कोही किन बरबाद होस् ?



साढे पाँच दशकअगाडिको कुरा हो । म त्यसताका बालाजुस्थित वनस्थली विद्याश्रम बोर्डिङ हाइस्कुलमा पढाउँथे । आफैँ पनि सरस्वती कलेजको स्नातक अन्तिम वर्षको विद्यार्थी थिएँ । मैले पढाउने विषय नेपाली थियो ।

पढाउने क्रममा मैले त्यहाँका शिक्षकहरुबाट विजय मल्ल र उनको नाटक ‘कोही किन बर्बाद होस्’ को पृष्ठभूमिबारे सुन्न पाएँ । कुनै समय नाटककार विजय मल्ल पनि शिक्षक हुनुहुन्थ्यो । स्कुलमा एकजना पढाइविमुख विद्यार्थी देखेर उहाँलाई त्यसप्रति जिज्ञासा जाग्यो । विभिन्न माध्यमबाट खोजीनीति गर्नुभयो । उहाँ सहृदय र संवेदशील त हुनुहुन्थ्यो नै । त्यो विद्यार्थी फरक बानी बेहोरको भएको र पढाइविमुख भएको कारण उसको मनमा परेको चोट हो भन्ने कुरा थाहा भएपछि विद्यार्थीप्रति नाटककारका मनमा सहानुभूति बढ्यो । अरु शिक्षकहरु त्यस विद्यार्थीको निर्मम आलोचना गर्थे । खिसिट्युरी गर्थे ।

कुनै शिक्षकले त अरु शिक्षक–विद्यार्थीका अगाडि त्यस विद्यार्थीलाई होच्याएर गाली पनि गर्थे । कान पनि निमोठ्थे । बालमनोविज्ञानको जानकारी भएका कवि एवम् नाटककार मल्ल भने त्यस विद्यार्थी बालकप्रति अति नै संवेदनशील हुनुहुन्थ्यो । अभिभावकहरु र शिक्षक–शिक्षिकाहरुको घैँटामा घाम छिराउने मनसायले उहाँले विकृत बालमनोविज्ञानको पक्ष पक्डेर एउटा नाटक लेख्नुभयो । त्यस नाटकको शीर्षक थियो ‘कोही किन बरबाद होस्’ ।

‘कोही किन बरबाद होस् !’ यो आघातपीडित कुनै पनि बालकमाथि विद्यालयले लिनै पर्ने चिन्ता हो । जनताप्रति दायित्वशील सरकार भएका मुलुकमा यो सरकारले लिने चिन्ता हो । समाज र परिवारले लिने चिन्ता हो । समाज, परिवार र सरकार मुलुकका बालबालिकाप्रति संवेदनशील र दायित्वशील हुन नसकेको हाम्रो जस्तो मुलुकमा अरु नभए पनि विद्यालय प्रशासन र विद्यालय शिक्षकहरुले त आफ्ना कुनै पनि समस्याग्रस्त विद्यार्थी बालबालिकाका विषयमा लिनै पर्ने चिन्ताको कुरा हो ।

आजको नेपाली परिवेशमा समस्याग्रस्त विद्यार्थीलाई समस्याबाट उतार्न सम्बन्धित विद्यालयले पनि प्रभावकारी प्रयास गर्दैन भने अरु कसले गर्छ ? यो विद्यार्थीमैत्री विद्यालयको त अझ अग्रिम दायित्व नै हो ।बूढा–पुरानाहरु भन्थे, ‘परिवारमा आमा मायाममताको भकारी हुन् भने बाबा पथप्रदर्शनको जाज्वल्यमान बत्ती हुन् । आमाको माया र बाबाको मार्गदर्शनमा बालबालिकाहरु स्वस्थ र सक्षम बनेर हुर्कन्छन् ।’आज त्यो समय छैन । जीविकाका लागि कमाउन बाबा–आमा दुवै हतार–हतार गाँस टिपेर वा नटिपेरै पनि काममा दगुर्नुपर्ने आजको अवस्थामा विद्यालय नै बालबालिकाको संस्थागत आमा हो, बाबा हो ।

