फर्निचर एक्स्पो भदौ अन्तिम साता



काठमाडौं ।

आठौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो–२०२२ भदौ अन्तिम साता हुने भएको छ । कोभिड १९ ले उत्पन्न महामारीका कारण पछिल्ला दुई वर्ष आयोजना हुन नसकेको एक्स्पो अगामी भदौ २३ देखि २७ सम्म राजधानीको भृकुटीमण्डपमा आयोजना हुने भएको छ ।

नेपाल फर्निचर तथा फर्निसिङ संघको आयोजना तथा इभेन्ट सोलुसन प्रालिको व्यवस्थापनमा एक्स्पो आयोजना हुन लागेको हो । एक्स्पोले चलायमान हुन खोजिरहेको अर्थतन्त्रमा टेवा पु-याउने विश्वास आयोजकको छ ।संघका अध्यक्ष शुभेन्द्र जोशीका अनुसार झण्डै डेढ वर्ष फर्निचर व्यवसाय ठप्प प्रायः अवस्थामा रहेर अहिले सामान्य अवस्थामा फर्किरहेको छ । ‘यो अवस्थामा एक्सपोले व्यवसायी र उपभोक्तालाई उचित प्लेटफर्मको भूमिका निर्वाह गर्नेछ,’ जोशीले भन्नुभयो– ‘यति मात्र नभई एक्स्पोले आर्थिक क्रियाकलाप चलायमान बनाउन पनि योगदान पु¥याउने विश्वास लिएका छौं ।’

फर्निचर व्यवसायमा आवद्ध उद्यमी तथा व्यवसायी एक्स्पोप्रति उत्साहित रहेको जोशीले बताउनुभयो । पछिल्लोपटक भदौ २०७६ अन्तिम साता सातौं संस्करणको एक्स्पो आयोजना भएको थियो । पाँच दिन चल्ने एक्स्पोमा एक सय २० भन्दा बढी स्टल रहने छन् । किचन, बेडरुम, बाथरुमका साथै आउटडोर फर्निचर, इन्टेरियर डिजाइनर, कार्पेट, मार्बललगायत सामग्री रहने आयोजकको भनाइ छ । एक्स्पोलाई प्रेस्टिज कार्पेटले मुख्य प्रायोजन गर्नेछ । एक्स्पोमा भारत, बंगलादेश, पाकिस्तानलगायत मुलुकका प्रदर्शकहरूले समेत सहभागिता जनाउँदैछन् ।

प्रतिक्रिया दिनुहोस्