हंगेरीको दुर्भाग्य, पश्चिम जर्मनी च्याम्पियन

चौथो विश्वकप १९५४



काठमाडौं ।

सन् १९४६ मा लक्जेमबर्गमा फिफा बैठकले सन् १९५४ को विश्वकप स्विट्जरल्यान्डमा आयोजना गर्ने निर्णय लिएको थियो । दोस्रो विश्वयुद्धमा तटस्थ राष्ट्र रूपमा परिचित स्विट्जरल्यान्डले उम्मेदवारी दिएको थियो । तर, यो विश्वकपमा सोभियत संघ र पोल्यान्डले भने भाग लिएका थिएनन् ।

जर्मनीले पनि सहभागिता जनायो भने एसियाबाट छनोट खेलमा दक्षिण कोरिया र जापान सहभागि भएका थिए । यसमा दक्षिण कोरियाले जापानलाई दोस्रो लेग खेलमा ५–१ ले हराएर अन्तिम चरणमा प्रवेश पाएको थियो । जबकि, पहिलो लेग खेल भने २–२ बराबरीमा समाप्त भएको थियो ।कतिपय अफ्रिकी राष्ट्र त्यतिबेला युरोपेली राष्ट्रको अधीनमा थिए । अफ्रिकी महादेशबाट इजिप्ट मात्रै स्वतन्त्र राष्ट्र थियो । तर, यसको टोली अन्तिम चरणमा पुग्न सकेन । यस्तै, भारत, पेरु, भियतनाम, क्युबा, आइसल्यान्ड, बोलिभिया र कोस्टारिकाको फाराम गलत भएको भन्दै फिफाले आवेदन रद्द गरेको थियो ।

छनोट खेलमा युरोपतिर अप्रत्यासित नतिजा निस्क्यो । गत विश्वकपमा चौथो भएको स्पेन हार बेहोरेर विश्वकपको अन्तिम चरणमा पुग्न सकेन । स्पेनलाई टर्कीले स्तब्ध तुल्याएको थियो । गत विश्वकपमै तेस्रो बनेको स्विडेन पनि बेल्जियमसँग पराजित भएर अन्तिम चरणमा पुग्न सकेन । विश्वकपमा इतिहासमा ब्रिटिस राज्य स्कटल्यान्डले पहिलो पटक प्रतियोगितामा सहभागिता जनाउने भयो ।

फिफाले यसपटकको विश्वकपलाई १९३० को विश्वकपमा भन्दा केही फरक ढंगको नियम बनायो । पहिलोपटक प्रत्येक समूहबाट दुई टोली क्वार्टरफाइनल पुग्ने प्रावधान ल्यायो । फिफाले यो प्रावधान आगामी चारवटा विश्वकपसम्मको लागि लागू हुने निर्णय पनि ग-यो ।

समूह खेलमा फरक नियम

प्रत्येक समूहमा वरीयता प्राप्त र वरीयताविहीन टोलीबीच खेल खेलाइएको थियो । तर, प्रत्येक समूहमा चार टोली रहे पनि प्रत्येक टोलीले दुई मात्र खेल खेल्नुपर्ने अचम्मको नियम थियो । यसमा समूह एक बाट ब्राजिल र युगोस्लाभिया, समूह दुईबाट हंगेरी र पश्चिम जर्मनी, समूह तीनबाट उरुग्वे र अस्ट्रिया तथा समूह चारबाट इंग्ल्यान्ड र आयोजक टोली स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा पुगे ।

तर, दुईवटा समूहमा भने अंक बराबरी भएपछि दोस्रो स्थान निर्धारण गर्न ‘प्लेअफ’ खेल्नुपरेको थियो ।समूह दुईमा पश्चिम जर्मनीले टर्कीलाई प्लेअफमा ७–२ ले हरायो भने अर्को प्लेअफ खेलमा समूह चारतर्फ स्विटजरल्यान्डले इटालीलाई ४–१ ले निराश पारेको थियो । यो हारसँगै दुई पटकको विश्व च्याम्पियन इटालीको समूह चरणबाट बाहिरिनुपरेको थियो । यो प्रतियोगितामा सबैभन्दा कमजोर टोली एसियाली राष्ट्र दक्षिण कोरिया साबित भयो ।

