रविलाई गल्ती सच्याउन र गालीगलौज फिर्ता लिन नेपाल मिडिया सोसाइटीको आग्रह



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्र्टीका सभापति रवि लामिछानेलाई गल्ती सच्याउन र गालीगलौज फिर्ता लिन नेपाल मिडिया सोसाइटीले आग्रह गरेको छ ।

आइतबार दिउँसो आयोजना गरेको विशेष पत्रकार सम्मेलनमा मिडिया र मिडियाकर्मी प्रतिको अभिव्यक्ति तत्काल फिर्ता लिन रविलाई उक्त सोसाइटीले आग्रह गरेको हो ।

हिजो (सोमबार) नेपाल मिडिया सोसाइटीद्वारा जारी विज्ञप्तिमार्फत रविको अभिव्यक्तिप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

पत्रकार सम्मेलनमा उनले नेपाली आमसञ्चार क्षेत्रप्रति आधारहीन, पूर्वाग्रही र मनगढन्ते आरोप लगाउँदै धम्किपूर्ण अभिव्यक्ति दिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता माथिको गम्भीर घात भएको समेत आरोप लगाएको छ ।

‘नेपालको परिवर्तन र जनताको हक अघिकारको स्थापना, संरक्षण र विकासका लागि अग्रीम मोर्चामा रहेर जनतालाई सूसुचित गराउने दायित्व निर्वाह गर्दै आएको नेपालको स्थापित पत्रकारिता क्षेत्रप्रति लामिछानेले दोहोरा नागरिकताका कारण पद गुमाएको पीडाको आक्रोश पोख्ने रबैयाले उनको नवोदित दलको मिडिया विरोधी रबैयालाई उदाङ्गो पारेको छ,’ विज्ञप्तिमा भनिएको छ ।

‘जनतालाई झुक्याएर उपप्रधान तथा गृहमन्त्री बनेको व्यक्तिले जनतासमक्ष माफी माग्नुको सट्टा उल्टै नेपाली मिडियाले आफ्नो पद खोसेको जस्तो आरोप लागउनुले रास्वपाको अराजनैतिक मनोदशालाई उदाङ्गो पारेको भन्दै नेपाल मिडिया सोसाइटीले रविको कडा शब्दमा निन्दा गरेको छ ।

सञ्चार प्रतिष्ठान र सञ्चारकर्मीको नामै लिएर सार्वजनिक रूपमा धम्की, विद्यमान संविधान, ऐन र कानुनलाई हातमा लिएर कथित भीडको सहारामा मिडियालाई कारबाही गर्ने चेतावनी दिनुले सञ्चार प्रतिष्ठान र सञ्चारकर्मीहरु असुरक्षित हुनसक्ने भन्दै नेपाल मिडिया सोसाइटीले सम्बन्धित पक्ष र सरकारलाई समेत गम्भीर ध्यानाकर्षण गराएको छ ।

त्यस्तै लामिछानेको अभिव्यक्तिबाट सिर्जित हुनसक्ने कुनै अप्रिय घटनाको स्वयं उनी र उनको दल जिम्मेवार हुनुपर्ने सोसाइटीले स्पष्ट पारेको छ ।

हेर्नुहोस् विज्ञप्तिको पूर्णपाठ :

राष्ट्रिय स्वतन्त्र पार्र्टीका सभापति रवि लामिछानेले २०७९ माघ २२ गते गरेको पत्रकार सम्मेलनमा दिएको मिडिया र मिडियाकर्मी प्रति दिएको अभिव्यक्ति प्रति नेपाल मिडिया सोसाइटीको गम्भीर ध्यानाकर्षण भएको छ । पत्रकार सम्मेलनमा लामिछानेले नेपाली आमसञ्चार क्षेत्रप्रति आधारहीन, पूर्वाग्रही र मनगढन्ते आरोप लगाउँदै धम्किपूर्ण अभिव्यक्ति दिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता माथिको गम्भीर घात हो ।

