विदेशी फिल्म चल्ने, नेपाली फिल्म नचल्ने कारण के हो ? : सञ्चारमन्त्री शर्मा



सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले फिल्मकर्मीसँग विदेशी फिल्म महिनौँ चल्ने तर नेपाली फिल्म एक दिन नचल्ने अवस्था किन छ भन्ने जिज्ञासा रोखेकी छन् ।

नेपाल चलचित्र निर्देशक समाजले यूएनडीपीसँगको संयुक्त आयोजनामा मंगलबार शुरु गरेको कोडिङ क्लाइमेट चेन्ज इन्टु फिल्मस् शीर्षकको दुई दिने गोष्ठीको शुभारम्भ गर्दै उनले विदेशी फिल्म चल्ने र नेपाली फिल्म नचल्ने कारण पहिल्याउन जरुरी रहेको बताइन् ।

मैले फिल्म उति सारो बुझेको छैन, तर प्रशस्त हेरेकी छ । अरुका फिल्म चल्ने तर हाम्रा फिल्म नचल्ने अवस्था छ । नेपाली फिल्म चलाउन चलचित्र विकास बोर्डले के गर्नुपर्ने हो र मन्त्रालयले के गर्न पर्ने हो, छलफल गरौँ । तर, यो अवस्थाको अन्त्य हुन जरुरी छ, मन्त्री शर्माले जोड दिइन्। मन्त्री शर्माले नेपाली फिल्मले संख्या भन्दा पनि गुणस्तर बढाउने गरी काम गर्नुपर्ने र जलवायु परिवर्तनजस्ता विषयमा हुने छलफलले विषयवस्तुमा विविधीकरण हुने चर्चा गरिन्। ‘समाज तथा राजनीतिक परिवर्तनका लागि पनि नेपालमा गीत–संगीत र फिल्मको ठूलो योगदान छ’ मन्त्री शर्माको भनाइ थियो ‘अहिले जलवायु परिवर्तनका मुद्दालाई जनतासम्म पु¥याउन पनि सिनेमाको माध्यम उपयोगी हुन्छ । अहिले माघमै गर्मी भएको छ, यसको कारण के हो, हामी पर्दामा हेर्न उत्सुक छौँ ।’ मन्त्री शर्माले कुनै समय आफू पनि भारतीय फिल्म बन्द गर्ने मोर्चाको अग्रभागमा रहेको स्मरण गर्दै अहिले अरुलाई निषेध गर्नेभन्दा पनि प्रतिस्पर्धा गरेर जाने समय भएकोले नेपाली फिल्म पनि प्रतिस्पर्धी बन्नुपर्ने बताइन् ।

यसका लागि मन्त्रालयबाट गर्नुपर्ने नीतिगत काम आफूले अघि बढाउने जनाउँदै उनले चलचित्र ऐन संसद्मा लैजाने तयारी गरिरहेको जानकारी दिइन्। बुढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा मंगलबारदेखि शुरु भएको सेमिनारमा पहिलो दिन सहभागी लेखक तथा निर्देशकले जलवायु परिवर्तन र यसका असरका सम्बन्धमा जानकारी लिएका थिए ।

पहिलो दिन यूएनडीपीका प्रतिनिधि दीपक केसीले विश्वमा जलवायु परिवर्तनको अवस्था र नेपालमा यसले पारिरहेको असरका बारेमा प्रस्तुति दिएका थिए । कार्यक्रममा युएनडीपीकी नेपाली प्रतिनिधि आइसानी लोबे, यूएनडीपीकै सञ्चार प्रमुख कमल सिग्देल र फिल्मकर्मी नीर शाहले जलवायु परिवर्तनको भयावह अवस्था प्रस्तुत गरेका थिए। बुधबार अघिल्लो दिन मंगलबार छलफल भएका मुद्दालाई फिल्मका कथा तथा प्रस्तुतिमा समेट्न सहभागी लेखक तथा निर्देशकबाट राय सुझाव लिइएको थियो । गोष्ठीमा तीन दर्जन लेखक तथा निर्देशकको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्