मुगुमा जीवनजलको अभाव



मुगु । 

सदरमुकाममै रहेको जिल्ला अस्पताल मुगुमा जीवनजलकोअभाव भएको छ । जिल्लाको एक मात्र सरकारी अस्पतालमा जीवनजल अभाव हुँदा बिरामीहरू समस्यामा परेका छन् ।

सरकारले नि:शुल्क वितरण गर्दै आएको जीवनजल अहिले मुगु अस्पताल अभाव छ । मुगु अस्पतालमा जीवनजल समेत पाइन छाडेको विरामीले गुनासो गरेका छन् । औषधि नभएकोले झाडापखाला लागेर जिल्ला अस्पतालमा पुग्ने हो भने पनि बिरामीले जीवनजल पनि नपाउने अवस्था छ ।

झाडापखालाका बिरामी उपचार गर्न अस्पताल आउँदा जीवनजल नपाउने गरेको बताउँछन् । अस्पतालमा जीवनजलको अभाव हुँदा जीवनजलको लागि सरकारी अस्पतालले नजिकको औषधि पसलमा किन्न पठाउँछन् ।

झाडापखालामा मृत्युबाट जोगाउने अचुक औषधिको रूपमा मानिने जीवनजल जिल्लाकै एक मात्र सरकारी अस्पतालमा मै अभाव हुँदा सम्बन्धित निकायको ध्यान जान सकेको छैन । जिल्ला अस्पताल मुगुमा जीवनजलको अभाव एक महिनादेखि रहेको नाम नबताउने सर्तमा अस्पतालमा कार्यरत एक कर्मचारीले बताए ।

‘हामी बिहानैदेखि बिरामीहरूलाई सेवा प्रदान गरिरहेका छौँ, तर उनीहरूलाई निःशुल्क रूपमा दिनुपर्ने औषधि दिन सकेका छैनौँ’, अस्पतालमा कार्यरत एक कर्मचारीले भने । कर्मचारीका अनुसार एक महिनादेखि अस्पतालमा जीवनजल अभाव भएको छ ।

किन्छु भन्दा समेत बिरामीहरूले पाएको छैन । ‘जिल्ला अस्पतालमा जीवनजल एक महिनादेखि अभाव छ भन्छन्, के हो ?’ भन्ने सौर्य दैनिकको प्रश्नमा स्वास्थ्य सेवा कार्यालय मुगुका सूचना अधिकारी पशुराम नेपालीले जीवनजल अभाव भएको एक महिनादेखि नभई दुई–तीनदेखि भएको बताए ।

जिल्ला अस्पताल मुगुमा जीवनजल मात्रै होइन, नेपाल सरकारले निःशुल्क वितरण गर्दै आएको केही औषधिहरू समेत अभाव छ । राज्यबाट ७२ प्रकारभन्दा बढी औषधि निःशुल्क रूपमा उपलब्ध गराउन भनिए पनि मुगुमा ५० देखि ६० प्रकारका मात्रै औषध पाउने गरेका स्वास्थ्य सेवा कार्यालय मुगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्