कोभिड नियन्त्रणका विगतका प्रयास र अबको बाटो



संसार आक्रान्त थियो । देश ठप्प थियो । नयाँ भाइरसले हरेक व्यक्तिको मन–मस्तिष्क थर्कमान थियो । कुनै देशले नाथे भाइरस भने, कतिपय देश आत्तिए, बाटो बिराए, अर्थतन्त्र ओरालो लाग्यो । नेपाल सबै हिसाबले अछुतो रहन सकेन, अहिले पनि हामी त्यसका धेरैजसो असरहरुको परिणाम भोगिरहेका छौं ।

चीनको वुहानबाट फर्केका एकजना पुरुषमा २०७६ माघ १० गते कोभिड संक्रमण देखिएपछि नेपालमा कोरोना भाइरसको प्रवेश भएको थियो । चीनको वुहान युनिभर्सिटीमा पीएचडी अध्ययनरत ३२ वर्षीय पुरुषमा नेपालमा पहिलोपटक कोरोना पोजिटिभ देखिएको थियो । पहिलोपटक कोरोना भाइरस भेटिएको एक महिनापछि २०७६ चैत्र ११ गतेबाट नेपालमा लकडाउन शुरु भयो । लकडाउनले हरेक क्षेत्र प्रभावित भए । आर्थिक गतिविधि ठप्प–प्रायः भयो । दैनिक रुपमा ज्यालादारी गर्ने आम जनता भोको बस्नुपर्ने स्थिति सिर्जना भयो ।

नेपालमा पहिलोपटक समुदाय स्तरमा संक्रमण (सनसिटी अपार्टमेन्ट), कागेश्वरी मनोहरा नगरपालिका काठमाडौंमा देखियो । संक्रमणपछि सनसिटी अपार्टमेन्ट मात्र हैन वरिपरिका सबै क्षेत्र प्रहरीले सिल ग¥यो । कोभिडविरुद्धका एउटा पनि स्वास्थ्य पूर्वाधार नभएको कागेश्वरीमा कोभिड संक्रमितहरुलाई उपचारका लागि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल लगियो ।

स्थानीय तहको भूमिका

कोरोना भाइरसले सिर्जना गरेको स्वास्थ्य एवं आर्थिक सङ्कट एकैचोटि सामना गर्नुपर्ने अवस्था स्थानीय तहमा पनि आयो । औषधि र खोप नभएको नयाँ भाइरस भएकाले यसको रोकथामका लागि परीक्षणको दायरा बढाउने, संक्रमण बढ्न नदिने र विभिन्न उपचार पद्धति अवलम्बन गर्ने कार्यहरुको जिम्मेवारी स्थानीय तहहरुलाई नै थपियो ।

यसका बाबजुद स्थानीय सरकारले कोरोना रोकथाम र नियन्त्रण कार्यमा आफुुलाई अब्बल साबित गराएका छन् । कोरोनाका समयमा कोरोना रोकथामका लागि सङ्घीय सरकारले घोषणा गरेको बन्दाबन्दीको पालना गराउन र नागरिकलाई कोरोना संक्रमणबारे जानकारी गराउने काममा अग्रणी भूमिका निर्वाह गरेका छन् । लकडाउनको समयमा दैनिक ज्यालादारी गर्ने मजदुुर, श्रमजीवी वर्गका लागि स्थानीय सरकारले राहत प्रदान गर्ने, स्थानीय स्तरमा क्वारेन्टाइन निर्माण गर्ने, कोभिड बिरामीलाई राख्नका लागि आइसोलेसन कक्ष र अस्पताल निर्माण गर्ने कार्य भएका छन् ।

कोभिड संक्रमणको करिब ४ वर्ष बितिरहँदा देशभरका अन्य नगरपालिकाजस्तै कागेश्वरी नगरपालिकाले पनि स्वास्थ्य पूर्वाधारमा निकै ठूलो फड्को मारेको छ । यो ४ वर्षको अवधिमा करिब ४ लाख मानिसलाई कोभिडविरुद्धको खोप लगाइएको छ भने सोही संख्यामा कोभिड प्रभावित जनताले नगरपालिकामार्फत दिइने स्वास्थ्य सेवा प्राप्त गरेका छन् । मूलपानी स्वास्थ्य केन्द्रलाई हाल ५० शय्याको कोभिड अस्पताल बनाइएको छ । कोभिड कम भएको समयमा अन्य सरुवा रोगसँग सम्बन्धित बिरामीहरुको उपचारसमेत हुने व्यवस्था मिलाइएको छ ।

कोभिडको शुरुवाती दिनहरुमा देशभरका नगरपालिकाले थुप्रै चुनौतीको सामना गर्नुप-यो । संक्रमितलाई राख्ने ठाउँको अभाव, अक्सिजन सिलिन्डर प्लान्टको कमी, लकडाउन लगायतका कारणले स्वास्थ्य सेवा प्रवाहमा ठूलै चुनौतीको सामना गर्नुप-यो ।
भाडामा बस्ने संक्रमितलाई राति नै घरबेटीले घरबाट निकाल्दिने समस्या काठमाडौं उपत्यकामा देखियो । यो विकराल स्थितिमा स्वास्थ्यकर्मीहरुलाई घरमै पठाएर क्वारेन्टिन तथा उपचारको व्यवस्था गरेको सम्झनुहुन्छ, कागेश्वरी नगरपालिका काठमाडौंका कोभिड फोकल पर्सन लक्ष्मी कोइराला ।