हंगेरीसँग दक्षिण कोरिया ९–० ले हा-यो भने टर्कीले दक्षिण कोरियालाई ७–० ले पराजित ग¥यो । दक्षिण कोरियाले पश्चिम जर्मनीसँग भने खेल्नुपरेन । किनभने दुबै टोली वरीयताविहीन भएको हुँदा फिफाको नियमअनुसार नखेलाइएको थियो । त्यतिबेला, पश्चिम जर्मनीले फिफा वरीयता प्राप्त गरेको थिएन । दोस्रो विश्वयुद्ध समाप्तिपछि जर्मनी टुक्रिएर पूर्व र पश्चिम जर्मनीमा राष्ट्र बाँडिएको थियो ।

क्वार्टरफाइनल

पहिलो क्वार्टरफाइनल खेलमा नै स्तब्ध नतिजा निस्क्यो । अस्ट्रियाले आयोजक राष्ट्र स्विट्जरल्यान्डको सपनामा तुषारापात गरेको थियो । यो खेलमा कुल १२ गोल भएको थियो । अस्ट्रियाले ७–५ ले नतिजा आफ्नो पक्षमा गरेको खेलमा स्विट्जरल्यान्ड २४ मिनेटसम्म ३–० को अग्रतामा थियो । यसपछि खेल नाटकीय रुपमा घडी घडी नतिजा परिवर्तन भइरह्यो । २५, २६ र २७ मिनेटमा तीन गोल फर्काएर अस्ट्रियाले खेल ३–३ मा खुम्च्यायो । ३२औं मिनेटमा ओक्विर्क र ३४औं मिनेटमा कोर्नरले गोल गरेपछि अस्ट्रियाले ५–३ को अग्रता बनायो । यसको ५ मिनेटपछि स्विस खेलाडी बलियामानले गोल गरेर नतिजा ५–४ मा खुम्च्याएका थिए ।

यो नतिजाले दोस्रो हाफमा के हुने खुलदुली नै बनाएको थियो । तर, पहिलो गोल अस्ट्रियाले नै गरेर खेलमा ६–४ को अग्रता लियो । वांगेरले ५३औं मिनेटमा गोल गरेका थिए । यो उनको खेलमा ह्याट्रिक गोलसमेत थियो । यसपछि ह्याट्रिक गर्ने पालो स्विस खेलाडीको थियो । जोसेफ हुगीले ६०औं मिनेटमा गोल गरेर ह्याट्रिक पूरा गरेका थिए । यसको बाबजुद स्विस टोली ६–५ ले पछि थियो । ७६औं मिनेटमा प्रोब्सटले गोल गरेर अस्ट्रियालाई ७–५ को अग्रतामा राखे । यसपछि, दुवै टोलीले गोल गर्न नसकेपछि अस्ट्रियाले सेमिफाइनलको यात्रा तय ग¥यो ।

अर्को सेमिफाइनलमा भने खासै प्रतिस्पर्धा भएन । हंगेरीले ब्राजिललाई ४–२ ले हरायो भने उरुग्वेले इंग्ल्यान्डविरुद्ध सोही नतिजा आत्मसात गरेको थियो । पश्चिम जर्मनीले युगोस्लाभियालाई २–० ले हरायो । ब्याटल अफ बर्नको नामले परिचित खेलमा हंगेरीले ब्राजिललाई पूरै दबाबमा राखेको थियो । ब्राजिल गत संस्करणको फाइनल खेलेको टोली थियो । तर, यो विश्वकपमा ब्राजिलबाट योग्य खेल पस्कन भने सकेन ।

