गर्भ निरोधक तीन महिने सुई लगाउन महिलाहरु खोप केन्द्र धाउनु नपर्ने



काठमाडौँ।

महिलाले लगाउने गर्भ निरोधक तीन महिने सुई लगाउन उनीहरू मेडिस्टोर वा खोप केन्द्र धाउनु नपर्ने भएको छ ।

नेपालमा सफल परीक्षण भएको सायना प्रेस नामक गर्भ निरोधक प्रभावकारी देखिएपछि अव महिलाले मेडिस्टोर वा खोप केन्द्र या परिवार नियोजन सङ्घ धाउनु नपर्ने भएको हो ।

नेपालमा गर्भ निरोधक नयाँ साधन सायना प्रेस प्रभावकारी देखिएपछि यसको विस्तार भएको छ ।

पहिला दुई जिल्लामा मात्र प्रयोगमा ल्याइएको उक्त साधन अव नेपालका ७ जिल्लामा सहज रूपमा पाउन सकिने परिवार नियोजन सङ्घले जानकारी दिएको छ ।

परिवार नियोजन सङ्घको आयोजनामा भएको पत्रकार सम्मेलनमा नेपालमा परिवार नियोजनको साधन सायना प्रेस निकै प्रभावकारी भएको जानकारी दिइयो  ।
तीन महिने सुई जस्तै रहे पनि यो आफैले प्रयोग गर्न सकिने साधन भएका कारण यसको प्रभावकारिता पनि राम्रो देखिने सङ्घले जनाएको छ ।

महिलाले आफ्नो बोसो भएको स्थान पाखुराको तल्लो भाग तिघ्राको भाग वा पेटमा जहाँ बोसो छ उक्त स्थानमा यो सुई आफैले लगाउन सक्ने छन् ।

सन् २०२० देखि परिवार नियोजनको अस्थायी साधन प्रयोगमा नयाँ पद्धति अपनाउने सरकारको घोषणा अनुरूप दुई जिल्लामा गरिएको तुलनात्मक अध्ययनले ‘सायना प्रेस’ नामको नयाँ गर्भ निरोधक साधन प्रभावकारी देखिएको नेपाल परिवार नियोजन सङ्घका प्रबन्धक शरद अर्यालले जानकारी दिनुभयो ।उहाँका अनुसार दुई जिल्लामा भएको प्रयोगबाट यो निकै प्रभावकारी देखिएका कारण यो वर्षदेखि अन्य पाँच जिल्ला थप गर्दै सात जिल्लामा यो सेवा विस्तार गर्न लागेको समेत उहाँले जानकारी दिनुभयो ।

सायना प्रेस प्रयोग गरिरहेका अधिकांश महिलाले यसैलाई निरन्तरता दिन चाहेका छन् । उनीहरू फरक फरक परिवार नियोजनका अस्थायी साधन प्रयोग गर्दा वाकवाकी लाग्ने, वान्ता हुने, महिनावारी अनियमित हुने जस्ता समस्या देखिने गर्दथ्यो तर सायना प्रेसबाट यो समस्या नदेखिने उहाँले जानकारी दिनुभयो ।

सायना प्रेस गर्भ निरोधक अस्थायी साधन प्रयोगकर्ता महिलाले अन्य साधनको तुलनामा सायना प्रेस बढी रुचाएका कारण यो निकै प्रभावकारी समेत देखिएको उहाँको भनाई थियो ।

कम दुखाइ, पाखुराबाहेक शरीरका अन्य अङ्गमा प्रयोग गर्न पाइने र अनियमित महिनावारीका साथै स्वास्थ्य समस्या पनि ठिक भएको प्रयोगकर्ता महिलाहरूको सर्भेमा देखिएको उहाँले बताउनुभयो ।

४० भन्दा बढी देशमा प्रयोग भइरहेको सायना प्रेस नेपालको लागि नयाँ हो । बेलायत सरकारको अन्तर्राष्ट्रिय सहयोग निकाय (डीएफआईडी) को आर्थिक सहयोगमा नेपालमा सायना प्रेसको सम्भाव्यता र अध्ययन थालिएको थियो ।

नेपाल सरकार र आईपास नेपालले नवलपुर र सिन्धुलीका ६ वटा पालिकाका १४ वटा स्वास्थ्य संस्थाबाट भदौ २०७६ देखि सेवा सुरु गरिएको थियो । हाल यो सेवा ललितपुर , रुकुम ,कैलाली , मोरङ र पर्सामा विस्तार गरिएको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्