जाडोमा स्किन केयर र मेकअप



सुष्मा महरा

जाडो महिना शुरु भएसँगै प्रायः व्यक्तिको शरीर, हातखुट्टा, अनुहारको छाला सुख्खा हुने र ओठ फुट्ने समस्या देखा पर्छ । यस्तो सुख्खा अनुहारमा गरिएको शृङ्गारले हामीलाई आकर्षकभन्दा पनि भद्दा देखाउँछ ।

त्यस्तै हाम्रो बढ्दो उमेरसँगै छालामा विभिन्न समस्या देखिन थालेका हुन्छन् । अझ जाडो मौसममा छालाको राम्रो केयर गरिएन भने समस्या झन् बढी देखिन्छ । त्यसैले हामीले गरेको मेकअप खुल्न र छालालाई आकर्षक एवं मुलायम बनाइराख्नका लागि जाडो महिनामा हामीले आफ्नो स्किनको स्याहार गर्दा विषेश ध्यान दिनु जरुरी छ ।

 

दिनभरिको घाम, धुवाँ, धूलो आदिले गर्दा हाम्रो अनुहारमा फोहोर जमेको हुन्छ । त्यसमाथि मेकअप गरेर हिँडिएको हुन्छ । मेकअप मात्र गर्ने र सो मेकअप नहटाउने हो भने स्किनले श्वास फेर्न पाउँदैन र विभिन्न समस्या आउँछ । त्यसैले अनुहारको स्किनको स्याहार गर्नु धेरै जरुरी हुन्छ ।

अनुहारको स्याहार गर्दा पहिले डेली रुटिन अनुसार स्किन केयर गर्नुपर्छ । स्किन केयरको रुटिनलाई छोटकरीमा सीटीएम रुटिन पनि भनिन्छ । सीटीएम भनेको क्लिन्जिङ, टोनिङ र मोश्चराइजिङ हो । हरेक दिन राम्रो क्लिन्जिङ मिल्कले अनुहारको क्लिजिङ गर्नु जरुरी छ । त्यसपछि टोनर र मोश्चराइजरको प्रयोग गर्नुपर्छ । सीटीएम रुटिन अनुसार अनुहारको स्याहार गर्दा गर्मी या जाडो दुवै मौसममा फाइदा गर्छ ।

हुन त पछिल्लो समय सीटीएमभन्दा पनि पीसीएम (प्रोटेक्सन, स्किन केयर, मेडिसिन÷मोश्चराइज) रुटिन गर्ने प्रचलन पनि बढ्दो छ । अनुहारका लागि यो गर्नु झनै उत्तम हुन्छ । बिहान क्लिन्जिङ गरेर हिँड्यो तर दिनभरिको धूलो, धुवाँ र प्रदूषणले हैरान । यसबाट स्किन बचाउनका लागि त्यही अनुसारको प्रोटेक्सन स्किन केयर तथा मोश्चराइज पनि गर्नुपर्छ । त्यस्तै अनुहारमा भिटामिन ई क्याप्सुलले मसाज गर्ने, नाइट क्रिम तथा सिरमहरुको प्रयोग गर्ने गर्नाले पनि अनुहारको छालालाई धेरै फाइदा पु-याउँछ । यदि स्किन केयर नगरी अनुहारमा सीधै मेकअप गर्न थालियो भने स्किन सुख्खा हुन्छ अनि जतिसुकै महँगो र ब्रान्डेड सामान प्रयोग गरेर मेकअप गरे पनि सुहाएको देखिँदैन ।

हामीलाई राम्री बन्न मन लाग्छ । राम्री देखिनका लागि अल्छी गर्न कहाँ पाइन्छ त ? छालाको स्याहार गरेर छालाको टेक्सचर बलियो भयो भने हामीले अनुहारमा प्रयोग गरेका मेकअपहरु राम्रोसँग सेट हुन्छ ।त्यस्तै जाडोमा धेरैको ओठ फुट्ने समस्या हुन्छ । दिउँसो ओठ राम्रो देखियोस् भन्नका लागि राति सुत्नुअगाडि लिप बाम तथा पेट्रोलियम जेली लगाउनुपर्छ । यदि ओठको स्याहार गरिएन र बिहान लिपस्टिक नभई सामान्य लिपग्लस मात्र लगाउँदा पनि ओठ क्र्याकी देखिन्छ ।

त्यस्तै जाडोमा हातखुट्टा तथा शरीर फुस्रो हुन्छ । जाडोमा चिसो पानी छुन सकिँदैन र हामी तातो पानीले नुहाउँछाँै । यसले गर्दा शरीर तथा हातखुट्टा फुस्रो हुन्छ । छाला फुस्रो नहोस् भन्नका लागि अन्तिममा शरीर पखाल्ने पानीमा क्लिन्जिङ वा केही थोपा तेल राखेर पखाल्नुपर्छ भने नुहाइसकेपछि बडी लोसन लगाइहाल्नुपर्छ ।

अत्यधिक सुख्खा छालामा चाहिँ पेट्रोलियम जेलीवाला क्रिम लगाउनुपर्छ । बिहान उठेपछि राम्रोसँग नधोई घाममा हिँड्दा भने छाला डढ्ने सम्भावना हुन्छ । त्यस कारण बेलुका पेट्रोलियम जेलीयुक्त क्रिमको प्रयोग गरे पनि बिहान भने हातखुट्टा राम्रोसँग धोएर बडी लोसन प्रयोग गर्नुपर्छ । यसरी जाडो महिनामा गरिने छालाको हेरचाहले हाम्रो सौन्दर्यमा निखार आउँछ ।
(लेखक महरा फेसियल हाउसकी सञ्चालक हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्