कलाकारले दिए धरानका मेयर साम्पाङलाई बिरुवा उपहार



कलाकार तथा फिल्मकर्मीहरूले धरान पुगेर धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ राईलाई भेटी बिरुवा प्रदान गरेका छन् । आगामी २० गते रिलिज हुने फिल्म ह्यारीकी प्यारीका निर्देशक डा. कपिल रिजाल, डीओपी सुदीप बराल, कलाकारहरू जितु नेपाल, साम्राज्ञी राज्यलक्ष्मी शाह, विजय बराललगायतको टिमले धरानस्थित श्रम संस्कृति पार्कमा पुगेर मेयर साम्पाङलाई सय वटा रुद्राक्षको बिरुवा प्रदान गरेको हो ।

निर्देशक रिजालले मेयर साम्पाङको काम गर्ने तरिकाले आफू प्रभावित भएकाले बिरुवा उपहार लिएर भेट्न पुगेको बताए । धरानसँग मेरो बाल्यकाल जोडिएको छ । यहीँ हुर्केर पढेको मान्छे हुँ म । यहाँ आउँदा हर्क सरलाई पनि भेटौं भन्ने लाग्यो । त्यसै अनुरूप सयवटा रुद्राक्षको बिरुवा लिएर आएका छौं । हामी रहे नरहे पनि यी रुख रहिरहनेछन्, रिजालले साम्पाङलाई बिरुवा प्रदान गर्दै भने ।

अभिनेता जितु नेपालले साम्पाङलाई परिस्थितिले बनाएकोरियल हिरोको उपमा दिँदै फिल्मको प्रिमियर र मुन्द्रेको कमेडी क्लब सिजन–३ को आतित्यथा ग्रहणको निम्तो दिए ।

अभिनेत्री शाहले मेयर साम्पाङको काममा हौसला बढाउन बिरुवा सहयोग गरेको बताइन् । निर्देशक मिलन चाम्स, क्याप्टने तथा कलाकार विजय लामा लगायतको टिम पनि मेयर साम्पाङलाई भेट्न श्रम संस्कृति पुगेका थिए । भेटघाटमा मोडल एलिसा राई, कलाकार रेखा फागो र निर्देशक जनकदीप पराजुली पनि उपस्थित थिए ।

मेयर साम्पाङले राम्रो उपहार प्रदान गरिदिएकोमा धन्यवाद व्यक्त गर्दै फिल्मलाई सफलताको शुभकामना दिए । साथै, साम्पाङले श्रमदानले गर्दा नै आफूले खानेपानीको योजनालाई समयमै पूर्णता दिएको बताए ।

प्रतिक्रिया दिनुहोस्