चिनियाँ विदेश विभाग प्रमुख लिउ काठमाडौंमा, बढ्लान त वाम गठबन्धनका कुरा ?



काठमाडौं । नेपालको ३ दिने भ्रमणमा आइतबार काठमाडौं आएलगतै चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ चियान छाओले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग शिष्टाचार भेट गरेका छन् ।

प्रधानमन्त्री देउवा र परराष्ट्रमन्त्री डा. खड्कासँगको भेटमा द्विपक्षिय सम्बन्धका विविध विषयका साथै दुई देशबीचको मैत्री सम्बन्धलाई अझ प्रगाढ र आपसी सहयोगलाई अझै घनिभूत बनाउने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

गत महिना चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुखमा नियुक्त भएपछि लिउको यो पहिलो विदेश भ्रमण हो । चीनको भष्ट्राचार निवारणसम्बन्धी निकायका प्रमुख समेत रहिसकेका मन्त्रीस्तरका नेता लिउले चिनियाँ विदेश मन्त्रालयको प्रवक्ताको जिम्मेवारी सम्हालिसकेका छन् भने विभिन्न देशमा राजदूतको भूमिका समेत निभाइसकेका छन् ।

लिउले पहिलो विदेश भ्रमणको रुपमा नेपाल आउने चासो देखाएको जानकारी दिँदै सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेपाल समाचारपत्रलाई भने– ‘उहाँले नेपाल भ्रमणका चासो देखाउनुभएकोले हाम्रो पार्टीले उहाँलाई निमन्त्रणा हो ।’ लिउको भ्रमणले दुई देशको राजनीतिक सम्बन्धका साथै परराष्ट्र सम्बन्ध पनि प्रगाढ हुने धारणा राख्दै डा. महतले भने– ‘यो भ्रमणको क्रममा हामी दुई देशको राजनीतिक प्रणालीबारे छलफल गर्नेछौं । त्यसैको आधारमा दुई देशबीचको राम्रो सम्बन्धमा अझै हार्दिकता थप्नेछौं ।’

आइतबार राति परराष्ट्र मन्त्रालयले लिउको सम्मानमा आयोजना गर्ने रात्री भोजको क्रममा कांग्रेसका नेताहरू र लिउबीच राजनीतिक छलफलको कार्यक्रम रहेको जानकारी दिँदै प्रवक्ता डा. महतले भने– ‘त्यो छलफलमा हामी नेपालले सबै मित्र राष्ट्रहरूसँग समान मापदण्डको आधारमा सम्बन्धलाई अगाडि बढाउँदै गर्दा छिमेकी राष्ट्रहरूको सुरक्षा महत्व र संवेदनशीलतालाई उच्च प्राथमिकतामा राखिरहेको बताउनेछौं ।’

चिनियाँ चासोका बीच अमेरिकी सहायता परियोजना (एमसीसी) सम्झौता संसदबाट अनुमोदन गरेको तर अमेरिकासँगको स्टेट पार्टनरशीप प्रोग्राम अघि नबढाउने निर्णय भएको पृष्ठभूमीमा यो भ्रमण भएको छ । साथै प्रधानमन्त्री देउवाको आसन्न भ्रमणअगाडि भएको यो भ्रमण अमेरिकासँग नेपालको सम्बन्धका बारेमा हुनसक्ने भ्रमलाई हटाउन पनि सहायकसिद्ध हुने उनको भनाइ थियो । उनले चिनियाँ विदेश विभाग प्रमुख लिउसँग आर्थिक सहयोगका साथै व्यापार सहजीकरणका विषयहरूमा पनि छलफल गर्ने बताए ।

आगामी संघीय निर्वाचनका लागि सम्भव भएसम्म वाम एकता नभए वाम गठबन्धनको वातावरण बनाउनेमा भ्रमण केन्द्रित हुने चर्चाको विषयमा नेपाली कांग्रेसको धारणाबारे सोध्दा डा. महतले भने– ‘हामीलाई जहाँसम्म लाग्छ, भ्रमणको उद्देश्य यहाँका राजनीतिक दलहरूसँगको चीनको सम्बन्धलाई प्रगाढ बनाउनु हो । त्यो बाहेक अन्य उद्देश्य केही छ भने त्यो उहाँहरूको कुरा हो, हामीलाई थाह छैन ।’

एमालेको प्रचार विभागका उपाध्यक्ष विष्णु रिजालले पनि वाम एकताका लागि भ्रमण भन्नु सही नभएको बताए । नेपाल समाचारपत्रसँग कुरा गर्दै उनले भने– ‘गठबन्धन नत्यागीकन एकीकृत समाजवादीसँग कुराकानी सम्भव छैन । त्यसैले यो भ्रमणमा एकताको पहल हुने भन्ने कुरै हुन्न । छिमेकी देश र त्यहाँका दलहरूसँग समदूरीमा सुमधुर सम्बन्ध राख्न उहाँको भ्रमण भएको हुनुपर्छ । अहिले हल्ला फिंजिए जस्तो चलखेल गर्नकै लागि भ्रमण जरुरी नै छैन, थुप्रै माध्यमहरू छन्, चीनमै बसेर पनि गर्न सकिन्छ ।’

विदेश विभाग प्रमुखको जिम्मेवारी सम्हालेयता निरन्तर नेपालका प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँग सम्पर्क राख्दै आएका लिउले गत असार ९ मा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, १० मा एमाले अध्यक्ष केपी ओली र असार १७ मा परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भिडियो वार्ता गरेका थिए । यी वार्ताहरूमा लिउले राजनीतिक दलहरूसहितको ‘पोलिटिकल पार्टीज प्लस’ सहकार्यको अवधारणा अघि सारेको बताइएको छ ।

नेपाल भ्रमणको क्रममा लिउले राष्ट्रपति विद्यादेवी भण्डारी, सभामुख अग्नी प्रसाद सापकोटा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा (एमाले) अध्यक्ष ओलीलगायतका नेताहरूसँग भेट गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्