सम्झनामा ब्राजिलका विश्वविख्यात ‘कालो हिरा’ पेले



न्युज अफ नेपाल ।

विश्व तथा ब्राजिली लेजेन्ड पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ। उनको बिहीबार राति ब्राजिलको साओ पाउलोमा रहेको अल्बर्ट आइन्सटाइन अस्पतालमा निधन भएको हो ।अस्पतालले पनि पेलेको निधन भएको पुष्टी गरेको छ । अस्पतालले पेलेको मल्टी अर्गान फेल भएका कारण निधन भएको जनाएको छ । पछिल्लो समय उनमा पेटको क्यान्सरका कारण उपचार प्रभावकारी हुन नसकेको जनाएको छ ।

फुटबलमा जादुगर छवि बनाएका पेले विश्वकप फुटबलको उपाधि तीनपटक जित्ने एक्ला खेलाडी समेत हुन् । पेलेलाई फिफाले सन् २००० मा प्लेयर अफ द सेन्चुरीको उपाधि दिएको थियो।

१७ बर्षको कलिलो उमेरमै सन् १९५८ को विश्वकपमा कुल ६ गोल गरेर ब्राजिललाई पहिलो पटक विश्वकपको उपाधि दिलाउने प्रमुख खेलाडी हुन् पेले । पेलेको उदय भएको सन् १९५८ को छैटौँ विश्वकपमा अहिलेको सर्वाधिक सफल राष्ट्र मानिएको ब्राजिलले पहिलोपटक विश्वकपको उपाधि जितेको थियो । ब्राजिलका लेजेन्डरी फुटबलर पेलेले आफ्नो समयमा गरेको प्रदर्शन कालजयी बनेको छ ।

फुटबलमा कालो हिराको उपनामबाट परिचित पेले वास्तवमा फुटबल खेल्न तथा विश्वकप जित्नका लागि नै जन्मेका ब्यक्ति थिए । उनी फुटबलमा “बाई साइकल किक“ मार्फत गोल गर्ने विज्ञका रूपमा परिचित छन् । उनी गोलको अवसर सिर्जना गर्न पोख्त हुनुका साथै डेड बलका बिशेषज्ञ रूपमा समेत चिनिन्थे । सन् १९५८ को विश्वकपमा १७ वर्षे पेलेले प्रतियोगितामा १० नम्बरको जर्सी लगाएर खेल्दै मैदानमा तहल्का मच्चाएका थिए भने विश्वकपमा सबैभन्दा कम उमेरका खेलाडी समेत बनेका थिए ।

उनी गोलको अवसर सिर्जना गर्न पोख्त हुनुका साथै डेड बलका बिशेषज्ञका रूपमा समेत परिचित थिए । अचुक तथा शक्तिशाली बल प्रहार गर्ने क्षमताका कारण उनी बिपक्षी गोल रक्षकहरुमाथि सधै मनोबैज्ञानिक दवाब दिन सफल हुन्थे ।

सन् १९५८ को विश्वकप फाइनलमा दुई गोल गर्दै ब्राजिललाई उपाधि दिलाएका पेलेले ब्राजिललाई तीन पटक विश्वकप उपाधि दिलाउन प्रमुख भूमिका खेलेका थिए । पेले त्यस्ता एक्ला खेलाडी हुन् जसले आफ्नो सक्रिय खेल जीवनमा आफ्नो राष्ट्रलाई तीन पटकसम्म विश्वकप उपाधि दिलाउन प्रमुख भूमिका निर्वाह गरेका थिए । उनले सन् १९५८, १९६२ र १९७० मा गरी तीन पटक ब्राजिललाई विश्वकप दिलाउन महत्वपूर्ण भूमिका खेलेको थिए ।

