर आयोजनाहरुको १५ सय मेगावाटसम्मको पिपिए गर्ने निर्णय गरेको छ ।

उक्त आयोजनाहरुको विद्युत् ‘लेऊ या तिर’ सिद्धान्तका आधारमा खरिद गरिने छ । आयोजनाहरुको विद्युत् सुक्खायाम १६ मंसिर–१५ जेठर वर्षायाम १६ जेठ–१५ मंसिरका लागि हाल कायम रहेको दर रु ८/४० र ४/८० प्रतियुनिटमा खरिद हुने छ ।

प्राधिकरणको यही माघ १८ गतेसम्मको विवरण अनुसार, १३६ आयोजनाहरुसँग ३ हजार १ सय ९२ मेगावाटको कनेक्सन सम्झौता गरिएको छ । कनेक्सन सम्झौता गरिएको मितिको रोलक्रमका आधारमा विद्युत खरिद बिक्री दरलगायतका सम्पूर्ण प्रावधान यथावत रहने गरी आरओआर आयोजनाहरुसँग थप १५ सय मेगावाटको पिपिए गरिने छ ।

प्रतिक्रिया दिनुहोस्