अस्पताल निर्माण कार्य अलपत्र, ठेकेदार सम्पर्कविहीन, मजदुरहरूको बिचल्ली



रामेछाप । अस्पतालको निर्माण कार्य अलपत्र पारेर ठेकेदार सम्पर्कविहीन भएका छन् । निर्माण कार्य थालनी गरेको ११ महिना बित्दा पनि २० प्रतिशतभन्दा बढी कार्य सम्पन्न नगरी ठेकेदार सम्पर्कविहीन भएका हुन् ।

ठेकेदार सम्पर्कविहीन भएपछि निर्माणाधीन मन्थली अस्पतालको कार्य अलपत्र परेको छ । ठेकदार सम्पर्कविहीन भएपछि अस्पताल भवन निर्माण कार्यमा संलग्न मजदुरहरूको बिचल्ली परेको हो ।

गत आर्थिक वर्ष २०७८/७९ को मंसिर ३० गते निर्माण कार्य सक्ने गरी हुत्त अस्पताल भवनको ठेक्का श्री गाल्ला/लाल शुभ मेन्द्रो जेभ कम्पनीले लिएको थियो । तत्कालीन मन्थली नगरपालिकाका नगरप्रमुख रमेश कुमार बस्नेतले २०७८ भदौ १० गते यो अस्पतालको शिलान्यास गरेका थिए ।

शिलान्यास भएको ११ महिनासम्म जम्मा २० प्रतिशत काम सकेर अस्पताल निर्माणको काम अलपत्र अवस्थामा छ । ठेकदार सम्पर्कविहीन भएपछि गत मंसिरदेखि काम गरेको पैसा नपाएर इलाम, खोटाङ, भोजपुर, सिन्धुली, सर्लाही, रामेछापलगायत जिल्लाका मजदुरहरू बिचल्लीमा परेका हुन् ।

निर्माण व्यवसायेले काम गरेको पैसा नदिएपछि त्यहाँ काम गर्ने मजदुरको बिचल्ली भएको छ । गत मङ्सीदेखि अस्पताल निर्माणका लागि चार हजार एक सय जना मजदुरले काम गरे बापत पाउने ४५ लाख रुपियाँभन्दा बढी पैसा लिन बाँकी रहेको खोटाङका मजदुर राकेश राईले बताए ।

काम गरेको ज्याला नपाएर तेलसम्म किन्न नसक्दा पानीमा पकाएको तरकारीसँग भात खाएको राईको गुनासो छ । फरार ठेकेदारले पैसा नदिएको भन्दै सिडिओलाई निवेदन दिदा पनि अहिलेसम्म त्यसको सुनुवाइ नभएको मजदुरको गुनासो छ ।

अस्पताल निर्माणका लागि ७८ जना भन्दा बढी मजदुरमध्येबाट कसैले दैनिक ६ सय, ८ सय, १ हजार र १ हजार ४ सम्मको ज्यालामा काम गरेका छन् । हाम्रो हाजिरअनुसार ठेकेदारले ४५ लाख रुपियाँभन्दा बढी पैसा दिनुपर्ने हो, तर ठेकेदार नै सम्पर्कमा नभएको धेरै भइसक्यो, अब के गर्ने भन्ने मै अन्योलता भएको भोजपुरका अर्का मजदुर प्रवीन भुजेल बताए ।

प्रतिक्रिया दिनुहोस्