विद्यालयमा बालबालिकाहरुले मायाममताको न्यानो पाउनुपर्छ, आडभरोसा पाउनुपर्छ । व्यक्तित्व विकासको पर्याप्त प्रोत्साहन र मार्गदर्शन पाउनुपर्छ । विद्यार्थी बालबालिकाले विद्यालयमा पनि यो अवसर नपाए अन्यत्र कहाँ पाउने ?आज पाश्चात्य संस्कृतिका विकृतिहरुले ग्रस्त शिक्षित भनाउँदा पुरुषहरुमा सम्बन्धविच्छेदको बदनियतजन्य पराक्रमले कति बालबालिका बाउको स्नेह, सौहार्द एवम् पथप्रदर्शन, आमाको मायाममतामयी काखबाट वञ्चित हुनुको मर्मान्त आघात बेहोरिरहेका अवस्थामा छन् ।

परिवारभित्रै पनि हेला होचो र विभेद बेहोरिरहेका अवस्थामा छन् । क्षण–क्षण असाधारणरुपमा पीडाबोध गरिरहेका अवस्थामा छन् । यसको सोझो असर तिनको शिक्षण सिकाइमा परिरहेको हुनसक्छ । फलतः तिनीहरु पढ्नमा लगनशील हुन नसक्ने र जाँचमा अपेक्षित अङ्क ल्याउन नसक्ने अवस्थामा रहेका हुन सक्छन् । यस्तोमा तिनलाई विद्यालयमा बढी मायाममता र पथप्रदर्शन अनि प्रोत्साहनको आवश्यकता रहन सक्छ । यो संवेदनशीलता बुझेर कक्षामा शिक्षक–शिक्षिकाले ध्यान दिन सक्दा त ठिक्कै होला । शिक्षक–शिक्षिकाले त्यस्ता विद्यार्थीप्रति संवेदनशील र मायालु भइदिन नसक्दा विद्यार्थी अरु भड्किने अवस्था आउन सक्छ ।

आघातपीडित विद्यार्थी प्रायः आत्मकेन्द्रित हुन्छन् । सामान्य गाली र आलोचना पनि सहन नसक्ने अवस्थामा हुन्छन् उनीहरु । तिनलाई अरुका अगाडि हप्काउनु, कडा आलोचना गर्नु र यसले पढ्दैन, यो फेल हुन्छ भन्नेजस्ता नकारात्मक टिप्पणी गर्नु भनेको उसको आघातमाथि आघात थप्नु हो । साथै उसलाई शिक्षण सिकाइबाट अरु भड्काउनु हो । शिक्षक–शिक्षिकाले सम्मानजनक व्यवहार गर्दा, सानै उपलब्धिमा पनि कक्षामा प्रशंसा गर्दा, मायालु व्यवहार गर्दा यस्ता आघातपीडित बालबालिकाले राहत महसुस गर्न सक्छन् ।

शिक्षक–शिक्षिकाका यस्ता सकारात्मक र प्रोत्साहनपरक व्यवहारबाट यस्ता आघातपीडित बालबालिकाको मन हलुका हुन सक्छ । मायाममताको अनिकालमा बाँचेका बालबालिकाका लागि माया नै अमृत हो र रसायन हो । शिक्षक–शिक्षिकाबाट पाइने थोरैै मायाले तिनीहरुको व्यक्तित्व सम्हालिन पनि सक्छ । डुब्न लागेकालाई सहारा भनेजस्तै हुन पनि सक्छ ।यसो हुनु एउटा होनहार बिरुवा निमोठिनुबाट जोगिनु हो । यसो हुनु परिवार, समाज र देशका लागि ठूलो उपलब्धि हो । बिमाख हुनुबाट जोगिनु हो । राष्ट्रिय कोणबाट हेर्दा एउटा असल र सक्षम नागरिक निर्माण हुनु मुलुकको भाग्य र भविष्यका लागि चानचुने उपलब्धि होइन । एक शिक्षकले मुलुकलाई दिन सक्ने यसभन्दा मूल्यवान् सेवा अरु के हुन सक्छ ? योभन्दा ठूला संवेदनशीलता र कर्तव्यपरायणता अरु के हुन सक्छ ?

यस्तो संवेदनशीलता र कर्तव्य परायणताजस्ता अनमोल गुण आजका दुनियाँमा जीवन र जगत् बुझेका विद्वान् शिक्षक–शिक्षकाहरुबाट मात्र अपेक्षा गर्न सकिन्छ । भावसंवेदनाले ओतप्रोत भएका गुरु, गुरुआमा, व्यक्तित्वहरुबाट मात्र अपेक्षा गर्न सकिन्छ । आघातपीडित बालबालिकालाई आश्वासन र भरोसाका मायालु हात अघि बढाएर उद्धार गर्नु भनेको खाडलमा खसेका विपन्न मानिसलाई विभिन्न उपायले माथि तान्नु र बचाउनुजस्तै हो । हैन र ?