स्ट्राइकर र आक्रामक मिडफिल्डर पेलेले सुरुमा ब्राजिलको सान्तोस क्लबबाट सन १९५६ देखि १९७४ सम्म खेलेका थिए। त्यस्तै अमेरिकाको न्यू योर्क कसमसमा १९७५ देखि १९७७ सम्म आबद्ध भएका थिए। उनले सक्रिय खेल जीवनको ९२ अन्तर्राष्ट्रीय खेलमा ७७ गोल गरेका थिए । सन १९५८, १९६२, १९६६ र १९७० मा गरी चार विश्वकपको अनुभव बटुलेका उनले १४ खेलमा १२ गोल गरेका थिए। पेलेले विश्वमा सर्वाधिक गोलकर्ताको कीर्तिमान बनाएका छन् । उनले आफ्नो २१ वर्षे फुटबल करिअरमा १३६३ खेलमा कीर्तिमानी १२८१ गोल गरेका छन् । उनले आफ्नो देशका लागि ९२ खेलमा ७७ गोल गरेका छन् ।

केही समय अघि नेटफ्लिक्सले महान् फुटबलर पेलेको जीवनमा आधारित एउटा वृत्तचित्र फिल्म निर्माण गरेको थियो । उक्त फिल्ममा पेलेले एउटा सनसनीपूर्ण कुरा खुलासा गरेर सबैलाई आश्चर्यचकित पारेका थिए । पेलेले उक्त वृत्तचित्रमा आफ्नो निजी जीवनका बारेमा खुलासा गर्ने क्रममा थुप्रै महिलाहरुसँग सम्बन्ध राखेको बताएका थिए । उनले आफ्नी श्रीमतीलाई आफ्नो व्यक्तिगत जीवनमा धेरै पटक धोका दिएको र धेरै महिलासँग यौन सम्बन्ध राखेका कुरा सार्वजनिक रुपमै बताएका थिए । पेलेले आफ्नो त्यस्तो हर्कतबाट कतिजना बच्चाहरु जन्मिए भन्ने कुराको समेत आफूलाई ज्ञान नभएको बताएका थिए । महान् फुटबलर पेलेले आधिकारिक रुपमा तीन जना महिलासँग विवाह गरे । तर, विवाहबाहेक उनले धेरै महिलाहरुसंग सम्बन्ध राखेको र तिनीहरुबाट कति जना बच्चाहरु जन्मेको थाहा नभएको बताएका थिए ।

श्रीमती र प्रेमिकालाई त उनले आफू वफादार नभएको कुरा सुरुवातमा नै भन्ने गरेको बताएका थिए । पेलेले आफ्नी श्रीमती र प्रेमिकालाई सम्बन्धमा वफादार नभएको कुरा स्पष्टसँग बताउने गरेको र आफूले कहिल्यै झूट नबोल्ने कुरा उनीहरुलाई राम्ररी थाहा भएको पनि बताउँथे । पेलेले तीन पटक विवाह गरे, जसबाट उनीहरूका सात जना सन्तान छन् । सान्ड्रा मकाडे पनि ती सात बच्चाहरूमध्ये एक हुन्, तर पेलेले उनलाई कहिल्यै आफ्नो छोरी स्वीकारेनन् ।

‘कालो मोती’ का रूपमा विख्यात ब्राजिलियन फुटबलर पेलेको पूरा नाम एडिसन एरेन्टस डो नासिमेन्टो हो । ब्राजिलको सानो सहर मिनास गेराइसमा २३ अक्टोबर, १९४० मा उनको जन्मिएका उनका पिता क्लब स्तरका खेलाडी थिए, आमा गृहिणी थिइन् । आमा बुबाले उनको नाम एडिसन राखेका थिए । पेले जन्मने बेला शहरमा बिजुलीको बल्ब पुगेकाले त्यसबेला बल्बको उज्यालोको प्रभावले बल्व बनाउने थोमस एल्वा एडिसनको नामको एक भाग एडिसन राखिएको हो ।

याे पनि

विश्वकै महान फुटबल खेलाडी पेलेको निधन

पेलेको निधनपछि मेस्सी, रोनाल्डो, एम्बाप्पेले के भने ?

प्रतिक्रिया दिनुहोस्