सेमिफाइनल

अस्ट्रिया र हंगेरी फाइनलमा पुग्ने सबैको अनुमान थियो । हुन पनि यी दुवै टोली उत्कृष्ट पनि थिए । तर, आश्चर्यजनक नतिजा निकाल्यो पश्चिम जर्मनीले । जर्मन टोलीले अस्ट्रियालाई ६–१ ले पराजित गरेको थियो । अर्को खेलमा हंगेरीको जित स्वाभाविक नै बनेको थियो । हंगेरीले डिफेन्डिङ च्याम्पियन उरुग्वेलाई सहजै ४–२ ले पराजित गरेको थियो । योसँगै हंगेरीले प्रतियोगिताभरि २७ गोल ग¥यो । तेस्रो स्थानको लागि भएको खेलमा अस्ट्रियाले उरुग्वेलाई ३–१ ले हराएको थियो ।

हंगेरी पराजित भयो

प्रतियोगिताभरि गोलको वर्षा गरेको, कोकसिस, जीबोर, हिडेगकुती, पुस्कास जस्ता उत्कृष्ट खेलाडी थिए । अर्को मे १९५० देखि एक खेल पनि हारेको थिएन । सबैको अनुमान थियो हंगेरीले विश्वकप जित्नेछ । तर, जर्मनीले यो हुन दिएन । जर्मनी टोली अन्तसम्म पनि हार नमान्ने टोलीको रूपमा त्यतिबेलादेखि नै चिनिन्छ । आफ्नो पोस्टमा गोल खाए पनि गोल फर्काउन सक्ने क्षमता रहेको जर्मनी टोलीलाई हलुको रूपमा मूल्यांकन गर्नु हंगेरीको लागि दुर्भाग्य साबित भयो ।

खेल शुरु भएको ८ मिनेटमै हंगेरीले २–० को अग्रता लिएर सबैको अनुमानलाई दरो बनायो । चोटको कारण खेल्न नमानेका पुस्कासलाई जबर्जस्ती टोलीमा समेटिएको थियो । यसको नतिजा पनि सही नै आयो । उनले खेलको छैटो मिनेटमा गोल गरेर हंगेरीलाई १–० को अग्रतामा राखे । त्यसपछि, जिबोरले आठौं मिनेटमा गोल गरेपछि हंगेरीले अझ गोल बर्साउने अपेक्षा गरिएको थियो । तर, जर्मनीले ८ मिनेटमा दुई गोल गरेर खेल २–२ मा पु¥यायो ।

मोर्लकले १० औं मिनेटमा गोल गरेर गोलअन्तर २–१ मा खुम्च्याएका थिए । १८ औं मिनेटमा राहनले गोल गरेपछि खेल बराबरीमा पुगेको थियो । यसपछि भने दुवै टोलीबीच घमासन प्रतिस्पर्धा भए पनि पाँचौं गोल आउन सकेन । जसले गोल प्रहार ग¥यो त्यो टोली जित्ने अवस्थामा थियो । यो मौका जर्मनीले नै लियो । राहनले ८४औं मिनेटमा गोल गरेर जर्मनीलाई ३–२ को अग्रतामा राखे । तर, पुस्कासले यसपछि गरेको गोल अफसाइड घोषित गरिदिँदा जर्मनीले उपाधि उचाल्न पाएको थियो ।

क्वार्टरफाइनल

पश्चिम जर्मनी २–० युगोस्लाभिया
अस्ट्रिया ७–५ स्विट्जरल्यान्ड
उरुग्वे ४–२ इंग्ल्यान्ड
हंगेरी ४–२ ब्राजिल

सेमिफाइनल

पश्चिम जर्मनी ६–१ अस्ट्रिया
(दर्शकसंख्या: ५८ हजार)
हंगेरी ४–२ उरुग्वे
(दर्शकसंख्या: ४५ हजार)
तेस्रो स्थान: अस्ट्रिया ३—१ उरुग्वे

फाइनल:
पश्चिम जर्मनी ३ (मोर्लक १०, राहन १८, ८४)
हंगेरी २ (पुस्कास ६, जिबोर ८)
(दर्शकसंख्या: ६२ हजार ५ सय)
कुल गोलसंख्या: १४० गोल
सर्वाधिक गोलकर्ता: सान्डोर कोक्सिस (हंगेरी) ११ गोल

प्रतिक्रिया दिनुहोस्