कागेश्वरी मनोहरा नगरपालिकाले कोभिड रोकथाम र नियन्त्रणका लागि १२ करोड ४९ लाख ५ हजार २ सय ४ रुपियाँ खर्च ग-यो । यसमध्ये ठूलो रकम राहत वितरण र आइसोलेसन सेन्टरमा खर्च भएको देखिन्छ । खर्चको यो अवस्था यहाँ मात्र हैन देशका अधिकांश स्थानीय तहहरुमा देखियो ।

महामारीका विरूद्ध स्वयम् अग्रसर भई दिपरुङ चुइचुम्मा गाउँपालिकाका तत्कालीन अध्यक्ष भुपेन्द्र राई निरन्तर खट्नुभयो । कोभिड–१९ संक्रमित सिकिस्त बिरामीलाई पिठ्युँमा बोकी कोभिड अस्पतालसम्म पु¥याउने काम उहाँबाट भए । यो एउटा प्रतिनिधिमूलक सेवा थियो । एकातिर जनशक्ति अभाब, भएका जनशक्ति संक्रमित हुँदा देशभरका अधिकांश स्थानीय तहहरुमा ठूलो समस्या देखा परेको थियो । यस्तो अवस्थामा पनि स्थानीय तहहरुले कोभिडविरुद्धको अभियानलाई मोर्चा कसेरै जित्न सफल भए ।

कोभिडप्रति सरकारको भूमिका

संक्रमणकै बीचमा सरकारले तत्कालै राहतस्वरुप स्थानीय तहमार्फत प्याकेज घोषण ग¥यो । भाइरसको संक्रमणबाट आम नागरिकलाई बचाउन टोल–फ्री हटलाइन फोन, वेभ पोर्टल, रेडियो, टेलिभिजन, सामाजिक सञ्जाल तथा पत्रपत्रिकाका अतिरिक्त स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ब्रिफिङबाट स्वास्थ्य जनचेतना तथा जोखिमबारे सूचनाको सञ्चार गरियो । चीनको वुुहान शहरमा संक्रमण महामारीको रुपमा फैलन थालेपछि नेपालको विमानस्थलमा तत्कालै सावधानी अपनाएर हेल्थ डेस्क स्थापना गरिएको थियो ।

२०७७ जेठ ३ गते नेपालमा पहिलो कोरोना संक्रमितको मृत्यु भएको थियो । असारको दोस्रो हप्तामा नेपालका ७७ वटै जिल्लामा कारोनाको संक्रमण देखियो । संक्रामक रोग फैलन सक्ने डरले आत्तिएका जनतालाई रोग पहिचानका लागि पीसीआर परीक्षण गर्न प्रयोगशाला निर्माण तथा तयार गर्नुपर्ने कामलाई तीव्रता दिइयो ।

पहिलोपटकको भाइरस पहिचानका लागि हङकङ पठाइएकोमा तत्कालै ८२ स्थानमा पीसीआर परीक्षण गर्ने प्रयोगशाला लकडाउकै बीचमा निर्माण गरेर सञ्चालनमा ल्याइएको थियो । परिणामस्वरुप जिल्ला–जिल्लामा पीसीआर परीक्षण हुन थाल्यो । कोभिडसँग जुधिरहँदा सरकारले स्वास्थ्य क्षेत्रमा सरकारी र निजी क्षेत्रमा गरी जम्मा ७,१५४ स्वास्थ्य संस्थाहरुमा कोभिडको उपचार हुने व्यवस्था मिलाएको थियो ।

कोभिडविरुद्ध देशभर ५२ हजार स्वास्थ्य स्वयंसेविका एकसाथ परिचालन गरिएको थियो भने ९०,९४६ स्वास्थ्यकर्मी, २६,९३० शय्या, ८४० भेन्टिलेटर तयारी अवस्थामा राखेर सरकार यस लडाइँमा युद्धस्तरमा जुटेको थियो ।प्रयोगशालाको परीक्षण दायरा बढाउन निजी क्षेत्रसमेतको सहभागितामा ८२ वटा प्रयोगशालाहरूबाट परीक्षण भएको थियो । साथै भविष्यमा यस किसिमको महामारीमा कठिनाइ नहोस् भनेर अस्पताल नभएका ६४९ स्थानीय तहमा ५ बेडको अस्पताल हरेक स्थानीय तहमा सञ्चालनको लागि आवश्यक बजेट ६४ करोड ९० लाख रुपियाँ व्यवस्था गरी पठाइएको र स्थानीय तहहरूमा कार्य शुरु गरिएको थियो ।

