ललितपुर निर्वाचनको सवाल, चर्चामा छन् सिलवाल



देशको राजधानी उपत्यकामा भएर पनि राष्ट्रिय राजनीतिको केन्द्रमा ललितपुरको प्रभावशाली उपस्थिति दशकौंदेखि प्रायः न्यून थियो । ललितपुरले देशको परिवर्तनका लागि राजधानी केन्द्रित आन्दोलनमा निकै ठूलो योगदान दियो, तर राष्ट्रिय नेतृत्व जन्माउने सवालमा ललितपुर क्षेत्र नं. १ सधैँ पछाडि नै थियो ।

देशको सुरक्षा प्रणाली हाँक्ने प्रमुख सुरक्षा संयन्त्र, नेपाल प्रहरीको नेतृत्व छनोट प्रक्रियामा राजनीतिक रुपमा देखिएका थुप्रै विकृतिका बीच, देशको सुरक्षा अंगको प्रमुख हुनुपर्ने व्यक्ति एकाएक राजनीतिको केन्द्रमा देखिए, उनी थिए नवराज सिलवाल ।राष्ट्रिय स्तरमा हस्तक्षेप गर्न सक्ने क्षमता भएका युवा नेता नवराज सिलवालले युएन लगायतका अन्तर्राष्ट्रिय संस्थामा विकासको अनुभव सँगालेका छन् ।

समुदायको विकासका लागि कस्तो खालको नीति निर्माण एवं प्रयोग हुनुपर्छ भन्ने कुरा उनले विश्वका गरिब र द्वन्द्वग्रस्त मुलुकहरुमा काम गर्दा अनुभव सँगालेका छन्, जुन नेपालको लागि महत्वपूर्ण हुन सक्छ । विकाससँगसँगै अनुसन्धानको क्षेत्रमा पनि सिलवालको अनुभव र दक्षता एकदमै महत्वपूर्ण छ ।सीआईबीको नेतृत्व तहमा पुगेका सिलवालले देश, समाज, राजनीतिक अवस्थासँगै राज्य सञ्चालनमा भएका थुप्रै विकृतिहरुलाई निकै नजिकबाट अध्ययन गर्ने मौका पाएका छन् । ठूल्ठूला अपराध र भ्रष्ट्राचारका काण्डहरुलाई कारबाहीको तहमा पु¥याउन सिलवालको मुख्य योगदान छ ।

सुरक्षाको क्षेत्रमा खास गरी राज्य प्रणालीको सुरक्षा व्यवस्थालाई जनताको सेवामा कसरी एकाकार गर्न सकिन्छ भन्ने मान्यता स्थापित गर्न नवराज सिलवालको ठूलो योगदान छ । नेपाल प्रहरीको संगठनात्मक क्षमता विस्तारमा, नीतिगत एवं दूरगामी महत्वका क्षेत्रमा सिलवालले राम्रो भूमिका र्निवाह गरेका छन् । समाजमा देखिएका थुप्रै विकृति र विसंगतिका बीचबाट देशको सुरक्षा बागडोर सम्हाल्ने अवस्थामा पुगेका स्वच्छ छवि भएका सिलवाल विकृत राजनीतिक छलछामको चेपुवामा परे, उनी त्यही विकृत राजनीतिलाई सफा गर्ने अनि ललितपुरवासीको सेवामा लाग्ने अभियानमा अहिले हिँडेका छन् ।

नवराज सिलवाल समयले जन्माएको नेतृत्व हो । समय र आवश्यकताले जन्माएका नेतृत्व वास्तवमै समाजप्रति उत्तरदायी हुन्छन् । राजनीतिक मैदानमा उत्रेपछिको पहिलो कार्यकाल सिलवालका लागि केही सिकाइको कार्यकाल पनि थियो । ३०औं वर्षदेखि राजनीतिमै रहेका प्रतिद्वन्द्वीहरुलाई हराएर आफ्नो जन्मस्थानमा सेवा थालेका सिलवालले ललितपुरमा विकास र्निमाणका सवालमा थुप्रै कामको थालनी गरेका छन् ।

