रम्घा स्वास्थ्य चौकी पोषण मैत्री स्वास्थ्य संस्था घोषणा

सोही स्वास्थ्य चौकीमा बहिरंग उपचार सेवा सुरु



?????????????????????????????????????????????????????????

लमजुङ ।

मध्यनेपाल नगरपालिका स्थित रम्घा स्वास्थ्य चौकी पोषणमैत्री स्वास्थ्य संस्था घोषणा भएको छ । तोकेको मापदण्ड पूरा गरेसँगै एक औपचारिक कार्यक्रमका बीच स्वास्थ्यचौकीलाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा भएको हो ।

मध्यनेपाल नगरपालिका ४ दुईपिप्लेमा रहेको सो स्वास्थ्य संस्था पोषण मैत्री घोषणा हुने जिल्लाकै पहिलो स्वास्थ्य चौकी हो । स्वास्थ्य चौकीले पोषणमैत्री स्वास्थ्य संस्था घोषणाका लागि निर्धारण गरिएका १८ वटा न्युनतम मापदण्ड पुरा गरेको हो ।

स्वास्थ्य तथा जनसँख्या मन्त्रालयले पोषण मैत्री स्वास्थ्य संस्था घोषणाका लागि १८ सूचकहरु तयार गरेको हो । स्वास्थ्य संस्था पोषणमैत्री घोषणाका लागि सम्बम्धित स्वास्थ्य संस्थामा पोषण कर्नर स्थापना भएको हुनुपर्ने, पोषण सम्बन्धी सूचना मुलक पोस्टरहरु प्रदर्शन भएको हुनुपर्ने, पोषण रजिस्टरमा पोषण सम्बन्धी अभिलेख शतप्रतिशत हुनुपर्ने, लगायतका रहेका छन् ।

यसैगरी स्वास्थ्य संस्थामा भिटामिन ए, आइरन, अल्बेडाजोल, तौल मेसिन रिपोर्टिङ रेकडीङ फारमहरु लगायत पोषण सम्बन्धी सामंग्रीहरु पर्याप्त मात्रामा भएको हुनुपर्ने, २ बर्ष मुनिका बालबालिकाहरुको तौल ९० प्रतिशत भएको हुनुपर्ने, पूर्ण स्तनपान गराउने आमाहरुको प्रगति ९० प्रतिशत माथि हुनुपर्ने, स्तनपान सम्बन्धी पोस्टरहरु प्रदर्सन भएको हुनुपर्ने रहेका छन् ।

६ महिनापछि मापदण्ड अनुसार थप खाना खुवाउनेको प्रगति ९० प्रतिशत माथि भएको हुनुपर्ने, सम्बन्धित स्वास्थ्य संस्थाको कार्य क्षेत्र भित्र कुपोषण नभएको सुनिश्चितता भएको हुनुपर्ने, विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रम अन्तरगत बालबालिकाहरुले ९५ प्रतिशत माथि जुकाको औषधि खाएको हुनुपर्ने, विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रम अन्तरगत किशोरीहरुले आइरन चक्की ९० प्रतिशत माथिकाले खाएको हुनुपर्ने रहेका छन् ।

त्यसैगरी अन्य सुचकहरुमा गर्भावस्था र सुत्केरी अवस्थामा गरी ९५ प्रतिशत आइरन चक्की खाएको हुनुपर्ने, अर्धवार्षिक रुपमा भिटामिन ए तथा जुकाको औषधि खाएको ९५ प्रतिशत हुनुपर्ने, स्वास्थ्य संस्थामा आउने सबै सेवा ग्राहीहरुलाई पोषण सम्बन्धि परामर्श दिने गरिएको हुनुपर्ने, नागरिक वडापत्रमा पोषण कार्यक्रम समाबेश भएको हुनुपर्ने, तोकिएको समयमा तोकिए बमोजिम अभिलेख तथा प्रतिबेदन भएकोहुनु पर्ने र पोषण कार्यक्रमका लागि सम्पर्क ब्याक्ति तथा जिम्मेवारी तोकिएको हुनुपर्ने रहेका छन् ।

यसैबीच रम्घा स्वास्थ्य चौकीमा बहिरंग उपचार सेवा पनि शुरु भएको छ । सोही कार्यक्रमको अवसर पारी स्वास्थ्य चौकीमा बहिरंग उपचार सेवा शुरु भएको मध्यनेपाल स्वास्थ्य शाखा प्रमुख सुर्यप्रसाद पौडेलले जानकारी दिनुभयो । यसअघि सामान्य स्वास्थ्य सेवा मात्रै सञ्चालनमा रहेको सो अस्पतालमा हाल स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा बहिरंग उपचार सेवा शुरु गरिएको नगरपालिका स्वास्थ्य शाखा प्रमुख पौडेलको भनाई छ ।

मध्यनेपाल नगरपालिका उपप्रमुख सिता गुरुङको प्रमुख अतिथ्यतामा एक कार्यक्रम गरी स्वास्थ्य चौकीलाई पोषणमैत्री स्वास्थ्य सँस्था घोषणा सँगै बहिरंग उपचार सेवा शुरु भएको हो । मध्येनपाल–४ का वडा अध्यक्ष रामबहादुर श्रेष्ठको अध्यक्षता भएको सो कार्यक्रममा मध्यनेपाल नगरपालिका प्रमुख प्रशासकिय अधिकृत इश्वरी प्रसाद शर्मा, नगर प्रवक्ता रामचन्द्र भण्डारी, सोही नगरपालिका पुर्व उपप्रमुख राजकुमार श्रेष्ठ, मध्यनेपाल स्वास्थ्य शाखा प्रमुख सुर्यप्रसाद पौडेल, स्वास्थ्य कार्यालय लमजुङका प्रतिनिधी यम बराल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा पालिका अन्तर्गतका सवै वडा अध्यक्षहरु, विभिन्न राजनितिक दलका प्रतिनिधीहरु, स्वास्थ्य सँस्था प्रमुख एवं प्रतिनिधी, स्वास्थ्य स्वयंसेवीका एव सरोकारवालाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा मध्यनेपाल स्वास्थ्य शाखामा कार्यरत जनस्वास्थ्य निरिक्षक विश्वराज घिमीरेले सहजिकरण गर्नुभएको मध्यनेपाल नगर प्रवक्ता रामचन्द्र भण्डारीले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्