नेपाल संवत्मा तिथि विचलन– प्रायोजित कि भवितव्य ?



नेपालमा अनेक प्रचलित संवत्हरूमध्ये नेपाल संवत्लाई मौलिक संवत्को मान्यता प्राप्त छ । यसका प्रर्वतक शंखधर साख्वाःलाई राष्ट्रले राष्ट्रिय विभूति घोषणा गरेको छ ।

नेपाल संवत्लाई नेपालको राष्ट्रिय संवत् भनी सरकारले मान्यता दिएको छ । तर, नेपाल पञ्चाङ्ग समितिले नेपाल संवत्का तिथिमितिहरू जहिले पनि विवादमा ल्याएर यसको उपायदेयातामाथि प्रश्न चिह्न खडा गर्ने, जनमानसमा भ्रम छर्ने षड्यन्त्र गर्नेगरेको छ । यसको परिणामस्वरूप नेपाल संवत्का तिथिमितिमा आस्था राख्नेहरूबीच विवाद मात्र होइन विभाजन नै हुन थालेको छ । यो नियोजित हो वा भवितव्य हो, यसको अध्ययन हुन आवश्यक भएको छ ।

नेपालको आफ्नै संवत्सम्बन्धी नीतिहरू नहुनाका कारण यहाँका मौलिक संवत्हरू ओझेलमा पार्न खोजिँदै छ । नेपालका आदिवासी, मूलवासीहरूले विभिन्न संवत्हरू मनाउँदै आइरहेका छन् । तिनीहरूको सामाजिक र धार्मिक जीवन तिनै मौलिक संवत्मा आधारित रहेको छ । तर, यहाँका मौलिक संवत्हरूलाई सरकारले मान्यता नदिई विक्रम संवत् र इस्वी संवत्लाई मान्यता दिइरहेको पाइन्छ । विक्रम संवत्लाई भारतीय संवत् भारतीय राजा विक्रमादित्यद्वारा प्रतिवादित व उनको नाममा चलाइएको संवत् भनिन्छ । इस्वी संवत् क्रिश्चियन धर्ममा आधारित जिसस् क्राइस्टको नाममा निर्मित संवत् भन्ने मान्यता विश्वव्यापी छ । तर, नेपालकै मौलिक संवत्लाई राष्ट्रले किन चलनमा ल्याइरहेको छैन, जबकि, सम्पूर्ण नेपालीहरूको जनजीवनको धार्मिक, सांस्कृतिक आधार नेपाल संवत्का तिथिमितिमा आधारित रहेको छ ।

 

संवत्को इतिहासको विवेचना गर्दा सबैभन्दा पुरानो प्रचलित संवत् बुद्ध निर्माण संवत्लाई लिइने गर्दछ । बुद्धको परिनिर्वाणको तिथि गणनाको निमित्त परिनिर्वाण पश्चात् यस संवत्लाई प्रचलनमा ल्याइएको विवरण अनेक शिलापत्र, बौद्ध ग्रन्थहरूका उल्लेखित रहको छ । पूर्वी देशहरूमा बुद्ध निर्माण संवत्, वीर संवत्, मौर्य संवत् र शक संवत्का इतिहासहरू पाइन्छन् । पाश्चात्य देशमा जुलियन र गार्गीयन क्यालेन्डर (संवत्)को प्रचलन पाइन्छ । पूर्वीय संवत्मा सबैभन्दा व्यवस्थित र वैज्ञानिक शक संवत् मानिन्छ । यस संवत्को प्रणेता राजा कनिष्क हुन् ।

मौर्य सम्राट अशोक (२७३–२३२) इशापूर्व बुद्ध अनुयायी बनी भगवान बुद्ध र उनको दर्शन, शिक्षा प्रचारमा व्यापकरूपमा लागे । उनले बौद्ध धर्मको प्रचार प्रसार भारतलगायत श्रीलंङ्का, अफगाननिस्थान, पश्चिम एसिया, इजिप्ट र ग्रीकमा समेत गरे । सम्राट अशोकले भगवान बुद्धसँग सम्बन्धित स्थानहरूमा स्तम्भ खडा गरे । यसै क्रममा सिद्धार्थ गौतम, भगवान बुद्ध जन्म भएको स्थान नेपालको लुम्बिनीमा पनि अशोक स्तम्भ खडा गरे, जुन हालसम्म पनि विद्यमान रहेकै छ ।

