पनौतीमा प्रहरीको राष्ट्रिय प्रशिक्षण केन्द्र 



काभ्रे। 

गृहमन्त्री बालकृष्ण खाँणले नेपाल र भारत बीचको मैत्रीपूर्ण सम्बन्ध उचाइमा पुगेको बताउनु भएको छ । नेपाल प्रहरीको राष्ट्रिय प्रशिक्षण प्रतिष्ठान केन्द्रको पनौती नगरपालिकामा भूमि पूजापछि आयोजित समारोहमा बोल्दै मन्त्री खाँणले भारत सरकारको अनुदान सहयोगमा निर्माण हुने लागेको प्रतिष्ठानले दुई देश बीचको सम्बन्धलाई थप उचाइमा पु¥याउने विश्वास व्यक्त गर्नु भयो ।

‘भारत र नेपाल बीचको सम्बन्ध निरन्तर कायम छ’–गृहमन्त्री बालकृष्ण खाँणले भन्नुभयो–‘नेपाल प्रहरीलाई परिष्कृत र आवश्यकता अनुसार नयाँ प्रविधि र साधन श्रोत सम्पन्न बनाउने योजना साकार हुँदैछ ।’ यो परियोजनाले दुई देश बीचको सम्बन्धलाई मजबुत बनाउँदै गुणस्तरीय प्रशिक्षण प्रदान गर्न तालिम केन्द्र महत्वपूर्ण हुने उहाँले बताउनु भयो ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत नेपाल बीचको निरन्तरको सम्बन्धलाई परियोजनाले थप बलियो बनाएको बताउनु भयो । ‘नेपाल र भारत सरकारको समन्वयमा धेरै विकासका परियोजना संचालन भएका छन्’–राजदूत नवीन श्रीवास्तावले भन्नुभयो–‘रेल, तेल, सडक, शिक्षा, स्वास्थ्य लगायतका कार्यक्रममा प्रहरी प्रतिष्ठानको तालिम केन्द्र थप अर्को महत्वपूर्ण योजना हो ।’ समयमै सम्पन्न गरी नेपाललाई हस्तान्तरण गर्ने निर्माण कम्पनीलाई गृहमन्त्री खाँण र राजदूत श्रीवास्तवले अनुरोध गर्नु भयो ।

परियोजना २०२५ जुलाई महिना भित्र सम्पन्न गरिसक्ने गरी निर्माण कम्पनीसँग सम्झौता भएको प्रतिष्ठानका कार्यकारी निर्देशक एआईजी सहकुल थापाले बताउनु भयो ।

कार्यक्रममा प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले नेपाल प्रहरीका लागि प्रतिष्ठानको तालिम केन्द्र निर्माण महत्वपूर्ण हुने बताउनु भयो । ‘६ महिना भित्र भवनको डिपिआर तयार गरी निर्माण कार्य सुरु हुनेछ’–महानिरीक्षक सिंहले भन्नुभयो–‘तालिम केन्द्र निर्माण पछि अन्तर देशीय अभ्यासका अलावा प्रहरीहरुले लिनु पर्ने विश्वस्तरका सबै प्रकारका तालिमहरु प्राप्त गर्नेछन् ।’ १० अर्ब १५ करोड रुपियाँ अनुदान सहयोगमा उक्त प्रतिष्ठान निर्माण हुनेछ ।

सन् २०१४ नोभेम्वर २५ मा तत्कालीन प्रधानमन्त्री सुशील कोइराला र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विच उक्त परियोजना भारत सरकारको अनुदानमा निर्माण गर्ने गरी सम्झौता भएको थियो । तीन वर्ष भित्र बनिसक्ने उक्त परियोजनाका बारेमा सहभागीहरूलाई राष्ट्रिय प्रहरी प्रतिष्ठान महाराजगञ्जले जानकारी गराएको थियो ।

कार्यक्रममा गृह सचिव विनोदप्रकाश सिंह, एआईजीहरु, डिआईजीहरु, जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

यस अघि उक्त स्थानमा निर्माण गरिएका प्रिफाईब भवनहरु प्रहरीलाई हस्तान्तरण गरिएको छैन ।

प्रतिक्रिया दिनुहोस्