राजधानीको ट्राफिक व्यवस्थापन दयनीय

निर्वाचनमा ट्राफिक प्रहरी परिचालन



काठमाडौं । 

प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहलाई शनिबार सार्वजनिक विदाको दिन रातोपुलबाट प्रहरी प्रधान कार्यालय, नक्साल पुग्न १ घण्टा १० मिनेट लाग्यो । आइसल्यान्डबाट स्वदेश फर्कनुभएकी राष्ट्रपति विद्यादेवी भण्डारीको स्वागतमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका आईजीपी सिंहलाई कार्यालय फर्कने क्रममा रातोपुलबाट नक्साल पुग्न उक्त समय लागेको हो ।

कार्यालय पुग्नेबित्तिकै उहाँले ट्राफिक प्रहरी महाशाखाकी प्रमुख डीआईजी मीरा चौधरीलाई प्रश्न गर्नुभयो– ‘राजधानीमा किन यति सारो जाम ?’ डीआईजी चौधरीले अनकनाउँदै उपत्यकामा खटिएका ट्राफिक प्रहरी अहिले निर्वाचन गराउन देशभर गएकाले केही समस्या देखिएको बताउनुभयो ।
दक्षिण एसियाली राष्ट्रहरूका राजधानीमध्ये बंगलादेशको ढाकापछि सबैभन्दा बढी जाम हुनेमा काठमाडौं पर्ने गरेको छ । राजधानीमा सीमित सडक र असीमित सवारी साधनका कारण लामो जाममा फस्नुपर्ने राजधानीवासीको नियति भएको छ ।

आगामी मङ्सिर ४ गते हुने संघीय तथा प्रदेशसभा निर्वाचनको सुरक्षाका लागि उपत्यका ट्राफिक प्रहरी महाशाखाअन्र्तगत विभिन्न वृत्त, प्रभाग र पोस्टमा खटिने १ हजार ७ सय ५० जनशक्तिमध्ये १ हजार ३ सय ८० जना अहिले देशका विभिन्न भागमा खटिएपछि राजधानीको ट्राफिक व्यवस्थापन दयनीय अवस्थामा पुगेको छ ।ट्राफिक प्रहरी सडकमा देखिए ट्राफिक नियम पालना गर्ने नत्र घण्टौं जाममा बस्नु परे पनि एकले अर्कालाई बाटो नछोडी ओभरटेक गर्ने आम प्रवृत्तिले यो समस्या आएको उपत्यका ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो– ‘१ हजार ७ सय ५० ट्राफिक प्रहरीमध्ये ३ सय ६८ जना १० लाख सवारी साधनको रेखदेख र सोही हाराहारीको सडक प्रयोगकर्ताको सुरक्षामा खटिएका छन् । एक जना ट्राफिक प्रहरीले २ हजार ७ सय १७ वटा सवारी साधन र ३ हजार सडक प्रयोगकर्ताको सुरक्षा गर्नुपर्ने भएकाले ट्राफिक व्यवस्थापनमा समस्या आएको हो ।’

वागमतीमा दर्ता भएका १४ लाख सवारी साधनमध्ये काठमाडौं, ललितपुर र भक्तपुरमा दैनिक १० लाख सवारीसाधन सञ्चालन हुने गरेको छ । राजधानीमा लगभग ३ हजार किलोमिटर पक्की र कच्ची सडक रहेका छन् ।एसएसपी भट्टका अनुसार आम निर्वाचनको मिति नजिकिए पनि राजधानीबाट बाहिरिने सवारी संख्या सोचेभन्दा कम बाहिर गएकाले पनि समस्या देखिएको हो ।

सडक प्रयोगकर्ता र सवारी चालकमा चेतना नआएसम्म सोचेजस्तो ट्राफिक व्यवस्थापन गर्न कठिनाई हुने जिकिर गर्दै उहाँले भन्नुभयो– ‘ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लंघन गर्ने विरुद्धको कारबाहीलाई तीव्र बनाएको भए पनि ट्राफिक नियम उल्लघंन गर्नेको संख्यामा कमी आएको छैन । अहिलेको ट्राफिक व्यवस्थापनलाई चुस्त दुरुस्त राख्न मौजुदा ट्राफिक प्रहरीलाई १८ घन्टासम्म सडकमा परिचालन गरेको भए पनि जनशक्ति कम भएकै कारण समस्या आएको छ ।’

प्रतिक्रिया दिनुहोस्