कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्यो



काठमाडौं । 

कोभिड–१९ ले पुनः महामारीको रूप लिने त हैन भनी जनमानसमा चासो बढ्न थालेको छ । हरेक दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गर्दै आएको रिपोर्टमा कोरोना संक्रमितको संख्या दोब्बरले वृद्धि हुँदै गर्दा सर्वसाधारणमा चासो बढ्नु स्वाभाविकै हो ।

बिहीबार सार्वजनिक गरेको २४ घण्टाको रिपोर्टको तथ्यांकअनुसार २ सय ६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बिहीबार दैनिक झैं दिउँसो सार्वजनिक गरेको रिपोर्टमा ३ हजार ८ सय ४४ जनाको नमुना परीक्षण गरिएकोेमा २ सय ६० जनामा संक्रमण पुष्टि भएको छ । दुई अंकमा झरेको कुल संक्रमितको संख्या बढेर चार अंक अर्थात् १ हजार १ सय ७१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४८ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । संक्रमितमध्ये २३ जना अस्पतालमा उपचार गराइरहेका छन् भने १ हजार १ सय ४८ जना होम आइसोलेसनमा छन् । अस्पतालमा रहेकामध्ये १४ जना सघन उपचार कक्ष (आईसीयू) मा उपचार गराइरहेका छन् । आईसीयूमा रहेकामध्ये एक जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्