विश्वकप यात्रा : ऊरुग्वेदेखि कतारसम्म



खेलकुद जगत्को विश्व इतिहासमा सर्वाधिक लोकप्रिय र चर्चामा रहेको विश्वकप फुटबल यात्राको २२ औं संस्करण कतारको दोहामा सन् २०२२ नोभेम्बर २० देखि डिसेम्बर १८ सम्म सम्पन्न भएको छ । सन् १९३० मा दक्षिण अमेरिकी राष्ट्र ऊरुग्वेबाट पहिलो विश्वकप प्रतियोगिताको यात्रा प्रारम्भ भएको थियो ।

यस २२ औं संस्करणसम्म आइपुग्दा दक्षिण अमेरिकी राष्ट्र र युरोपियन मुलुकहरुका आठ राष्ट्रले मात्र विश्वकपमा विजय प्राप्त गरका छन् । सर्वप्रथम सन् १९३० को विश्वकप आयोजक राष्ट्र ऊरुग्वे विजेता तथा अर्जेन्टिना उपविजेता रहेका थिए । विश्वका १३ राष्ट्रका सहभागी टोलीले भाग लिएको उक्त फुटबल प्रतियोगिता जुलाई १३–३० सम्म सञ्चालन भएको थियो । खेलकुदको इतिहासमा विश्वकपको यात्रा आरम्भ हुनुभन्दा ३५ वर्षपहिले सन् १८९६ मा ग्रीसको एथेन्सबाट प्रथम ओलम्पिक खेलकुद प्रतियोगिताको शुरुवात भइसकेको थियो । ओलम्पिक र विश्वकप फुटबल प्रतियोगिता दुई–दुई वर्षको अन्तरालमा हुने गरेको छ ।

विश्वकपको दोस्रो र तेस्रो संस्करण सन् १९३४ र सन् १९३८ मा आयोजक राष्ट्र इटाली र फ्रान्सले गरेका थिए, तर यी दुबै प्रतियोगितामा इटालीले विश्वकप जितेको छ । उपविजेताको रुपमा चेकोस्लोभाकिया र हङ्गेरी आएका थिए । विश्वकपको २२ औं संस्करणसम्म ९२ वर्षको इतिहासमा विश्वका १८ वटा राष्ट्रहरुले मात्र विश्वकप प्रतियोेगिता आयोजना गर्ने अवसर प्राप्त गरेका छन् ।

आयोजक राष्ट्र बन्ने अवसर पाएका यी राष्ट्रहरु क्रमशः ऊरुग्वे, इटाली, फ्रान्स, ब्राजिल, स्वीट्जरल्यान्ड, स्वीडेन, चिली, बेलायत, मेक्सिको, जर्मनी, अर्जेन्टिना, स्पेन, संयुक्त राज्य अमेरिका, जापान, दक्षिण कोरिया, दक्षिण अफ्रिका र कतार रहेका छन् । यीमध्ये इटाली, फ्रान्स, मेक्सिको र जर्मनीले दुई–दुईपटक विश्वकप आयोजना सम्पन्न गरेका छन् । एसियाली मुलुक जापान र कोरियाले सन् २००२ मा विश्वकपको आयोजना संयुक्त रुपमा गरेका थिए ।

त्यस वर्ष ब्राजिल विजेता र जर्मनी उपविजेता बन्न सफल भए । फुटबलको इतिहासमा पाँचपटकसम्म विश्वकप जित्ने मुलुक दक्षिण अमेरिकी राष्ट्र ब्राजिल हो । ब्राजिलले सन् १९५८, १९६२, १९७०, १९९४ र २००२ मा क्रमशः स्वीडेन, चिली, मेक्सिको, अमेरिका तथा जापान र कोरियामा सम्पन्न छैटौं, सातांै, नवौं, पन्ध्रौं र सत्रौं विश्वकपको विश्व च्याम्पियन बन्न सफल भयो । यी वर्षहरुमा उपविजेताको सफलता क्रमशः स्वीडेन, चेकोस्लोभाकिया, इटाली, पुनः इटाली र जर्मनीजस्ता राष्ट्रहरुले प्राप्त गरेका थिए । विश्वकपको इतिहासमा अहिलेसम्म लगातार दुईपटक विश्वकप जित्ने राष्ट्र इटाली र जर्मनी मात्र हुन् ।