त्यसरी नै राजा कनिष्क पनि भगवान बुद्धका अनुयायी थिए । कनिष्क दोस्रो शताब्दीमा कुषाण राजवंशका भारतका सम्राट हुन् । राजा कनिष्कको पनि भगवान बुद्धको शिक्षा दीक्षा प्रचारमा ठूलो योगदान रहेको र सबैभन्दा पहिले बुद्धका मूर्तिहरू बनाउन लगाउने उनी नै थिए । आम जनतासमक्ष बुद्ध शिक्षा पु¥याउनको निमित्त उनले बुद्धका मूर्तिहरू निर्माण गर्न लगाएको विश्वास गरिन्छ । इतिहासकारहरूको भनाइअनुसार कनिष्कले इस्वी १२७ देखि १५० सम्म भारतमा शासन गरेका थिए । यही शासनकालमा शक संवत्को आरम्भको तिथि मानिन्छ । वीर निर्माण संवत्को ६०५ वर्षपछि शक राजाहरूले शासन गरेको तथ्य भारतीय जैन सम्प्रदायको इतिहासले पनि स्वीकारेको छ ।

कुनै समय अति प्रभावकारी रहेको बुद्धधर्मको प्रभाव भारतमा कम हुँदै गएपछि बुद्ध धर्मका अनेकौ सम्पदामाथि ब्राम्हणधर्मको प्रभाव बढ्दै गए । शक संवत्को प्रचलन भारतमा गुप्तकालमा हिन्दू संस्कृतिको रूपमा विकसित भएको थियो । शक संवत् ७ औ शताब्दीसम्म यसको पूवर्तिरूपमा नै निरन्तर रहेको थियो । सन् १९५७ मा यस संवत्लाई भारतको राष्ट्रिय संवत्को रूपमा मान्यता प्राप्त भयो ।पाश्चात्य मुलुकमा प्रचलित इस्वी संवत्का ग्रागीयन क्यालेन्डरमा पनि अनेक उतार चढावपछि हाल यो संवत् विश्वभर नै प्रचलनमा रहेको छ । क्रिश्चिन धर्म या गुरु जिसस् क्राइस्टको जन्मसाल सन् ५२७ इटालीया पादरी डायोनिसियस इसिगोरिजले निर्धारण गरेपछि इस्वी संवत् अर्थात एडीलाई विश्वासिलो व वैज्ञानिक आधारमा एडी, अर्थात् जिसस क्राइस्ट जन्मिएको वर्षलाई एक वर्ष मानेर क्यालेन्डर बनाइयो । जिसस जन्मिनु अगाडिको समयलाई बीसी अर्थात् बिफोर क्राइस्ट भनियो ।

तिथि गणनाका मुख्य आधार सूर्य गति र चन्द्र गतिलाई लिइन्छ । सौर्य गतिमा आधारित क्यालेन्डर (वर्ष)लाई सौर्यमास भनिन्छ । एक वर्षमा यसको दिन गन्ति ३६५ रहन्छ । चन्द्रगतिमा आधारित क्यालेन्डर (वर्ष) लाई चन्द्रमास भनिन्छ । यसको एक वर्षको दिन ३५४ मात्र हुन्छ । पूर्वीय देशमा प्रचलित संवत्हरू प्राय चन्द्रमासको रहन्छ भने इस्वी संवत् पनि पहिला चन्द्रमासमा नै आधारित थिए । पछि यस्लाई सौर्य मासमा परिणत गरिएको थियो ।नेपालमा प्रचलित संवत्हरूमध्ये मानदेव संवत् र नेपाल संवत्लाई मौलिक संवत्को मान्यता प्राप्त रहेको छ । यी संवत्हरू शक संवत्को आधारमा विकसित गरेका हुन् ।

मानदेव संवत् राजा मानदेवले चलाएका हुन् भने नेपाल संवत् लिच्छवी राजा राघवदेवको पालामा शंखधर साख्वाःले राजाको अनुमतिमा चलाएको मान्यता रहेको छ । विश्वमा जति पनि संवत्हरूको स्थापना भए, ती सबै धर्म वा राजाको नाममा प्रतिस्थापित गर्ने चलन रहेकोमा शंखधर साख्वाःले चलनमा ल्याएको संवत् शंखधरकृत नेपाल संवत् नामकरण भएको छ । यसरी नेपल संवत् एकै मात्र विश्वमा नै राष्ट्रको नाममा समर्पित संवत् भइदिएको छ ।

