अवसर छोप्ने थापा ‘सर्वसम्मत्’



हेटौंडा ।

‘राजावादी’ का रुपमा छवि बनाउनुभएका राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले गृहनगर हेटौंडा आएर पार्टीबाट अलग भएको घोषणा गर्नुभयो ।

पत्रकारहरुसँग कुरा गर्दै थापाले भननुभएको थियो–पार्टीसँगको ३१ वर्ष लामो सम्बन्ध टुट्न गएको छ । म राप्रपाबाट अलग भएको छु । ‘पार्टीभित्र देखापर्न थालेको सैद्धान्तिक विचलन तथा गलत प्रवृत्तिलाई सुधार गरेर मेरो बाँकी क्रियाशील राजनीतिक पार्टीभित्र बिताउने र पार्टीमै रमाउने उत्कट चाहना भए पनि मेरोे कुराको सुनवाइ हुने नभएपछि म यस्तो अप्रिय निर्णय लिन बाध्य भएको हुँ,’ उहाँले पत्रकार सम्मेलनमा भन्नुभएको थियो ।

संघीय र पार्टीको निर्वाचनमा पटकपटक हार्दै आउनुभएका राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका केन्द्रीय अध्यक्ष थापालाई पार्टीको मकवानपुरले मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार बनाउने निर्णय गरेको छ । थापालाई उहाँको गृहक्षेत्र मकवानपुरको क्षेत्र नम्बर–१ बाट सर्वसम्मत् उम्मेदवार सिफारिस गरिएको राप्रपा नेपाल मकवानपुरले जनाएको छ । राप्रपा मकवानपुरको शनिबार हेटौंडामा भएको जिल्ला संयुक्त बैठकले पूर्वउपप्रधानमन्त्रीसमेत रहनुभएका थापालाई सर्वसम्मत् उम्मेदवार बनाउने निर्णय गरेको राप्रपा नेपाल मकवानपुर अध्यक्ष गुरुप्रसाद सापकोटाले बताउनुभयो ।

सबै दलको सरकारमा सहभागी
थापा विचार मिल्ने र नमिल्ने सबै दलको सरकारमा सहभागी हुनुभएको छ । मन्त्री हुनका लागि मरिहत्ते गर्ने उहाँको यस्तो प्रवृत्ति स्थानीय मतदाताले मन पराएनन् । र, संसदीय निर्वाचनमा मकवानपुर–१ मा नेकपा एमालेका कृष्णप्रसाद दाहालले उहाँलाई लगातार हराइरहनुभएको छ । थापा शेरबहादुर देउवा नेतृत्वको सरकारमा २७ भदौ २०५२ देखि २९ फागुन २०५३ सम्म कानुन न्याय तथा संसदीय व्यवस्था र स्थानीय विकास मन्त्री, लोकेन्द्रबहादुर चन्द नेतृत्वको सरकारमा १२ चैत २०५३ देखि २१ असोज २०५४ सम्म आवास तथा भौतिक योजना र परराष्ट्र मन्त्री बन्नुभएको थियो ।

सूर्यबहादुर थापा नेतृत्वको सरकारमा २१ असोज २०५४ देखि २७ असोज २०५४ सम्म परराष्ट्र र कृषि मन्त्री, सूर्यबहादुर थापा नेतृत्वकै सरकारमा १८ मंसिर २०५४ देखि २ बैशाख २०५५ सम्म परराष्ट्र मन्त्री, २८ जेठ २०६० देखि २८ जेठ २०६१ सम्म सूचना तथा सञ्चार, स्थानीय विकास र स्वास्थ्य मन्त्री, तत्कालीन राजा ज्ञानेन्द्र नेतृत्वको सरकारमा २२ मंसिर २०६२ देखि १९ माघ २०६३ सम्म गृहमन्त्री, केपी ओली नेतृत्वको सरकारमा २५ असोज २०७२ देखि २० साउन २०७३ सम्म उपप्रधानमन्त्री तथा परराष्ट्र र स्थानीय विकास मन्त्री, पुष्पकमल दाहाल नेतृत्वको सरकारमा ४ फागुन २०७३ देखि २२ चैत २०७३ सम्म उपप्रधानमन्त्री तथा स्थानीय विकास मन्त्री र देउवा नेतृत्वको सरकारमा २८ असोज २०७४ मा उपप्रधानमन्त्री नियुक्त हुनुभएको थियो ।

सत्तासंघर्षका प्रमुख पात्र

बहुदलमा जन्माएर दरबारको छत्रछायामा हुर्किएको दल राष्ट्रिय प्रजातन्त्र पार्टीले राजसंस्था ढले पनि गणतान्त्रिक राज्यव्यवस्थामा पार्टीलाई टिकाइराखेर यहासम्म ल्याउने व्यक्ति हुनुहुन्छ कमल थापा । थापाको इतिहास हेर्ने हो भने उहाँ निकै राजावादी हुनुहुन्थ्यो । राजतन्त्रप्रति बफादार थापाको राजनीति पनि बहुदल आएपछि सुरु भएको हैन । उहाँ पञ्चायतकालमै त्यसको बलियो खम्बाका रुपमा स्थापित हुनुहुन्थ्यो । पञ्चायतको हालीमुहाली चलेका बेला उहाँ पञ्चायत समर्थक स्वतन्त्र विद्यार्थी मण्डलको अध्यक्ष चुनिनुभएको थियो ।

२०४६ सालमा बहुदल आएपछि दरबारनिकट रहेर पञ्चायतलाई सहयोग गरिरहेका पञ्चहरु दल खोल्ने निर्णयमा पुगेर पूर्वप्रधानमन्त्रीहरु सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दले मिलेर दल खोले पनि त्यो लामो समयसम्म चलेन । राप्रपामा भइरहने सत्ता संघर्षमा कमल थापा नै एक एक प्रमुख पात्र बन्नुभएको थियो ।

२०५३ फागुन २९ मा चन्द प्रधानमन्त्री प्रधानमन्त्री बनेको ६ महिनापछि राप्रपामा बिग्रह आयो । कांग्रेसले सूर्यबहादुर थापाको नेतृत्वमा सरकार बनाएर राप्रपा–कांग्रेसबीच सत्ता गठबन्धनको प्रस्ताव राखेपछि यस्तो अवस्था देखिएको थियो । निर्वाचन आयोगमा राप्रपा नेपाल दर्ता गराउनुभएका लाक्पा तामाङले थापालाई राप्रपा नेपाल जिम्मा लगाउनुभएको छ । थापा यसअघि पनि राप्रपा नेपालका अध्यक्ष हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्