निर्माता संघको ज्ञापनपत्रमा चलचित्र संघको आपत्ति



नेपाल चलचित्र संघ र नेपाल चलचित्र निर्माता संघबीच व्यावसायिक विषयलाई लिएर दुवै संघले कार्यदल गठन गरी वार्ता र छलफल सकारात्मक रूपमा अघि बढिरहेको अवस्थामा निर्माता संघले एकपक्षीय र हठात् रूपमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई ज्ञापनपत्र बुझाएको भन्दै चलचित्र संघले आपत्ति जनाएको छ ।

‘सकारात्मक निष्कर्षको विन्दुमा पुग्ने अवस्थामा रहेको बखत निर्माता संघले चलचित्र संघका सदस्यलाई विदेशी मुद्रा अपचलन गर्ने, राज्य कोष दोहन गर्ने, हुण्डी कारोबारलाई प्रोत्साहन दिनुका साथै आपराधिक कार्यमा संलग्न रहेको जस्तो गम्भीर, आपत्तिजनक, भ्रमपूर्ण र व्यवसायिक नैतिकताविरुद्धको आरोप लगाई मन्त्रीसमक्ष ज्ञापनपत्र बुझाएकोमा यस संघको घोर आपत्ति छ ।

सो आरोप खारेज गर्दै खेद प्रकट गर्दर्छौँ, संघका महासचिव नरेन्द्र महर्जनद्वारा मंगलबार जारी विज्ञप्तिमा भनिएको छ । निर्माता संघको कार्य समितिलाई एक हप्ताभित्र आफ्नो धारणा सार्वजनिक गर्न आग्रहका साथ सो समयसम्म सम्पूर्ण छलफल स्थगित गरिएको र स्पष्ट धारणा नआएमा कार्य दल भंग गर्दै निर्माता संघको वर्तमान नेतृत्व रहँदासम्म कुनै पनि सहकार्य ,छलफल र वार्ता समेत नगर्ने निर्णय गरिएको जनाउँदै विज्ञप्तिमा संघका सदस्यलाई कपोलकल्पित र आपत्तिजनक आरोपसहितको ज्ञापनपत्र वाचन गरी मन्त्रीसमक्ष प्रस्तुत गर्दा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी र नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी समिति सदस्य आकाश अधिकारीबाट कुनै प्रतिक्रिया नआउँदा चलचित्र संघ स्तब्ध भएको उल्लेख छ

प्रतिक्रिया दिनुहोस्