नेपाल संवत् वि.सं. ९३७ कात्तिक शुक्ल प्रतिपदाको दिनदेखि नेपालमा नयाँ संवत् शुरू भएको भन्ने कुरामा अहिले विवाद छैन । पाटन सुन्धाराको धर्म मल्लको पालामा कलिगत संवत्, विक्रम संवत् र नेपाल संवत्लाई एकै ठाउँमा उल्लेख गरेको विषय आदिले नेपाल संवत्को सुरूवातबारे विवाद गर्नुपर्ने ठाउँको अन्त्य गरेको छ । सो अभिलेखमा कलिगत संवत् ४५०५, विक्रम संवत् १४६१, शक संवत् १३२६ र नेपाल संवत् ५२४ उल्लेख गरिएको छ । यसले विक्रम संवत्को ९३७ वर्षपछि नेपाल संवत् शुरू भएको कुरालाई पुष्टि गरेको छ । यस्को वर्ष एकिन भए तापनि दिन गणनामा विवाद रहेको छ ।
नेपाल संवत् चन्द्रगतिमा आधारित रहेकोले यसको दिन गन्तीमा घडी पलाको थपघटका कारण यसका तिथिहरू टुट्ने वा बढी हुने गर्दछ । यसको समाधानको निमित्त विभिन्न तन्त्रहरूमा समाधानहरू उल्लेख गरेको पाइन्छ, तर ती फरक फरक प्रकृतिका रहेको छन् । तर, यस संवत्का प्रयागकर्ताहरूले यसको व्यावहारिक समाधान अपनाउँदै यसै संवत्का आधारमा आफ्ना दैनिकी धार्मिक, सामाजिक, तथा जात्रा पर्वहरूलाई मनाउँदै आइरहेको छ ।

राणा शासन कालमा नेपाल संवत् व नेपाल भाषालाई राणा प्रधानमन्त्रीहरूले निमिट्यान्न पार्ने कार्य राज्यस्तरबाट नै गरे । यी भाषा र सम्वत उल्लेखगरिएका कुनैपनि कागजातलाई अदालतले मान्यता नदिने घोषणासहित विक्रम संवत्लाई राज्यमा प्रशासनिक मान्यता दिए । तर पनि सयौं वर्षदेखि चलनचल्तीमा रहेको चन्द्रमान अनुसारको नेपाल संवत्को तिथिमितिकै आधारमा सामाजिक, धार्मिक कामकाजमा स्वय्म शासकहरूले समेत मान्यता प्रदान गर्दै नेपाल संवत्को महत्ता राखे ।

पञ्चायती व्यवस्थामा राज्यले एक भाषा, एक धर्मको नारासहित मुलुकमा रहेका अन्य धर्मावलम्बीको धार्मिक, सांस्कृतिक सम्पदाहरूमा नांगो हस्तक्षेप गरेपछि कुनै समय नेपालको राजकीय संवत्को रूपमा प्रचलन रहेको नेपाल संवत्कासाथै अरू संवत्हरूको पनि हविगत नै भयो । नेपाल संवत्का तिथिमितिहरू धार्मिक कर्मकाण्डमा प्रयोग रहे तापनि यो अस्तित्वहीन जस्तै देखिन गयो ।नेपालभाषा मंकाः खलःले नेपालको राष्ट्रिय संवत् नेपाल संवत्लाई राष्ट्रले मान्यता दिनुपर्ने मागसहित ‘भिन्तुना’ आन्दोलनल देशव्याप्त गरेपछि यस्का प्रणेता शंखधर साख्वाःलाई राष्ट्रिय विभूतिको मान्यता दिए । तर, वहाँले प्रतिस्थापन गरेको तिथिमितिले आजसम्म पनि सरकारी मान्यता प्राप्त गर्न सकेको छैन । नेपाल संवत्को उपादेयता जनमानसमा कम देखाउनकै निमित्त यसका तिथि पर्वका दिन विवादित बनाउने कार्य हुँदै आइरहेको छ ।

सौर्यमासमा आधारित विक्रम संवत् भारतबाट आयतित रहेकोले यस्मा भारतीय पण्डितहरूको प्रभुत्व अति नै देखिन्छ । भारतको बनारसमा जसरी तिथिमितिहरूको आधारमा पर्व मनाउने कार्यहरू गरिन्छ यसैको प्रभाव नेपालमा पनि पार्ने कार्य गरिन थाले । कुनै समय विश्वका एकमात्र हिन्दू राजा भनी यहाँका शाहवंशीय राजाहरूलाई पुजिन थालेपद्धि हिन्दूधर्मको प्रभाव झनै बढेर नेपालको मौलिक परम्परालाई नै असर पर्ने गरी तिथिमितिहरू निर्धारण हुन थाल्यो । शाहवंशीय राजाहरूको दरबारमा राजकीय पञ्चाङ्ग समिति समेत निर्माण गरेपछि हिन्दू ब्राम्हणहरूको प्रभाव झनै बढ्दै गए ।