हाल देशभरि करिब २८०० आई.सी.यु. बेड र १००० भेन्टिलेटर रहेका छन् । यी मध्ये कोभिड–१९ उपचारको लागि ४९० आई.सी.यु. बेड थप्नको लागि कार्य भइरहेको छ । २०७७ श्रावण १५ देखि नेपालमा कोभिड–१९ का बिरामीहरूको उपचारको लागि प्लाज्मा थेरापी, रेम्डीसिभिर, फाबिपिराभिर प्रयोग भइरहेको छ ।

योसँगै कोभिड–१९ सम्बन्धी कार्यलाई समुचित दिशा निर्देशन गर्न ४८ भन्दा बढी निर्देशिका, प्रोटोकल र मापदण्डहरू विकास गरी एकद्वार प्रणालीबाट सार्वजनिकीकरण गरिएको थियो भने नयाँ तथ्य तथा प्रमाणहरूको आधारमा अद्यावधिक गरिँदै लगिएको छ ।कोभिड–१९ पहिचान, परीक्षण, नियन्त्रण तथा उपचारका लागि गत आ.व. २०७७÷७८ मा कुल रु. १० अर्ब ७३ करोड १७ लाख ७३ हजार निकासा भई खर्च भएको छ । आर्थिक वर्ष २०७८÷७९ को फागुन मसान्तसम्म रु १५ अर्ब ६८ करोड १२ लाख ६२ हजार खर्च भएको छ ।

आर्थिक वर्ष २०७७÷७८ मा पीसीआर र एन्टिजेन गरी ३६ लाख ९८ हजार ६ सय ४० व्यक्तिको कोभिड परीक्षण गरिएकोमा ७ लाख ९ हजार ४ सय ४६ जना कोभिड १९ बाट संक्रमित भई ९ हजार ४ सय ६३ जनाको मृत्यु भएको थियो । गत फागुन मसान्तसम्म कुल ६५ लाख ८३ हजार ८ सय ४७ जनाको कोभिड परीक्षण गरिएकोमा ११ लाख १७ हजार ९ सय ३७ जना संक्रमित भई ११ हजार ९ सय ५० जनाको मृत्युु भएको छ । पछिल्लो तथ्यांक अनुसार मृतकको संख्या ११ हजार ९ सय ९२ पुगेको छ ।

अबको बाटो

वि.सं. २०७८ असारसम्म १ सय २५ अस्पताल, २ सय ५ प्राथमिक स्वास्थ्य केन्द्र, ३ हजार ८ सय ७० स्वास्थ्य चौकी, ३ सय ९५ आयुर्वेदिक अस्पताल र २ हजार ९ सय ७१ आधारभूत स्वास्थ्य केन्द्र गरी ७ हजार ५ सय ६६ स्वास्थ्य संस्था सञ्चालन रहेकोमा हाल तिनको संख्या ७ हजार ५ सय ९८ पुगेको छ ।

कोभिड हालसम्म पनि मत्थर भइसकेको अवस्था छैन । आगामी दिनमा सरकारले कोभिड र कोभिडजस्ता अन्य महामारीलाई उत्तिकै ध्यान दिँदै स्वास्थ्य क्षेत्रमा देखिएका मुख्य चुनौती, जनशक्ति व्यवस्थान र पदपूर्ति गर्न ढिला गर्नुहुँदैन । आज बनेका स्वास्थ्य संरचनामा पर्याप्त जनशक्तिको अभावकै कारण सेवाप्रवाहमा असर परिरहेको छ । अर्काेतर्फ विश्वले अंगीकार गरेका स्वास्थ्य प्रविधिलाई विनाहिचकिचाहट नेपाल ल्याउन र प्रयोग गर्न अनुमति दिन ढिला गर्नुहुँदैन ।
को

रोना भाइरसको वर्तमान महामारी कहाँ गएर अन्त्य हुने हो ? मानव जीवनको कति क्षति गर्ने हो ? समग्र अर्थतन्त्र र अन्य क्षेत्रलाई कस्तो प्रभाव पार्ने हो ? अहिले नै यसै भन्ने अवस्था छैन । विगतदेखिको अनुभवले भन्छ– फेरि नयाँ भाइरस विकास हुन्छ, फेरि मानव स्वास्थ्यविरुद्ध नयाँ चुनौती र खतरा सिर्जना हुन्छ । त्यसैले पृथ्वी र पर्यावरणमाथि गरिने हाम्रो व्यवहारमा परिवर्तन ल्याउन जरुरी छ । हाम्रा दैनिकी, खानपान र सोच्ने क्षमतासम्ममा परिवर्तन खोज्न जरुरी छ । यति गरे विश्व बदल्ने सपना बोकेर हिँडेका विश्व मानवहरु नाथे भाइरससँग थर्कमान हुनुपर्ने छैन ।
(लेखक निरौला नेपाल टेलिभिजनका निर्माता-प्रस्तोता हुनुहुन्छ ।)

[email protected]

प्रतिक्रिया दिनुहोस्