सुदूरपश्चिममा चुलिँदाे कुष्ठरोगको ग्राफ : ६ महिनामै ७२ विरामी



धनगढी । सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय कुष्ठरोगको ग्राफ चुलिएको देखिन्छ । यो प्रदेशमा पछिल्लो ६ महिनाको अवधिमा मात्रै ७२ जना कुष्ठरोगबाट पीडित बिरामीहरु भेटिएका छन् । सुदूरपश्चिममा चालु आर्थिक वर्ष २०७९/०८० को पहिलो ६ महिनामा ७२ जना कुष्ठरोगी भेटिएका हुन् ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार हालै धनगढीमा स्वास्थ्य निर्देशनालयले कुष्ठरोगको पछिल्लो अवस्थाबारे जानकारीका लागि एक कार्यक्रमको आयोजना गरिएको थियो । सो कार्यक्रममा जनस्वास्थ्य अधिकृत मनोज ओझाले प्रदेशमा कुष्ठरोग बढ्दै गएको तथ्यांक सार्वजनिक गर्नुभएको थियो ।

उहाँका अनुसार सबैभन्दा बढी कैलाली, कञ्चनपुर र अछाममा कुष्ठरोगी फेला परेका छन् । अहिलेसम्म कैलालीमा एक सय ३१ कञ्चनपुरमा ३२ र अछाममा २५ जना कुष्ठरोगीको उपचार भइरहेको छ ।

डोटीमा ५, बाजुरामा ४, बझाङमा ३, दार्चुला र बैतडीमा २, २ र डडेल्धुरामा १ जना कुष्ठरोगी रहेको ओझाले जानकारी दिनुभयो । सुदूरपश्चिम प्रदेशमा २०५ जनामा कुष्ठरोग लागेको उहाँको भनाइ छ ।

जसअन्तर्गत १११ पुरुष, ९४ महिला, २ बालबालिका र १९ जनामा अपांङ्गताका लक्षण देखिएका छन् । यीमध्ये १६० जनामा बढी सर्ने र ४५ जनामा कम सर्ने कुष्ठरोग देखिएको छ ।

सरकारले निःशुल्क उपचार गर्ने भएकाले पनि कुष्ठरोगको आशंका भएका व्यक्तिहरु परीक्षण र उपचारका लागि स्वास्थ्य संस्थामा जाने गरेका कारण संख्या बढेको जस्तो देखिएको स्वास्थ्य अधिकारीहरु बताउँनुहुन्छ ।

स्वास्थ्य निर्देशनालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७६/०७७ मा प्रदेशभर १३७ जना कुष्ठ रोगी भेटिएकोमा आर्थिक वर्ष २०७७/०७८ मा बढेर २०८ पुगेको छ भने आर्थिक वर्ष २०७८/०७९ मा २०५ जना नयाँ बिरामी भेटिएका छन् ।

चालु आर्थिक वर्षको पुष मसान्तसम्म ७२ जनामा नयाँ संक्रमण देखा परेको छ । नेपालमा सन् २०१० मा कुष्ठरोग निवारणको घोषणा गरिएको थियो । सन् २०३० सम्म कुष्ठरोगलाई शून्यमा पु¥याउने सरकारी लक्ष्य छ ।

प्रतिक्रिया दिनुहोस्