सुदूरपश्चिम सरकार ढल्ने सम्भावना, प्रतिपक्षी दल कांग्रेसको सरकार बन्न सक्ने



काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत पाउने सम्भावना टर्दै गएको छ । उक्त प्रदेश सभाको निर्णायक दल नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले विश्वासको मत नदिने निर्णय गरेसँगै रावलले विश्वासको मत पाउने सम्भावना टर्दै गएको हो ।

आज (बुधबार) बिहान विश्वासको मत प्रयोजनाका लागि प्रदेश सभाको बैठक बोलाइएको छ । तथापि उक्त सभाको बैठकमा यसअघि नै नाउपाले उपस्थित नहुने बताईसकेको छ ।

‘हाम्रो माग सम्बोधन नभएसम्म हामी सरकारमा सहभागी नहुने यसअघि नै निर्णय गरिसकेका छौँ । यसका साथै हामी सुदूरपश्चिम सरकारलाई विश्वासको मत पनि नदिने निष्कर्षमा पुगिसकेका छौँ । यसअघि रेशम चौधरीलाई माघ महिनाभित्रै जेलमुक्त गर्ने निर्णय भएको थियो । सो निर्णय कार्यान्वयन भएको छैन । जबसम्म यो निर्णय कार्यान्वयन हुँदैन, तबसम्म हामी सरकारमा पनि सहभागी हुँदैनौँ र विश्वासको मत दिने कुरा पनि हुँदैन भन्छिन्,’ नाउपा अध्यक्ष– रञ्जिता श्रेष्ठ ।

नाउपाले सरकारलाई विश्वासको मत नदिने निष्कर्षमा पुगेसँगै मुख्यमन्त्री रावलले विश्वासको मत नपाउने पक्का भएको छ । रावलले भोलि (बिहीबार)सम्म विश्वासको मत लिइसक्नुपर्ने छ ।

सुदुरपश्चिम प्रदेशमा नेकपा (एमाले)का १०, माओवादी केन्द्रका ११, नागरिक उन्मुक्ति पार्टीका ७ र राप्रपाका १ गरी कूल २९ जना प्रदेसभा सदस्यको समर्थनमा मुख्यमन्त्री रावल नियुक्त भएका थिए ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा रावलले विश्वासको मत पाउन कम्तिमा २७ जना प्रदेश सभा सदस्यको साथ आवश्यक छ । यस प्रदेशमा कांग्रेसका १९ र नेकपा (एकीकृत समाजवादी)का ४ जना प्रदेश सभा सदस्य छन् ।

सुदूरपश्चिम प्रदेश सभाको सबैभन्दा ठूलो दल प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस हो । १ जना स्वतन्त्र प्रदेशसभा सदस्य भने विपक्षमा छन् ।

नाउपाका ७ सांसदले विश्वासको मत नदिने निष्कर्षमा पुगेसँगै मुख्यमन्त्री रावल अल्पमतमा परेरका छन् । योसँगै उनको सरकार ढल्ने निश्चित छ ।

रावलको सरकार ढलेसँगै संविधानको धारा १६८ (३) अनुसार मन्त्रिपरिषद् पुनर्गठन हुनेछ । जसअनुसार सबैभन्दा ठूलो दल कांग्रेस संसदीय दलका नेता कमल शाह मुख्यमन्त्री बन्नेछन् ।

प्रतिक्रिया दिनुहोस्