यहाँका आदिवासी जनजातिहरूले मान्नु नै नपर्ने जात्रा, पर्वहरूको दिन र नाम समेत परिवर्तन गरेर हिन्दूकरण गरियो ।तत्कालीन राज दरबार र पछि नेपाल सरकारको पञ्चाङ्ग समितिका तिथिहरू मान्न सरकारले आफ्ना सार्वजनिक बिदा नीतिअनुरूप बिदाहरू घोषणा गर्दै बाध्य बनाए । आफ्नै संस्कार र मान्यताअनुसार कर्म, पूजा गर्नेहरूले आ आफ्नै तरिकामा मनाउँदा बेग्ला बेग्लै मनाउन बाध्य तुल्याइए । यसरी हिन्दू पण्डित, ब्राम्हणहरूको प्रभावमा रहेको नेपाल पञ्चाङ्ग समितिले हजारौं वर्षदेखि व्यावहारिक रूपमा स्वन्ति, तीन दिनको तिथिको रूपमा बनाइने, अन्य जातिहरूले तिहारको नाममा मनाइने स्वन्तिलाई समेत पटक पटक विवादित बनाउने क्रममा यस वर्ष स्वन्तिको तीन दिवसीय पर्वलाई बिचमा खण्डित बनाई चार दिनको बनाई पात्रो प्रकाशन गरेको छ ।

नेवारहरूले परापूर्वकालदेखि मनाउँदै आएको म्हपूजा र नेपाल संवत्को नववर्ष दिनलाई विभाजन गर्ने, म्हपूजा र किजापूजा (भाइटीका) एकै दिन गर्नुपर्ने आदि विसंगतिहरू नेपाल पञ्चाङ्ग समितिले पात्रो प्रकाशन गरी नेपाल सरकारलाई पनि बाध्यात्मक रूपमा सार्वजनिक बिदा दिलाई नेपालीहरूको सबैभन्दा महत्वपूर्ण पर्वमा समेत विचलन ल्याउने कार्य पटक पटक गरिरहेको छ ।कुनै समय नेपालका राजा महाराजाको सुविधाको निमित्त बनाइएको राजकीय पञ्चाङ्ग निर्माण समितिको नाम परिवर्तन भएर नेपाल पञ्चाङ्ग समिति बनेको छ । नाम परिवर्तन भए तापनि यस्को कार्यविधिको आधार पुरानै रहेको छ । नेपालमा राजतन्त्रको अन्त्य र गणतन्त्रको उदयपश्चात् मुलुक धर्म निरपेक्ष बनेको छ । नेपालको संविधान पनि यी नै आधारमा बनी कार्यान्वयनमा समेत आइसकेको छ । मुलुक अब धर्म निरपेक्ष र गणतन्त्र बनिसकेपछि अब परम्परागत हिन्दू धर्ममा आधारित पञ्चाङ्गको औचित्य रहँदैन ।

नेपालको संविधान ७ प्रदेशमा आधारित रही प्रादेशिक सरकारले बहुभाषिक बहुजातीयको आधारमा भाषिक मान्यताको अवधारणा कार्यान्वनयमा ल्याएजस्तै सांस्कृतिक अधिकार पनि जातिको बाहुल्यतामा कायम हुनु पर्दछ । बहुजातिको धर्म पर्वको व्यावहारिक पक्ष कायम गर्न प्रादेशिकरूपमा पञ्चाङ्गहरू निर्माण गरिएमा जुन प्रदेशमा जुन जातिको बाहुल्यता रहन्छ त्यहाँ सोहीअनुरूपको धार्मिक, सांस्कृतिक पर्वहरू कायम रही मुलुक वास्तविक रूपमै गणतन्त्रात्मक कार्यान्वयन हुनेमा विश्वास गर्न सकिन्छ । नेपालको मौलिक संवत् नेपाल संवत्का मूल्य मान्यताहरूले यथोचित स्थान पाउन सक्छ । यसबाट मुलुक वास्तविक रूपमै सांस्कृतिक रूपमा पनि धनी देश हुन भन्ने कुरा विश्वमा प्रचार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्