चार–चारपटक विश्वकप प्रतियोगिता जित्ने राष्ट्र इटाली र जर्मनी हुन् । इटालीले सन् १९३४, १९३८, १९८२ र २००६ मा सम्पन्न क्रमशः दोस्रो, तेस्रो, बाह्रौं र अठारौं विश्वकपमा विजय प्राप्त गरेको छ । यसै गरी अर्को शक्तिशाली राष्ट्र जर्मनीले सन् १९५४, १९७४, १९९० र २०१४ मा क्रमशः पाँचौं, दशौं, चौधौं र बीसौं सस्करणमा विश्वकप विजेता बन्ने अवसर प्राप्त गरेको छ । यस्तै तीनपटक विश्वकप जित्ने राष्ट्र अर्जेन्टिना हो ।

यस राष्ट्रले एघारौं, तेह्रौं र बाइसौं संस्करण अन्तर्गत सन् १९७८, १९८६ र २०२२ मा विजय प्राप्त गरेका छ । दुईपटक विश्वकप जित्ने राष्ट्र ऊरुग्वे र फ्रान्स मात्र हुन् । यी राष्ट्रमध्ये ऊरुग्वेले सन् १९३० र १९५० मा प्रथम र चौथो तथा फ्रान्स सन् १९९८ र १९१८ मा सोह्रौं र एक्काइसौं विश्वकपको विजेता बन्न सफल भएको छ । एक–एकपटक मात्र विश्वकप जित्ने राष्ट्रमा बेलायत र स्पेन रहेका छन् । यी राष्ट्रले क्रमशः सन् १९६६ र २०१० मा सम्पन्न आठौंं र उन्नाइसौं विश्वकपमा सफलता प्राप्त गरेका थिए । द्वितीय विश्वयुद्धको प्रभाव सन् १९४२ र १९४६ मा विश्वकप आयोजना सञ्चालन हुन सकेन ।

विश्वकपको २२ औं संस्करणसम्म सन् १९३० र १९५० मा १३ तथा सन् १९३८ मा १५ राष्ट्रका टोलीको सहभागिता रहेको थियो भने सन् १९३४ तथा सन् १९५४ देखि १९७८ सम्म १६ राष्ट्रका टोलीले भाग लिएका थिए । यस्तै सन् १९८२ देखि १९९४ सम्म २४ राष्ट्रको सहभागिता विश्वकपमा रहेको थियो । यसै गरी सन् १९९८ देखि सन् २०२२ सम्म विश्वकपमा ३२ राष्ट्रहरुको सहभागिता रहँदै आएको छ । आयोजक राष्ट्र बनेर पनि विश्वकप विजेता बन्न नसकेका राष्ट्रहरु क्रमशः स्वीट्जरल्यान्ड, स्वीडेन, चिली, मेक्सिको, अमेरिका, जापान, कोरिया दक्षिण, अफ्रिका र कतार रहेका छन् ।

जहाँसम्म सन् २०२२ को विश्वकप प्रतियोगिता कतारको दोहास्थित लुसेल रङ्गशालामा २०७९ पुस ३ गते शक्तिशाली राष्ट्र अर्जेन्टिना र फ्रान्सबीच अत्यन्त रोमाञ्चक र कडा प्रतिस्पर्धात्मक रुपमा सम्पन्न भएको छ । यसपटक दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिना ३६ वर्षपछि विश्वकपको विजेता बनेको छ । यसअघि यो राष्ट्र सन् १९३०, १९९० र २०१४ मा उपविजेता बनेको थियो । मध्यपूर्वी एसियाली राष्ट्र कतारले आयोजना गरेको २२ औं संस्करणको विश्वकप २०२२ भव्य रुपमा सम्पन्न भएको छ । पहिलोपटक खाडी क्षेत्रमा सम्पन्न फुटबल महाभूकम्भ प्रतियोगिता २९ औं दिनसम्म अर्जेन्टिनाकै चर्चाको सेरोफेरोमा घुमिरह्यो ।

दोहामा सम्पन्न निकै रोमाञ्चक फाइनल खेलमा अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै विश्वकपको उपाधि जित्न सफल भएको हो । निर्धारित समय ९० मिनेट र अतिरिक्त ३० मिनेटको खेल ३–३ गोलको बराबरीमा पुगेपछि पेनाल्टी सुटआउटबाट छिनोफानो गरियो ।

सन् २०१० मा कतारले विश्वकप आयोजना गर्न अधिकार प्राप्त गरिरहँदा तत्कालीन फिफा अध्यक्ष सेप ब्लाटरले निकै विवादस्पद रुपमा कतारलाई विश्वकप आयोजक राष्ट्रको घोषणा गरेका थिए । दोहामा सम्पन्न विश्वकप इतिहासमै सर्वाधिक सफल संस्करण आयोजनाको रुपमा विश्वभर लिइएको छ ।