गोदावरीमा निर्माण भएको अन्तर्राष्ट्रिय स्तरको सनराइज सम्मेलन केन्द्र जुन गोदावरीलाई संसारभर चिनाउनका लागि एउटा महत्वपूर्ण कोसेढुङ्गा साबित भएको छ । सडक सञ्जालको क्षेत्रमा खास गरी सडकको स्तरोन्नति गर्न, बहुआयामिक ललितघुम्ती सडक, हाडेंगाउँदेखि गोदावरी बसपार्कसम्मको सडक विस्तार आयोजना, रणनीतिक सडकअन्तर्गत डुकुछाप, छम्पी, खसिमारा हुँदै कोड्कुसम्मको बाटो पिचलगायतका ३ दर्जन बढी सडक पूर्वाधार विकासका क्षेत्रमा नवराज सिलवालले काम थालनी गरेका छन् ।

पर्यटन, शिक्षा, स्वास्थ्यलगायतका पूर्वाधारको क्षेत्रमा एउटा संसद्ले गर्न सक्ने हैसियतको कामभन्दा धेरै कामको थालनी गरेका छन् । जति काम गरेका छन्, त्यसमा इमानदारीपूर्वक गरेका छन् । भ्रष्टाचार, अनियमितता, नातावाद, परिवारवादबाट निकै टाढा छन् । सुरक्षा र अनुसन्धानको स्कुलिङ भएका कारणले पनि होला, नवराज सिलवालको राजनीतिक यात्रा पनि स्वच्छ छ ।
ललितपुर क्षेत्र नं. १ को सवालमा हेर्दा नवराज सिलवाल, उदयशम्शेर राणा, सन्दीप आचार्य मुख्यतया यिनै उम्मेदवारहरु प्रतिनिधिसभाको चुनावी यात्रामा होमिएका छन् । कार्यक्षमता, जनतासँग घुलमिल हुने क्षमता, ललितपुरमै हुर्केको, बुझेको, जनताको सहज पहुँचमा भएको, नैतिकता र अनुशासनको सवालमा पनि सिलवाल निकै उचो छन् ।

एउटा सामाजिक व्यक्तित्वको आँखाले हेर्दा कसैप्रति पूर्वाग्रही नभई, न्युट्रल भएर हेर्दा ललितपुर १ का आमजनताको लागि सबैभन्दा योग्य उम्मेदवारको रुपमा सिलवाल नै भएको प्रतिक्रिया, चिया चौतारोहरु, बैठक स्थललगायत सार्वजनिक चर्चामा बौद्धिक जमात र सर्वसाधारणहरुले चर्चा गरेको देखिन्छ ।

अर्को कुरा, निर्वाचनलाई वंशीय बिर्ताजस्तै गरेर तीसौं वर्षसम्म पद ओगटेर बस्ने परिपाटीको विरोधी हुन् सिलवाल । यो पटक विज्ञहरुसँगको सहकार्यमा ललितपुरमा दूरगामी योजनासहित राम्रो–राम्रो काम गरेर जनताको सेवा गर्ने अभियानको थालनी गरेका छन् उनले ।

आफूले थालनी गरेका कामहरुलाई पूर्णता दिनुका साथै ललितपुर १ लाई देशकै रोलमोडलको रुपमा विकास गर्ने योजनामा उनी छन् । त्यसकारण यसपटक अन्तिमपटक भनेर उल्लेख्य योगदान र सेवाको प्रतिबद्धतासहित सिलवाल संसदीय यात्रामा होमिएका हुन् ।

समाजलाई सही तरिकाले न्याय दिलाउनका लागि उनका योजना र कुनै काममा लागेपछि त्यसलाई सही तरिकाले सम्बोधन नगरी विश्राम नलिने सिलवालको स्वभावका कारण पनि ललितपुरका लागि उनी निकै लोकप्रिय र योग्य नेता बन्न सफल भएका छन् ।
(लेखिका मानन्धर नेपाली चलचित्र जगत्की लोकप्रिय अभिनेत्री तथा निर्मात्री हुनुका साथै नेकपा (एमाले) सँग सम्बद्ध हुनुुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्