नेपालको परिवर्तन र जनताको हक अघिकारको स्थापना, संरक्षण र विकासका लागि अग्रीम मोर्चामा रहेर जनतालाई सूसुचित गराउने दायित्व निर्वाह गर्दै आएको नेपालको स्थापित पत्रकारिता क्षेत्रप्रति लामिछानेले दोहारो नागरिकताका कारण पद गुमाएको पीडाको आक्रोश पोख्ने रबैयाले उनको नवोदित दलको मिडिया विरोधी रबैयालाई उदाङ्गो पारेको छ । जनतालाई झुक्याएर उपप्रधान तथा गृहमन्त्री बनेको व्यक्तिले जनतासमक्ष माफी माग्नुको सट्टा नेपाली मिडियाले आफ्नो पद खोसेको जस्तो आरोप लागउनुले उनको अराजनैतिक मनोदशालाई देखाएको छ । सञ्चार प्रतिष्ठान र सञ्चारकर्मीहरुको नामै लिएर सार्वजनिक रूपमा धम्की दिंदै विद्यमान संविधान, ऐन र कानुनलाई हातमा लिएर कथित भीडको सहारामा मिडियालाई आफैं कारबाही गर्ने चेतावनीबाट नेपालका सञ्चार प्रतिष्ठान र सञ्चारकर्मीहरु असुरक्षित हुनसक्ने स्थिति देखा परेको घटनाप्रति नेपाल मिडिया सोसाइटी सम्वन्धित पक्ष र सरकारको समेत गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौं । लामिछानेको अभिव्यक्तिबाट सिर्जित हुनसक्ने कुनै अप्रिय घटनाको स्वयं लामिछाने र उनको दल जिम्मेवार हुनु पर्ने कुरा समेत स्पष्ट गर्न चाहन्छौ ।

संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र नागरिक अधिकारको पक्षमा निरन्तर रुपमा संघर्ष गर्दै आएको नेपाली मिडिया जगत कुनै पनि दल वा व्यक्तिका त्यस प्रकारका धम्कीहरुबाट विचलित हुने छैन । आम सञ्चारमाध्यममा प्रकाशित तथा प्रसारित कुनै पनि सामग्रीप्रति चित्त नबुझे प्रचलित विधि र पद्धतिअनुसार अघि बढ्न सकिने प्रावधान पर्याप्त छ । तर लामिछानेले नेपाली मिडियालाई सार्वजनिक रुपमा धम्काएर आफ्नो पद गुमेको तितो पोख्ने जुन शैली अपनाए त्यसले उनको बचकनापन र अराजनीतिक शैलीलाई मात्र देखाएको छैन कि आपराधिक बाटोमा अघि बढ्न सक्ने खतरा पनि देखाएको छ ।

लामिछानेको धम्कीपूर्ण अभिव्यक्ति प्रति नेपाल मिडिया सोसाइटीको गम्भीर ध्यानाकर्षमा मात्र भएको छैन, तत्काल लामिछानेले आफ्नो गल्ती सच्याउन, गालीगलौज फिर्ता लिन आग्रह गर्दै यदि उनीसँग आरोपित गरिएका मिडिया र मिडियाकर्मी प्रति कुनै प्रमाण भए पुष्टि गर्न समेत चुनौति दिन चाहन्छौं । नेपाल मिडिया सोसाइटी लामिछाने र उनको दललाई प्रश्न गर्न चाहन्छ, के नेपालको प्रचलित संविधान, ऐन, कानुन र नेपालको न्यायपालिका माथि बर्बहराहट गर्ने अधिकार कहाँबाट प्राप्त गरे ? तसर्थ समयमै आफ्नो गल्ती सच्याउन र आम जनता तथा मिडियाको संवैधानिक अधिकारमाथि चुनौति दिने गल्ती नदोहर्याउन समेत चेतावनी दिन चाहन्छौं ।

शुभशंकर कंडेल
अध्यक्ष

प्रतिक्रिया दिनुहोस्