विश्वकपको ९२ वर्षको इतिहासमा रोमाञ्चक फाइनल खेल हुँदा कतार विश्वकपले पश्चिमा राष्ट्रहरुको भ्रमको उत्तरसमेत दिएको छ । फिफा विश्वकपमा अरब मुलुकहरुको अनपेक्षित विजयको सिलसिलापछि नयाँ आयामको उजागर गर्दै यस फुटबल प्रतियोगिता मानव संसाधन र एकताको सूत्रधार बनेको छ । विश्वकप प्रतियोगिता सञ्चालनको लागि आयोजना प्राप्त गरेदेखि नै विवादमा तानिएको भए पनि कतार समापन उत्कृष्ट रह्यो । आयोजक राष्ट्र कतारले विश्वलाई नै चकित तुल्याउँदै विश्वकप सम्पन्न ग¥यो ।

यस प्रतियोगिताका दौरानमा कतारले कुनै खराब घटनाको सामना गर्नुपरेन । विश्वकप सम्पन्न गर्न कतारले २ खर्ब २० अर्ब अमेरिकी डलर खर्च गरेको छ, जुन सानो अर्थतन्त्रको आकार हैन । यस क्रममा विश्वकप आयोजक समितिका महासचिव हसन अलले भने–यसै समारोहबाट हामीले मुस्लिम राष्ट्रको संस्कृति पनि विश्वसामु चिनायौं । विश्वकपको उद्घाटन समारोहमा कोरियाली ब्यान्ड बीटीएस स्टार जोङ कुकले प्रस्तुति दिएका थिए ।

अबका चार वर्षपछि सन् २०२६ मा आयोजना हुने विश्वकप एकै हारमा अवस्थित अमेरिका, क्यानाडा र मेक्सिकोले विश्वकपकै इतिहासमा एकैपल्ट तीन राष्ट्र आयोजक बन्दै छन् । विश्वकप प्रतियोगिताहरुमा धेरै दुःखद घटनाहरु पनि घटेका छन् र यी मध्येको नेपालसम्बन्धी एउटा दुःखद घटना हो– आफ्नै गृह रङ्गशालामा सन् २०१४ मा सम्पन्न सेमिफाइनल खेलमा आयोजक राष्ट्र ब्राजिल र जर्मनीबीच प्रतिस्पर्धामा हुँदा ब्राजिलले जर्मनीसँग ७–१ गोलको अन्तरमा लज्जाजनक पराजय भोग्नुप-यो, जुन आयोजक राष्ट्रको लागि पीडादायी पराजय हो ।

आम नेपालीको चाहना सन् २०१४ को विश्वकप ब्राजिलले नै जितोस् भन्ने थियो, तर तेस्रो स्थानको लागि नेदरल्यान्डसँगको प्रतिस्पर्धामा ब्राजिल ३–० गोलले पराजित हुन पुग्यो । आयोजक राष्ट्र ब्राजिलले तेस्रो स्थानको लागि पनि पराजय भोग्नुपर्दा ब्राजिलियन समर्थकहरु धुरुधुरु रुँदै खेल मैदानबाट बाहिरिए, जुन दृश्य हेर्दा कारुणिक लाग्थ्यो । सेमिफाइनलमा जर्मनीसँग लज्जास्पद हार स्वीकारेपछि ब्राजिल कम्तीमा पनि तेस्रो स्थानको लागि नेदरल्यान्डसँग लक्ष्यका साथ प्रतिस्पर्धा गर्ने छ भन्ने सोच आम दर्शकहरुमाझ थियो, तर सेमिफाइनलमै अकल्पनीय पराजय पीडाबाट ब्राजिलियन खेलाडीहरुको मनोबल माथि उठ्न सकेन ।

विश्वकपको दाबेदार एवम् विश्वकै लोकप्रिय टिम ब्राजिलले जर्मनीसँग अभूतपूर्व हार बेहोर्दा करोडौं ब्राजिलियन जनता रोए, आँसु बगाए र मन बुझाए, तर आफ्नो आदर्श टिमको हार सहन गर्न नसक्दा सुनसरीस्थित कक्षा १० मा पढ्ने १५ वर्षीय किशोरी प्रज्ञा थापाले आफ्नै घरमा पासो लगाएर आत्महत्या गरिन् । ब्राजिल विश्वकपमा पराजित हुँदैमा आत्महत्याजस्तो कठोर बाटोे अवलम्बन गर्नु उनको लागि के त्यो उचित कदम थियो ? नेपाली खेलप्रेमीहरुको ब्राजिल र अर्जेन्टिनाप्रति अकल्पनीय समर्थन रहँदै आएको छ ।