अप्ठ्यारामा परेका विद्यार्थी बालबालिकाप्रति शिक्षक–शिक्षिकामा हुनुपर्ने यो संवेदना र दायित्वको आवश्यकताबोध भावले विख्यात नाटककार विजय मल्ललाई छोयो र उहाँमा कोही किन बरबाद होस् ? भन्ने उच्च मनोभावको उदय भयो । एउटा दृष्टान्तका रुपमा कालजयी नाटक दिएर नेपाली शिक्षक समाजलाई उहाँले रुपान्तरणकारी सन्देश छोड्नुभएको छ ।
नाटककार विजय मल्लका समयका तुलनामा आज पश्चिमा सभ्यताको विघटनकारी असर र दम्पतीबीच कलह एवम् सम्बन्ध विच्छेदका विकृति–विसङ्गतिहरु दशौँ गुना बढेको छ ।

आघातपीडित बालबालिकाहरुको सङ्ख्या पनि स्वाभाविक रुपमा त्यत्तिकै अनुपातमा बढेको छ । सामाजिक तथा मानवीय दायित्वबोध गर्ने विवेकशील शिक्षक–शिक्षिकाका लागि दायित्व पनि त्यत्तिकै बढेको छ । यो कुरा आज विद्यार्थीमैत्री भनिएका महँगा र चर्चित विद्यालयहरुमा पनि चर्चामा छैन । किन ?मैले काठमाडौंको चक्रपथ भेगमा रहेको एक चर्चित विद्यालयका एकजना पाका शिक्षक मित्रसँग यस विषयमा सोधेँ । उहाँले भन्नुभयो, ‘हामी घण्टीले चलाइने निख्खरा जागिरे भएका छौँ, यदाकदा राजनीतिले पनि कुतकुती लगाउँछ र नेताका चाकरीमा दगुराउँछ, हामी विद्यार्थीका बारेमा त सोच्नै भ्याउँदैनौँ । यसरी सोच्न हामीलाई कुनै प्रोत्साहन पनि छैन ।

इन्सेप्टिव नै छैन ! विद्यालयका सञ्चालकहरु हेर्दाहेर्दै बर्सेनि महल थप्छन्, कार थप्छन्, हामी खुट्टामा ठेला थप्छौँ । हेर्नुस् न मसँग अहिलेसम्म एउटा बाइकसम्म छैन । लेफराइटमै छु । यति खट्दा पनि परिवार पाल्न धौ–धौ छ । अनि हामीजस्ता गोरु शिक्षकले कक्षामा कुन विद्यार्थी कुन मनोविज्ञान बोकेर आइपुगेको छ, कसले कस्तो आघात बेहोर्दै छ भन्नेजस्ता मिहीन कुरा कुन जाँगरले अध्ययन–अनुसन्धान गर्ने र सहयोग पु¥याउने ?’

उहाँले निरन्तर भन्दै जानुभयो, ‘पहिले यथा राजा तथा प्रजा भन्थे, अहिले यथा नेता तथा जनः अर्थात् जस्ता नेता त्यस्तै जनता । यहाँ नेता नै भ्रष्ट छन् । राजनीतिलाई ठगी पेसा बनाइहिँड्छन् । यसैले यहाँ शिक्षण पनि सेवा रहन पाएन, पेसा भइदियो । राजनीतिजस्तै दायित्वविहीन पेसा भइदियो शिक्षण । राजनीतिले सबभन्दा बढी दगल्च्याएको क्षेत्र नै शिक्षण क्षेत्र होइन र ?’
शिक्षक मित्रले मेरो आँखामा आँखा जुधाउँदै र मुस्कुराउँदै भन्नुभयो, ‘तपाईं पनि त पूर्वशिक्षक हो । हो, तपाईं शिक्षक हुँदाका समयमा शिक्षा क्षेत्र यतिसम्म विकृत भइसकेको थिएन, जति अहिले छ । अहिले शिक्षक आफैँ विवश छ त सिर्जनात्मक के गर्न सक्छ ? भन्नुस् त !’

मैले अनायास दीर्घ निःश्वास छोडेँ । छोडेँ पनि के भनुँ ? निःश्वास आफैँ छुट्यो । किंवक्तव्यविमूढ मैले अनायास नै बिदाइको हात जोडेँ र भने, ‘फेरि भेटेर विस्तारमा कुरा गरौँला है सर, अहिले म जान्छु ।’

प्रतिक्रिया दिनुहोस्