गाउँ गाउँमा ‘मोबाइल भिडियो एक्स–रे’



पर्वत।

गर्भवती महिला तथा वृद्धलाई सहयोग पुग्ने गरी पर्वतको जलजला गाउँपालिकाले गाउँ गाउँमा नै पुगेर मोबाइल भिडियो एक्सरे सेवा सुरु गरेको छ ।
गाउँपालिकाले हालै मात्र वडा नं ३ मल्लाजस्थित स्वास्थ्य चौकीबाट ग्रामीण भिडियो एक्स–रे सेवा शुरु गरेको हो ।

गाउँपालिकाका अन्य वडामा रहेका स्वास्थ्य चौकीमा पनि समय तालिकाअनुसार पुगेर सेवा प्रवाह गरिने पालिकाले जनाएको छ । गाउँपालिकाले एक ठाउँबाट अर्को ठाउँमा पुगेर परीक्षण गर्न सहज हुने गरी व्यवस्थापन मिलाएको गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यले बताउनुभयो । ‘भिडियो एक्स–रे आवश्यकता परेकाहरुलाई यो सेवा उपलब्ध गराउन त सकिन्छ नै तर पनि गर्भवतीको गर्भावस्थाका बारेमा परीक्षण गरी आमा र बच्चाको अवस्थालाई सुरक्षित र बलियो पार्न सेवा शुरु गरिएको हो’, उहाँले भन्नुभयो  ‘पालिकाभित्रका स्वास्थ्य चौकी र इकाई गरी १६ स्थानमा यो सेवा दिइनेछ। गर्भावस्थाको अवधिमा कम्तीमा ४ पटक भिडियो एक्सरे गर्नुपर्ने भए पनि हेलचेक्र्याइँ र जनचेतनाको अभाव, कमजोर आर्थिक अवस्थाका कारण सेवा लिन नसकेकालाई यसले सजिलो हुनेछ।’ तालिमप्राप्त २ जना प्राविधिक परिचालन गरिएकाले शल्यक्रिया गर्नुपर्ने, शिशुको स्वास्थ्य अवस्था ठिक नभएको लगायतका जटिल समस्या देखिए गाउँपालिकाले आवश्यक सहयोग गर्ने भनेको छ।  ‘वन हार्ट वर्ल्ड वाइड’ परियोजना र स्वास्थ्य कार्यालयसँग साझेदारी गरेर गाउँपालिकाले उपकरण किनेको हो।

सहभागी हुन अधिकांशले आफ्नै जिल्लाको अस्पतालमा पुगेर स्वास्थ्य सेवा लिने गरेका छन्। कडा खालको बिरामी भएमा जिल्लामा उपचार नहुँदा जलजलावासीहरु सीधै पोखरा र काठमाडौँ जाने गरेका छन्। सामान्य खालको उपचार सेवा गाउँमा रहेका स्वास्थ्य संस्थाहरुबाटै पाइन्छ। तर भिडियो एक्स–रे गराउनुपर्ने बिरामीलाई भने समस्या हुने गरेको थियो। गाउँपालिकाभरि नै भिडियो एक्स–रे नहुँदा गर्भवती महिला, पेटसम्बन्धी समस्या भएका तथा एक्स–रे गराउनुपर्ने अवस्थाका व्यक्तिहरु समस्यामा पर्दै आएका थिए। विभिन्न समस्याका कारण गर्भ जाँच नगर्दा आमा र बच्चाको स्वास्थ्य अवस्था जोखिममा पर्ने, सुत्केरीका बखत ज्यान नै जोखिममा रहने लगायतका समस्या आउन नदिन प्राथमिकताका साथ भिडियो एक्स–रे शुरु गरेको गाउँपालिकाले बताएको छ।

गाउँपालिकाको स्वास्थ्य शाखाको तथ्यांक अनुसार जलजलामा वार्षिक करिब १ सय जना शिशु जन्मिने गरेको देखिएको छ। यी शिशु जन्म दिने आमाहरुले कम्तीमा ४ पटक गर्भ परीक्षण गरेको हुनुपर्ने नियम छ। चौथो महिना, छैटौँ महिना, आठौँ महिना र नवौँ महिनामा गर्भ परीक्षण गर्नुपर्ने भनिएको छ। भिडियो एक्स–रे गर्न मात्रै पोखरा पुग्दा धेरै खर्च हुने तथा बेनी बजार छाडेर सदरमुकाममा रहेको अस्पतालमा आइपुग्न पनि टाढा हुने अवस्थामा उनीहरु छन्।

गाउँपालिकावासीले लामो समयदेखि स्थानीय स्तरमा नै भिडियो एक्स–रे सेवा पाउने आशा राख्दै आएकोमा अब भने उनीहरुको अपेक्षा पूरा भएको छ।

प्रतिक्रिया दिनुहोस्