सेमिफाइनलमै ब्राजिल पराजित हुँदा ब्राजिलका राष्ट्रपतिले ब्राजिलियन नागरिक र खेलाडीहरुलाई पूर्ववास्थामा फर्कन र सामान्य स्थितिमा रहन अपिलसमेत गरेका थिए, तर स्थितिमा सुधार हुन भने सकेन । विश्वकप फुटबल प्रतियोगिताले विश्वअर्थतन्त्रमा समेत त्यत्तिकै महत्वपूर्ण भूमिका निभाउँदै आएको छ । पुरस्कार राशिका साथै कतिपय अन्य कारणले समेत आयोजक राष्ट्र हुन् वा प्रायोजक संघसंस्था हुन् वा स्वयम् खेलाडीहरु हुन्, उनीहरुको जीवनस्तरमा सकारात्मक प्रभाव परेको तथ्य आँकडाहरुले पुष्टि गरेका छन् ।

विश्वकप प्रतियोगितामा सहभागी भई विजेता, उपविजेता र त्यस राष्ट्रका खेलाडीहरुले प्राप्त गर्ने सम्मान र पुरस्कारको राशि निकै उच्च छ । विश्वकपमा प्रथम हुने विजेताले ४ करोड २० लाख र उपविजेताले ३ करोड अमेरिकी डलर प्राप्त गर्छन् । यस्तै प्रथम हुने विजेता टोलीलाई ४ करोड २० लाख अमेरिकी डलरका साथै १८ क्यारेट सुनको ६ किलो १७५ ग्रामको ट्रफीसमेत प्रदान गरिन्छ । विश्वकप प्रतियोगिता सम्पन्न गरी विश्व विजेताको उपाधि लिएर स्वदेश फर्कने क्रममा कतारको दोहाबाट विशेष हवाईजहाजमा सवार अर्जेन्टिनी खेलाडीहरुको नेतृत्व कप्तान लियोनल मेसीले गरेका थिए ।

उनी आफ्नै देशमा ट्रफीसहित पुग्दा त्यहाँ लाखौं जनताले उनको अकल्पनीय स्वागत गरे । विश्व च्याम्पियन म्याराडोनाको अर्को संस्करण लियोनल मेसीले थुप्रै कीर्तिमान रच्दै आफ्नो कप्तानीमा अर्जेन्टिनालाई उपाधि दिलाए । विश्वकप सफलताले वर्षौंदेखि आर्थिक मन्दीको सामना गरिरहेको अर्जेन्टिनाको आर्थिक सूचाङ्कसमेत माथि उक्लेको अनुमान गरिएको छ । उता विश्वकप आयोजना प्राप्त गरेसँगै आयोजक राष्ट्र कतारले प्रतियोगिता सफल बनाउन कुनै कसर बाँकी राखेन । भौतिक पूर्वाधार निर्माणका क्रममा विश्वकप इतिहासकै ठूलो धनराशि खर्च गर्ने कतार सक्षम राष्ट्र भएको छ ।

अन्ततः विश्वकप निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक प्रतियोगिता विश्वका शक्तिशाली राष्ट्र र महादेशबीचको एक वैधानिक सङ्घर्ष पनि हो । यस मनोवैज्ञानिक तथ्यबाट विश्वकप महायात्रामा सहभागी राष्ट्रहरुबीच विजेताको लागि आ–आफ्नो कला–कौशलमा प्रतिस्पर्धी हुने गर्छन् । विश्वकप प्रतिस्पर्धाको इतिहासतिर फर्कंदा आजको २२ औं संस्करणसम्म १२ पटक युरोपेली राष्ट्रहरुले विश्वकप जितेका छन् भने १० पटक दक्षिण अमेरिकी राष्ट्रहरुले बाजी मारेका छन् ।

सन् १९३० बाट प्रारम्भ भएको विश्वकप सन् २०२२ को संस्करणसम्मको अन्तरालमा आइपुग्दा विश्व राजनीतिमा धेरै परिवर्तनहरु भएका छन् । एक लामो कालखण्डसम्म नै विश्वको एक शक्तिशाली राष्ट्रको रुपमा रहेको सोभियत संघ विघटन भएको छ भने कतिपय अरु साना–ठूला राष्ट्रहरुबीचको समीकरण पनि फेरिएको छ । दुई जर्मनी एकीकृत भएको छ भने चीन, जापान, कोरिया र भारत नयाँ शक्तिको रुपमा देखा परेका छन् । एकताका विश्वकपमा शक्तिशाली मानिएका कतिपय राष्ट्रहरुको साख र प्रभाव भने यस प्रतियोगितामा घट्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्