जुम्लामा निःशुल्क आँखा शिविर : ४२ जनाले पाए ज्योति



काठमाडौँ।

नेपाल नेत्र ज्योति संघ हिमालय आँखा अस्पतालको आयोजनामा जुम्लाको हिमा गाउँपालिकामा नि:शुल्क आँखा शिविर सम्पन्न भएको छ । हिमा गाउँपालिका र कादुरी एग्रिकल्चर एशोसियसनसंगको सहकार्यमा आँखा शिविर सम्पन्न भएको हो ।

४ दिनसम्म आयोजना गरिएको उक्त आँखा शिविरमा ८ सय २८ जनाको नि:शुल्क आँखा परीक्षण गरिएको नेपाल नेत्र ज्योति संघले जनाएको छ ।

अस्पतालका आउटरिच कोर्डिनेटर सुवास नेपालका अनुसार उक्त शिविरमा ८ सय २८ जनाको आँखाको नि:शुल्क परीक्षण र औषधि वितरण गरिएको थियो । सो शिविरबाट ४२ जनाको नि:शुल्क मोतियाविन्दको शल्यक्रिया समेत गरिएको छ ।

शिविरमा आँखा जाँच गराएकाहरुमध्ये २ सय ९७ जनालाई निःशुल्क चस्मा वितरण गर्नुको साथै आँखामा सामान्य समस्या भएका ६ सय ७३ जना बिरामीहरूलाई नि:शुल्क औषधि समेत वितरण गरिएको थियो ।

नेपाल नेत्र ज्योति संघद्धारा सञ्चालित विभिन्न अस्पतालहरुले विभिन्न संघ संस्थाहरुसंगको सहकार्यमा देशैभरि निःशुल्क आँखा उपचार तथा शल्यक्रिया शिविर सञ्चालन गर्दै आइरहेको जनाएको छ ।

नेपाल नेत्रज्याति संघले हाल देशभरमा २७ वटा आँखा अस्पताल तथा १ सय ५० भन्दा बढी आँखा उपचार केन्द्र सञ्चालन गरिरहेको छ । संघले देशभरका आँखा अस्पताल, आँखा उपचारका केन्द्र र विभिन्न आँखा शिविरहरु मार्फत हरेक जिल्लाका नागरिकहरूलाई आँखा उपचार सेवा प्रवाह गर्दै आइरहेको जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्